बेनी, म्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा ८८ प्रतिशत भन्दा बढी बजेट खर्च गरेको छ ।
रु. ७३ करोड ३२ लाख ३२ हजार ६५७ बजेट बिनियोजन भएकोमा ८८.४९ प्रतिशत अथवा रु. ६४ करोड ८८ लाख ६८ हजार ९९९ खर्च भएको हो । पुजिगत तर्फ रु. १८ करोड ७७ लाख ६० हजार बिनियोजन भएकोमा रु. १५ करोड ९५ लाख ७२ हजार ४८० अथवा ८४.९९ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले बताउनुभयो ।
चालु तर्फ रु. ५४ करोड ५४ लाख ७२ हजार ६५७ बिनियोजन भएकोमा ८९.७१ प्रतिशत अथवा रु. ४८ करोड ९३ लाख ३५ हजार २०५ खर्च भएको छ । जेष्ठ नागरिक, बिधवा, अपाङ्ग र दलित बालबालिकाहरुलाई रु. १५ करोड २२ लाख ६२ हजार ७९५ सामाजिक सुरक्षा भत्ता वितरण भएको छ ।
३०८ वटा योजना कार्यान्वन
बेनी नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा ३०८ वटा पूर्वाधार सम्बन्धी योजना निर्माण सम्पन्न गरेको छ ।
योजना अधिकृत अर्जुन सुवेदीका अनुसार पूर्वाधार तर्फ ३१२ वटा योजना मध्य ५ वटा बाहेक सबै कार्यान्वयन भएका बताउनुभयो । सडक निर्माण, स्तरोन्नति, भवन, पदमार्ग, खेलमैदान, नदी तथा पदमार्ग, खानेपानी, सिचाई लगायतका आयोजनाहरु निर्माण भएका हुन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फका २६ वटा मध्य २५ वटा योजनाहरुमा सूचिकृत ९१३ जना बेरोजगार व्यक्तिहरु मध्य ९१ जनालाई औसत ८४ दिन बराबर रोजगारीमा संलग्न गराइएको छ । यस कार्यक्रमका लागि रु. ७८ लाख ५ हजार शसर्त अनुदान आएकोमा रु. ७४ लाख ७ हजार १२२ खर्च भएको छ ।
७ नं. वडाको पुजिगत खर्च कमजोर
वडा गत योजना कार्यान्वयनमा बेनी नगरपालिका ८ अगाडी र ७ कमजोर देखिएको छ । ९ वटा वडा कार्यालयले सत प्रतिशत योजना कार्यान्वयन गर्दा ७ नम्बरले १ वटा सम्पन्न गर्न सकेन् ।
बेनी बजारभित्र रहेको ८ नम्बर वडाको सत प्रतिशत बजेट खर्च हुँदा अन्य कार्यक्रममा रकमान्तर गरेको ७ नम्बर वडाले ४९.२१ प्रतिशत मात्र पुजिगत बजेट खर्च गरेको हो । रत्नेचौरको ९९.३७, ज्यामरुककोटको ९७.६९, भकिम्लीको ९९.६४, सिंगाको ९९.९७, पुलाचौरको ९८.६०, अर्थुङ्गेको ९८.४२, घतानको ९९.९८ र पात्लेखेतको ९९.९७ प्रतिशत पुजिगत बजेट खर्च भएको छ ।
२७ किलोमिटर सडक स्तरोन्नति
बेनी नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा २७ किलोमिटर सडक स्तरोन्नति गरेको छ ।
वडा कार्यालय र मुख्य बस्ति देखि जिल्ला सदरमुकाम समेत रहेको बेनी बजार जोड्ने सडकमा बाह्ै महिना यातायात सञ्चालन गर्ने लक्ष्य सहित नगरपालिकाले ग्रामिण सडक स्तरोन्नतिलाई प्राथमिकता दिएर योजना कार्यान्वयन गरेको हो ।
५.४७ किलोमिटर सडक कालोपत्र÷ढलान, ३.६२ किलोमिटर ग्राबेल र १९.७८ किलोमिटर सडकमा सोलिङ, नाली, टेवा पर्खाल, विस्तार गरेर स्तरोन्नति भएको ईञ्जिनियर सुदिप गौतमले बताउनुभयो । ३.२३ किलोमिटर सडकको नयाँ मार्ग निर्माण भएको छ । बेनीमा १० वटा वडा छन् ।
नगरपालिकाका प्रमुख सुरत केसीले वडाका मुख्य बस्ती जोड्ने सडकमा बाह्ै महिना नियमित यातायात सञ्चालन हुने बनाउने र बजार क्षेत्रका सडक कालोपत्र गर्ने योजनालाई प्राथमिकता दिएको बताउनुभयो ।
यातायात पूर्वाधारमा रु. ८ करोड १५ लाख २५ हजार ४२३ खर्च गरेको नगरपालिकाले ६ वटा सडक स्तरोन्नति सम्बन्धी योजना ठेक्का र ६० वटा उपभोक्ता समिति मार्फत कार्यान्वयन गरेको हो । पर्यटन पूर्वाधार तर्फ ६.३५ किलोमिटर लामो पदमार्ग निर्माण भएको छ ।
नगर गौरवका आयोजना
बेनी नगरपालिकाले यस वर्ष ५ वटा सडक, ४ वटा खानेपानी, १ वटा विद्यालय भवन र १ वटा पर्यटन पूर्वाधार सम्बन्धी योजनालाई प्राथमिकता दिएको छ ।
रु. २ करोड बजेट बिनियोजन भएको बेनी–अर्थुङ्गे–तोरीपानी–पात्लेखेत सडकको ६० प्रतिशत, रु. ८० लाख बजेटको बेनी–अर्थुङ्गे–पुलाचौर–भूतपानी सडकको ८० प्रतिशत र सडक बोर्ड नेपालको रु. १ करोड बजेटको बेनी पुलाचौर सडकको ८५ प्रतिशत भौतिक प्रगति भएको छ ।
रु. ८३ लाख ५० हजार बजेटको महारानी थान छाप ठुलोखोला सडक र तातोपानी बजार कालोपत्र योजना निर्माण सम्पन्न भएको छ । नगरपालिकाले यस वर्ष २ वटा झोलुङ्गे पुल सम्बन्धी योजना कार्यान्वयन गरेको छ ।
रु. १ करोड बजेट बिनियोजन भएको जामुनाखर्क माविको भवन निर्माणको ठेक्का सम्झौता भई हाल २० प्रतिशत भौतिक प्रगति भएको छ । आर्थिक वर्ष २०७७÷०७८ देखि शुरु भएको रावण पार्क योजनाको हालसम्म १८ प्रतिशत प्रगति भएको छ । यो आयोजना क्रोनिक बनेको छ ।
४५२ घरधुरीमा खानेपानी सुविधा विस्तार
बेनी नगरपालिका मार्फत निर्माण भएका खानेपानी आयोजना हरुबाट ४५२ घरधुरीका १ हजार ८५९ जनसंख्या लाभान्वित भएका छन् ।
रु. ४० लाख बजेटको खबरा, ६२ लाख बजेट भएको खबरा खानेपानी आयोजना क्रमागत र रु. ९० लाख बजेट भएको नयाँ गाउँ गाजने खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । रु. ९० लाख बजेट भएको पुलाडाडा पुरुण्डी खानेपानी आयोजनाको ९४ प्रतिशत भौतिक प्रगति भएको छ ।
२.५२ किलोमिटर सिचाई नहर, १ किलोमिटर तटबन्ध, ३ वटा विद्यालय भवन, ३ वटा स्वास्थ्य चौकी, १६ वटा सामुदायिक भवन, ४ वटा यात्रु प्रतिक्षालय, ८ वटा विद्यालय भवन मर्मत, ३ वटा खेलमैदान निर्माण भएको छ ।
लक्ष्यको ९० प्रतिशत राजस्व संकलन
रु. ४ करोड ५४ लाख ५० हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको बेनी नगरपालिकाले ९० प्रतिशत अथवा रु. ४ करोड १० लाख ४७ हजार ९९४ संकलन गरेको छ । सबैभन्दा बढी ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र निकासी शिर्षकमा आन्तरिक आम्दानी भएको छ । यो शिर्षकको ६० प्रतिशत आम्दानी स्थानीय तहले राख्ने र बाँकी संघीय तथा प्रदेश सरकारलाई आधा आधा पठाउँछन् ।
अग्नीखेत बगरबाट रु. ८ लाख ७१ हजार ३४५, डम्मरा बगरबाट रु. २० लाख ३१ ह्जार ९४२, जोगिगाडे बगरबाट रु. ५ लाख १४ हजार ९५०, चुत्रेनी तल्लो बगरबाट रु. ६ लाख ४५ हजार ७११, चुत्रेनी माथिल्लो बगरबाट रु. ९ लाख ७५ हजार ३४०, बगुवा खोला बगरबाट रु. २५ लाख ९३ हजार ४२५ र दूधेखोला घुमाउने बगरबाट रु. ४ लाख २१ ह्जार ९३२ आम्दानी भएको छ । सर्वोच्च अदालतको आदेशका कारण बेनी नगरपालिका भएर बग्ने कालीगण्डकी नदीको बगर ठेक्का लगाउन पाएको छैनन् ।
२४ उजुरी फस्यौट
बेनी नगरपालिकाको न्यायिक समितिमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका १२ र १८ वटा नयाँ दर्ता भएका सहित ३० वटा उजुरी परेका थिए । २४ वटा फस्यौट भएका, ३ वटा प्रक्रीयामा रहेका र ३ वटाका सम्बन्धित पक्ष उजुरीपछि सम्र्पकमा नआएका बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो ।
मिलापत्रको माध्यमबाट उजुरी टुङ्गाइएको उहाँले बताउनुभयो । घरायसी झैझगडा, घर बाहल, लेनदेन र घरजग्गा सम्बन्धी उजुरी बढी रहेका छन् । ३१ जना मेलमिलापकर्तालाई मेलमिलाप सम्बन्धी आधारभूत तालिम दिइएको छ ।