रघुगंगाको ८१ प्रतिशत बजेट खर्च

khali

मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा ८१ प्रतिशत बजेट खर्च र ९९ प्रतिशत योजना कार्यान्वयन गरेको छ ।

चालुतर्फ रु. ३६ करोड २ लाख ५७ हजार ४२६ र पुजिगत तर्फ रु. १२ करोड ६१ लख ४५ हजार गरि रु. ४८ करोड ६४ लाख २ हजार ४२६ बिनियोजन भएकोमा रु. ४२ करोड १८ लाख १० हजार ८४८ निकासा प्राप्त भएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले पुजिगत तर्फ रु. ९ करोड ४५ लाख ५५ हजार ८११ अथवा ७८ .९ प्रतिशत र चालुतर्फ रु. २९ करोड ८४ लाख ८१ हजार १३४ खर्च भएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

चालु बजेट तलबभत्ता, सामाजिक सुरक्षा भत्ता, संघीय र प्रदेशका शसर्त कार्यक्रम तथा योजना, प्रशासनिक कार्यमा खर्च हुन्छ । पुजिगत बजेट विकास आयोजना तथा कार्यक्रममा परिचालन हुने गर्छ ।

कुल बजेटको ८०.८० प्रतिशत अथवा रु. ३९ करोड ३० लाख ३६ हजार ९४५ खर्च भएको हो । जेष्ठ नागरिक, एकल महिला, दलित जेष्ठ नागरिक, दलित बालबालिका र अपाङ्गता भएकालाई रु. ११ करोड ५४ लाख ९१ ह्जार ६५८ खर्च भएको छ । चालु बजेटको सबैभन्दा बढी सामाजिक सुरक्षा भत्ता शिर्षकमा खर्च हुने गरेको छ ।

लक्ष्यको ८६ प्रतिशत राजस्व संकलन
रघुगंगा गाउँपालिकाले यस वर्ष लक्ष्यको ८६.६६ प्रतिशत राजस्व संकलन गरेको छ । रु. १ करोड ३० लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेकोमा रु. १ करोड १२ लाख ६५ हजार ५०४ राजस्व संकलन भएको गाउँपालिकाका लेखा अधिकृत अर्जुन गौतमले जानकारी दिनुभयो । सबैभन्दा बढी ढुंगा, गिट्टी, बालुवा उत्खनन र निकासी वापत रु. ४२ लाख ५२ हजार १८४ आम्दानी भएको छ ।

नदीजन्य बस्तुको आम्दानीको ६० प्रतिशत पालिकाको आम्दानी रहने गर्छ । रघुगंगा गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीको बगरमा सर्वोच्च अदालतको आदेशका कारण ठेक्का लगाउन पाएको छैन् । रघुगंगा र अन्य सहायक खोलाका बगरहरुमा मात्र ठेक्का लगाएको हो ।

सिफारिस दस्तुरबाट रु. १८ लाख ९५ हजार १४२, अन्य दस्तुर रु. १३ लाख ८० हजार २३८, व्यक्तिगत घटना दस्तुर रु. ५ लाख ५ हजार ३००, वाहाल कर रु. ७ लाख ३८ हजार १६९, भूमिकर रु. ६ लाख ६१ ह्जार २६८, अन्य राजस्व रु. ५ लाख ८६ हजार १९२ संकलन भएको छ । २९ वटा शिर्षकमा राजस्व संकलन भएको लेखा अधिकृत गौतमले बताउनुभयो ।

९९ प्रतिशत योजना कार्यान्वयन
रघुगंगा गाउँपालिकामा चालु आर्थिक वर्षमा बजेट बिनियोजन भएका ९९ प्रतिशत पूर्वाधार योजनाहरु कार्यान्वयन भएका छन् ।

१२२ वटा योजना रहेकामा १२० वटा निर्माण सम्पन्न भएका गाउँपालिकाको योजना शाखाका प्रमुख योगेन्द्र बानियाले बताउनुभयो । रु. २ लाख बजेट बिनियोजन भएको कुइने खानेपानी आयोजनाको उपभोक्ता समिति सम्झौता गर्न आएनन् ।

khali

संघीय सरकारले रु. ५० लाख बिशेष अनुदान पठाएको शिव आधारभूत विद्यालय दर्मीजाको भवन जग्गा अभावले कार्यान्वयन हुन सकेन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका सबै १८ वटा योजना कार्यान्वयन भएको छ । सडक निर्माण, स्तरोन्नति, ढलान, पदमार्ग, खेलमैदान, सरकारी तथा सामुदायिक भवन, पहिरो नियन्त्रण सम्बन्धी योजनालाई प्राथमिकता दिइएको छ ।

रघुगंगाका ७ ठूला आयोजना
रघुगंगा गाउँपालिकामा चालु आर्थिक वर्षमा सम्पन्न भएका मध्य ७ वटा प्राथमिकता प्राप्त आयोजना हुन् ।

चिमखोलामा स्वास्थ्य चौकी र झिँमा ५ नम्बर वडाको कार्यालय भवन निर्माण भएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख कमल चोखालले बताउनुभयो । गण्डकी प्रदेश सरकारको समपुरक योजनामा रहेको पाखापानी–रायखोर–घ्यासीखर्क सडक आयोजनाको लक्ष्य अनुसारको काम सकिएको छ ।

संघीय सरकारको विशेष अनुदान अन्र्तगत मुक्तिधाम माविमा प्राविधिक धारतर्फको छात्रावास भवन निर्माण योजनाको भौतिक प्रगति पुरा भएको छ । रघुगंगा गाउँपालिका–२ रुइसेमा औद्योगिक ग्राम, बेगखोलामा १ नम्बर वडा कार्यालय, रितुङ माविको भवन निर्माणको लक्ष्य पुरा भएको छ । कलेजावाङमा निर्माण भएको सामुदायिक स्वास्थ्य इकाईको भवन प्रयोगमा ल्याउने तयारी भएको छ ।

समय तालिका बनाएर योजना कार्यान्वयन
रघुगंगा गाउँपाकिलाले नयाँ आर्थिक वर्षको शुरुवातसँगै योजना कार्यान्वयनको कार्यतालिक लागु गर्ने गरेको छ ।

पहिलो चौमासिकमा योजना सर्वेक्षण, लागत अनुमान, डिजाइन तयार पार्ने, उपभोक्ता समिति गठन, सम्झौता र दोस्रो मौमासिक देखि कार्यान्वयन गर्ने विगतको अभ्यासलाई निरन्तरता दिइएको गाउँपालिकाका अध्यक्ष भबहादुर भण्डारीले बताउनुभयो ।

ठेक्का मार्फत कार्यान्वयन हुने ठूला आयोजनाहरुको पनि डिपिआर अनुसार दोस्रो चौमासिकभित्रै सम्झौता गर्ने गरिएको छ । नियमित अनुगमन गरि आवश्यक सल्लाह र सहजिकरण गरिएकाले योजना कार्यान्वयनमा ढिलासुस्तिको समस्या हटेको गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी पुनले बताउनुभयो ।

आगामी आर्थिक बर्षको बजेट र योजना

रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि रु. ४८ करोड ५० लाख ९५ हजार बजेट बिनियोजन गरेको छ । रु. १ करोड ४५ लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

प्रशासकीय भवन निर्माण गर्न रु. २ करोड, सडक मर्मत सम्भारमा रु. ४० लाख, प्रदेश सम्पुरक योजना अन्तरगत पाखापानी रायखोर घ्यासीखर्क सडकलाई रु. ४० लाख, विपद् व्यवस्थापन योजनामा रु. ४० लाख बजेट विनियोजन भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...