तातोपानी, । म्याग्दीको बेनी नगरपालिका–४ को उपल्लो तातोपानी बजारमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । प्राकृतिक उपचार स्थलको रुपमा परिचित तातोपानी पर्यटकीय गन्तब्य समेत हो ।
उपलल्लो तातोपानी टोल विकास संस्था र जलभाई भगवति आमा समूहको अगुवाईमा स्थानीयबासीहरुले बजारको सुरक्षाका लागि सिसिटिभी जडान गरेका हुन् । बजारको सबै क्षेत्रलाई समेट्ने गरेर १४ ठाउँमा सिसिटिभी जडान गरिएको संस्थाका अध्यक्ष मुक्तिप्रसाद जुग्जालीले बताउनुभयो ।
“चोरी लगायतका आपराधिक घटनाबाट बजारलाई सुरक्षित बनाउन सिसिटिभी क्यामेरा जडान गरेर निगरानी गर्न थालेका हौ,” उहाँले भन्नुभयो “टोल विकास संस्था र आमा समूहले नाचगान गरेर जुटाएको रकम, सबै घरधुरीले नगद संकलन गरेर क्यामेरा जडान गरिएको हो ।”
थप २ ठाउँमा पनि क्यामेरा जडान गर्ने तयारी भएको अध्यक्ष जुग्जालीले बताउनुभयो । क्यामेरा जडान भएपछि हालै भएको चोरीको घटनामा संलग्नलाई तत्कालै पक्राउ गरेर प्रहरीलाई बुझाएको स्थानीय अगुवा बिरेन्द्रमान शाक्यले बताउनुभयो ।
जलमाई भगवति आमा समुहका सचिव मिना जुग्जाली गुर्बजाले तातोपानी आउने पाहुना र बिदेशबाट आएका लाहुरेको स्वागतमा नाचगान गरेर जुटाएको रकम पनि सिसिटिभी क्यामेरा जडान गर्न उपलब्ध गराएको बताउनुभयो । उहाँका अनुसार समुहको कोषमा रहेको रु. २ लाख ८६ हजार र ७६ घरधुरीबाट रु. १ हजार ५०० का दरले नगद संकलन भएको थियो ।
सिजनमा हरेक शुक्रबार साँझ उपल्लो तातोपानी बजारमा मौलिक गित तथा नृत्य प्रर्दशन गर्ने गरिएको छ । संस्कृतिको संरक्षण, पाहुनालाई मनोरञ्जनसँगै सामाजिक काममा सहयोग जुटाउन सांस्कृतिक कार्यक्रममा सहयोगी बनेको छ ।
सिसिटिभी आपुर्तिकर्ता तथा बिक्रेता कम्पनीका सञ्चालक खगेन्द्र खत्रीले रु. ४ लाखमा क्यामेरा जडान, फाइबर तार तान्ने काम गरिएको बताउनुभयो । उहाँका अनुसार सो सिसिटिभी क्यामेरामा एक महिना सम्मको आवाज सहितको भिडियोलाई भण्डारण गर्ने क्षमता रहेको छ ।
टोल विकास समितिका उपाध्यक्ष मिना पुन बुढाथोकीले आमा समूह र टोल विकास संस्थाले उपल्लो बजार देखि तातोपानी कुण्डमा जाने सडकको डिलतर्फ रेलिङ र विश्रामस्थल बनाएको बताउनुभयो ।
सडक किनारामा फुलका बिरुवा रोपिएको र सडक बक्ति जडान गरेर उज्यालो पारिएको स्थानीय कुमार केसीले बताउनुभयो । उपल्लो तातोपानीमा बसोबास गर्ने सेवा निवृत्त भुतुर्व गोर्खा सैनिकहरुले २ वटा प्रतिक्षालय पनि बनाएका छन् ।
बिरेनुनको गन्ध आउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वासका साथ गत वर्ष नेपालका ५९ जिल्ला, भारत, रसिया, फ्रान्स र जापान ४४ हजार जना भन्दा बढी स्नानका लागि तातोपानी आएका थिए ।