बेनी, म्याग्दीको बेनी नगरपालिकाको २, ३, ४ र मंगला गाउँपालिकाको ३ र ४ नम्बर वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ ।
गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्का मार्फत बेनी नगरपालिका–२ को बगरफाँट देखि दूधेखोला–हल्लेगौडा–डोले–मुसुङ जोड्ने सडक ग्रावेल र ढलान गर्ने योजना कार्यान्वयन गरेको हो ।
गत जेठ २९ गते रु. ५ करोड ५९ लाख १४४ मा ठेक्का सम्झौता गरेको माछापुच्छ्रे– हिमालयन जेभी सोमबार देखि कार्यक्षेत्रमा परिचालित भएको पूर्वाधार विकास कार्यालयका सव ईञ्जिनियर रविन चोखालले जानकारी दिनुभयो ।
“रु. ७ करोड ७२ लाख लागत अनुमान गरिएको योजनाको ठेक्का प्रतिस्पर्धामा सबै भन्दा कम कबोलेको कम्पनीसँग सम्झौता भएको हो,” उहाँले भन्नुभयो “आगामी १८ महिनामा बगरफाँट देखि दूधेखोला सम्मको ३ किलोमिटर ग्राभेल र दूधेखोला देखि भकिम्लीतर्फ ३९० मिटर सडक ढलान गर्ने लक्ष्य छ ।”
सडकलाई ७ मिटर फराकिलो र नाली पनि बनाइने भएको छ । ग्रेड तथा घुम्ती सुधार पनि गरिने सवईञ्जिनियर चोखालले बताउनुभयो । वि.स. २०६५ मा मार्ग खुलेको सो सडक हाल ४ मिटरको हाराहारीमा फराकिलो छ ।
निर्माण कम्पनीका प्रतिनिधि निरज भण्डारीले १ वटा डोजर र २५ जना मजदुर परिचालन गरेर सडक फराकिलो बनाउने, पर्खाल लगाउने काम थालेको बताउनुभयो । निर्धारित समय भित्रनै सडक निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाउदै उहाँले बर्खा लगत्तै उपकरण, मजदुर थप्ने बताउनुभयो ।
यो सडक बेनी नगरपालिकाको २, ३ र ४ नम्बर तथा मंगला गाउँपालिकाको ३ र ४ नम्बर वडाका बासिन्दाले प्रयोग गर्दछन् । मार्ग खुलेपछि हालसम्मकै धेरै बजेट बिनियोजन भएर योजना सञ्चालन भएको बेनी नगरपालिका–३ का वडा अध्यक्ष पदम पुनले बताउनुभयो ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु. २ करोड बजेट बिनियोजन गरेको यस सडकलाई बहुबर्षीय ठेक्का लगाउन रु. १० करोड बजेटको स्रोत सुनिश्चितता भएको थियो । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले म्याग्दी १(१) निर्वाचन क्षेत्रमा बेनी–भकिम्ली सहित बेनी–पाखापानी सडकको नेप्टेचौर–तोरीपानी खण्डको पनि स्तरोन्नति शुरु भएको बताउनुभयो ।
वि.स. २०७६ मा शुरु भएको रघुगंगा गाउँपालिकाको पिप्ले–भगवति सडक यस वर्ष निर्माण सकिएको र अन्नपूर्ण गाउँपालिकाको चित्रे देखि पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि ठेक्का आव्हानको तयारी भएको उहाँले बताउनुभयो ।