बगरफाँटमा खानेपानी आयोजनाको परिक्षणका लागि धारामा पानी वितरण

Gandaki Ghumau

बेनी, म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । आयोजनाको परिक्षणका लागि धाराबाट पानी वितरण भैरहेको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सहयोगमा उपभोक्ता समितिले निर्माण गरेको आयोजनाबाट २०५ घरधुरी लाभान्वित भएका छन् । उपभोक्ता समितिका अध्यक्ष दिपक बहादुर मल्लले संघीय सरकारको रु. एक करोड ४४ लाख ७५ हजार ११२ सहयोगमा आयोजना निर्माण भएको जानकारी दिनुभयो ।

“कोप्रे, बाङगेरा र लहरेनीको मुहानमा इन्टेक बनाएर ल्याएको पानी ५०÷५० लिटर क्षमताको ३ वटा रिजर्भ टंकीमा संकलन गरि वितरण गर्न थालिएको छ,” उहाँले भन्नुभयो “संरचना निर्माणको काम सकिएपछि २०५ वटा घरमा मिटर सहित जडान भएका धारामा परिक्षणका लागि पानी वितरण गर्न थालिएको हो ।”

Shreekrishna

परिक्षणका क्रममा देखिएका प्राबिधिक समस्या समाधान र सुधार गरेर नियमित पानी वितरण गर्ने तयारीका साथ काम भैरहेको अध्यक्ष मल्लले बताउनुभयो । ५ हजार २७१ मिटर मुख्य र ५ हजार ५४७ मिटर वितरण पाइपलाइन निर्माण भएको छ ।

Gunasthariya Shiksya

आयोजना निर्माणका लागि आर्थिक वर्ष २०७९÷०८० मा रु. ५३ लाख ११ हजार ८५२ र २०८०÷०८१ रु. ९१ लाख ६३ हजार २६० खर्च भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सवईञ्जिनियर सुनिल सिंह बोहोराले बताउनुभयो ।

उपभोक्ता समितिले कुल लागतको १० प्रतिशत बराबरको श्रमदान गरेका छन् । यसअघि बगरफाँटमा २१ वटा सार्वजनिक धारा मार्फत खानेपानी वितरण हुने गरेको थियो । सार्वजनिक धाराबाट गाग्री, ग्यालीन र ड्रममा ओसार्ने तथा पाइप जडान गरेर घरघरमा पानी लगेर उपभोग गर्ने गरेका थिए ।

घरघरमा धारा जडान गरेर पानी वितरण गर्न थालेपछि मितव्ययी प्रयोग, समयको बचत र पानीका कारण हुने सामाजिक द्धन्द न्युनीकरण भएको उपभोक्ता समितिका सचिव चन्द्रबहादुर घिमिरेले बताउनुभयो । खानेपानी वितरणलाई व्यवस्थित बनाउन प्रत्येक धारामा मिटर जडान गरिएको छ । आयोजनाको दिगो व्यवस्थापनका लागि महशुल निर्धारण गर्ने र एक जना कर्मचारी नियुक्त गर्ने तयारी भएको सचिव घिमिरेले बताउनुभयो ।

तिब्र रुपमा बस्ती बिस्तार भइरहेको बेनी बजारसँगै रहेको बगरफाँटमा सहज खानेपानी आपुर्ति र वितरणका लागि आयोजना निर्माण गरिएको संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना म्याग्दीका प्रमुख सुनम थापाले बताउनुभयो । बेनी खानेपानी आयोजनाको क्षमता विस्तार कार्यक्रम अन्र्तगत बगरफाँटमा आयोजना निर्माण भएको उहाँले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...