बेनी, । पर्वतको जलजला गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा बजेट बिनियोजन गरेका शत प्रतिशत योजनाहरु कार्यान्वयन गरेको छ ।
पूर्वाधार निर्माण सम्बन्धी ३०० वटा योजनाहरु रहेकामा सबै कार्यान्वयन भएका जलजलाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताउनुभयो । सडक निर्माण, स्तरोन्नति, पदमार्ग, भवन, सिचाई, खानेपानी, खेलमैदान लगायतका आयोजनाहरु धेरै थिए ।
“आर्थिक वर्षको पहिलो चौमासिकमै योजनाको सर्वेक्षण, लागत अनुमान तयार पार्ने र उपभोक्ता समिति गठन तथा ठेक्का प्रक्रीया अघि बढाएकाले लक्ष्य अनुसारनै योजना कार्यान्वयन भयो,” उहाँले भन्नुभयो “केही क्रमागत योजनाहरुलाई नयाँ आर्थिक वर्षमा निरन्तरता दिएका छौ । संघीय सरकारले लक्ष्य अनुसार राजस्व उठाउन नसक्दा बिनियोजन गरेअनुसार बजेट नपठाएकाले काम सम्पन्न भएका केही योजना तथा कार्यक्रमहरुको भुक्तानी दिन बाँकी छ ।”
कुल रु. ४९ करोड ८५ लाख ४६ हजार ५४५ बजेट बिनियोजन भएकोमा रु. ४४ करोड ४७ लाख ८८ हजार ३६९ खर्च भएको छ । लेखा शाखाका प्रमुख महेन्द्र सुवेदीका अनुसार पुजिगत शिर्षकमा रु. १३ करोड २३ लाख ८० हजार बिनियोजन भएकोमा रु. ११ करोड २४ लाख ९५ हजार ६७३ अथवा ८४.९८ प्रतिशत खर्च भएको छ ।
चालु शिर्षकमा बिनियोजन भएको रु. ३६ करोड ६१ लख ६६ हजार ४४५ मध्य ९०.७५ प्रतिशत अथवा रु. ३३ करोड २२ लाख ९२ हजार ६९६ खर्च भएको छ । खनियाघाट–डमुवाखोला–नाग्लीवाङ, मल्लाजमा अस्पताल भवन, गण्डकी गोपाल गौशाला, लामाखेतको आवास तथा भण्डारण भवन गत आर्थिक वर्षमा जलजला गाउँपालिकाले सञ्चालन गरेका प्राथमिकता प्राप्त आयोजनाहरु हुन् ।
खनीयाघाट–डमुवाखोला–नाग्लीवाङ सडक
वि.स. २०६४ मा मार्ग खोलिएको जलजला गाउँपालिका–८ को खनीयाघाट–डमुवाखोला–नाग्लीवाङ सडक स्तरोन्नति गर्न गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाको ५०÷५० प्रतिशत लागत साझेदारीमा आर्थिक वर्ष २०८०÷०८१ मा आयोजना सञ्चालन भएको थियो ।
सडक विस्तार, नाली र पर्खाल निर्माणका साथै ढलानका लागि रु. दुई करोड बजेट बिनियोजन भएको यस आयोजना निर्माणका लागि २०८० मंसिर महिनामा साहना–सक्षम जेभीले रु. १ करोड ३३ लाख ५५ हजार २१८ मा ठेक्का सम्झौता गरेको थियो ।
साघुरो र अप्ठ्यारो सडक तथा घुम्तिलाई फराकिलो बनाएर पर्खाल र नाली निर्माण गर्नुका साथै एक किलोमिटर सडक ढलान भएको छ । डमुवाखोला देखि नाग्लीवाङ सम्मको ३ किलोमिटर भित्रको सडकलाई स्तरोन्नति गरिएको वडा अध्यक्ष हरिबिकास जिसीले बताउनुभयो ।
यसअघि गाउँपालिकाको रु. पचास लाख बजेटमा अप्ठ्यारो ठाउँमा ५०० मिटर सडक ढलान गरिएको थियो । नाग्लीवाङ र छिमेकी वडा बनौका एक हजार भन्दा बढी घरधुरीले यो सडक प्रयोग गर्छन् । राष्ट्रिय राजमार्ग कालीगण्डकी कोरीडोरमा पर्ने डमुवाखोला देखि नाग्लीवाङ हुदै लुप्राङ जोड्ने यो सडक ११.५ किलोमिटर लामो छ । सडक पूर्ण रुपमा स्तरोन्नतिका लागि रु. ४८ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर संघीय र प्रदेश सरकारमा प्रस्ताव गरिएको छ ।
स्टोर तथा कर्मचारी आवास भवन योजना
वडा नं. ४ नलामाखेतमा स्थानीयबासीहरुले उपलब्ध गराएको जग्गामा वि.स. २०८० पुष महिनामा निर्माण शुरु भएको कर्मचारी अवास तथा स्टोर भवन निर्माण योजनाको असार मसान्तसम्म ७० प्रतिशत भौतिक प्रगति भएको थियो । पछिल्लो पटक भवनको दोस्रो तला पनि ढलान भएको छ ।
भवन निर्माणका लागि लक्ष्मण शर्मा, रेमबहादुर बिक, प्रकाश पौडेल, सन्तोष रावल, नरबहादुर थापा, जितबहादुर बिक, दिपेन्द्र बिक, जर्नादन मल्ल, धौलागिरि सेलर मिल (विजय श्रेष्ठ) र लामाखेतका बासिन्दाहरुले सामुहिक रुपमा रु. ३२ लाख मूल्य बराबरको डेढ रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो ।
एक रोपनी जग्गामा २ तले सभाहल सहित २३ वटा कोठा भएको स्टील स्टक्चर प्रबिधिको भवन निर्माण गर्न लागिएको हो । एक करोड ९९ लाख लागत अनुमान गरिएको भवन निर्माण गर्न साहना–सक्षम जेभीसँग एक करोड ४२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
गाउँपालिकाले आफ्नै बजेटमा भवन निर्माण गर्न लागेको जनाएको छ । हाल वडा नम्बर ४ को लामाखेतमा तीन वटा भवन भाडामा लिएर गाउँपालिकाको कार्यालय सञ्चालन हुदै आएको छ । कृषि, पशु सेवा, स्वास्थ्य शाखाको कार्यालय वडा नम्बर ७ मिलनचोकमा छन् ।
फरक फरक ठाउँ र साँघुरो भवनमा कार्यालय सञ्चालन गर्न समस्या भएको छ । अर्कोतर्फ भाडामा बजेट खर्च भएको छ । प्राबिधिक कारण स्टोर र कर्मचारी आवासको नाममा योजना सञ्चालन गरिएपनि सो भवनलाई प्रशासनिक कार्यमा उपभोग गर्ने गाउँपालिकाको योजना रहेको उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।
गण्डकी गोपाल गौशाला
धार्मिक, सांस्कृतिक, जैविक र पर्यावरणीय महत्व वोकेका स्थानीय जातका गाईको आनुवांशिक स्रोत संरक्षणसँगै तिर्थस्थलको रुपमा विकास गर्न पर्वतको जलजला गाउँपालिका –७ धाइरिङको लालुङमा रहेको गण्डकी गोपाल गौशालामा आर्थिक वर्ष २०८०÷०८१ देखि पूर्वाधार निर्माण शुरु भएको छ ।
संघीय सरकारको समपुरक अनुदान र जलजला गाउँपालिकाले आर्थिक वर्ष २०८०–८१ मा रु. १ करोड ६० लाख बजेट बिनियोजन भएको गौशालामा धर्मशाला, हवनकुण्ड, कुटी, ध्यान कुटीलगायतका संरचनाहरु निर्माण गर्न गत मंसिरमा इन्फास्ट्रक्चर सप्लायर्स प्रा.लि.सँग रु. १ करोड २५ लाख ८५ हजार २३२ मा ठेक्का सम्झौता भएको थियो ।
गौशाला पछाडीको जग्गा सम्माएर आश्रयस्थल, हवन कुण्ड, सत्तल र मन्दिर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा वि.स. २०७१ मा समुदायको अगुवाईमा स्थापना भएको गौशालामा पूर्वाधार निर्माणका लागि (विस्तृत परियोजना प्रतिवेदन) डिपिआर बनाइएको थियो ।
हाल ४६ वटा स्थानीय जातका मात्र गाई र बाच्छाबाच्छि छन् । गण्डकी गोपाल गौशालामा थप पूर्वाधार निर्माणका लागि हालै भएको गाउँसभाबाट आगामी आर्थिक वर्षका लागि संघीय सरकारको समपुरक अनुदान सहित रु. २ करोड ९० लाख बिनियोजन गरेको छ ।
पुजिगत शिर्षकमा आगामी आर्थिक वर्षमा जलजलाको सबैभन्दा धेरै बजेट बिनियोजन भएको आयोजना गण्डकी गोपाल गौशाला हो । गौशाला नजिकै रहेको धाईरिङ भूमे ठाकुरको थान, बराह थान, भुरुङ्जा, लिङ्गो गाडे, डडुवा, जलजला–हम्पाल क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ ।