बेनी, ः म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीमा नागरिक स्तरबाट कालिगण्डकी सभ्यता बचाउने र दुर्लभ शालिग्राम शिला संरक्षण अभियान शुरु भएको छ ।
शालिग्राम संरक्षण अभियान, बेनी नगर समितिले शालिग्रामको चोरी निकासी र दोहन रोकेर संरक्षणका लागि समुदायमा सन्देश प्रवाह गराउने तथा सरोकारवालालाई दवाव दिन कालीगण्डकीको शिलाहरुमा हिन्दु धर्मावलम्बीहरुका देवी देवताका नाम लेख्ने र किनारमा सरसफाई अभियान थालेको हो ।
कालिगण्डकी नदी र शालिग्राम शिलालाई विश्वसम्पदा सूचीमा समावेश गर्न, नदीको स्वच्छता र पवित्रता कायम गरी प्रकृति र पर्यावरणको जगेर्ना गर्ने अभियानको उद्देश्य रहेको अभियानको बेनी नगर समितिका संयोजक नेत्रबहादुर महतले बताउनुभयो ।
अभियन्ता, साधु, सन्त र पर्यावरणप्रेमीहरूको समूहले सोमबार कालिगण्डकी र म्याग्दी नदीको दोभानमा हरहर गङ्गे, मच्छेमूर्ति, महाकुर्ममूर्ति, बराहमूर्ति, लक्ष्मीनारायण् ालगायत देवीदेउताका नाम शिलामा कोरेका थिए । नदी किनारमा सरसफाई गर्नुका साथै भजनकिर्तन र कबिता बाचन गरेका थिए ।
“कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलालाई संसारभरका हिन्दूमार्गीले विष्णु भगवान्का रूपमा पुज्ने गर्छन्,“ महतले भन्नुभयो “अवैज्ञानिक उत्खननले एकातिर नदीको पारिस्थितिकीय प्रणाली नै खल्बलिने र अर्कातिर दुर्लभ शालिग्राम शिला लोप हुने जोखिम बढेपछि कालीगण्डकी जोगाउने अभियान थालेका हौ ।”
कालीगण्डकी नदीको पवित्रता एवम् चक्राङ्कित र निष्चक्राङ्कित शालिग्राम शिला र नदी संरक्षणको सन्देश दिनु पनि अभियानको उद्देश्य रहेको शालिग्राम शंरक्षण अभियानका प्रवत्ता हरेमबहादुर खत्रीले बताउनुभयो
“अस्तित्व सङ्कटबाट गुज्रिरहेको कालीगण्डकी नदी संरक्षणमा सरोकार भएका पक्षको ध्यानाकर्षण होस्, जनस्तरमा सन्देश पुगोस् भनेर यो अभियान थालिएको हो” प्रवत्ता खत्रीले भन्नुभयो “सभ्यता बोकेको नदी मानवीय अतिक्रमणको चपेटमा छ, यसतर्फ बेलैमा सबैको ध्यान जानु जरुरी छ ।”
नदी र खोलाका किनारैकिनार खनिएका सडक, अव्यवस्थित सहरीकरण, फोहोर फाल्ने, विकास गतिविधि, प्रकृतिदोहन आदि कारणले मानव र प्राणी जगत् जोखिममा परेको उहाँको भनाइ छ । अभियन्ताहरुले गिट्टी, बालुवाका लागि खानीको विकास गर्नुपर्ने र ‘ड्याम’ बनाएर सङ्कलित नदीजन्य पदार्थलाई प्राधिकरणमार्फत वितरण गर्न माग राख्दै आएका छन् । कालीगण्डकीको शिर मुक्तिनाथ र दामोदरकुण्डलाई हिन्दू र बौद्धमार्गी दुवैले पवित्र क्षेत्र मान्दछन् ।
कालीगण्डकीको जलाधार क्षेत्रमा आठ हजार मिटरभन्दा अग्ला तीनवटा हिमालय पर्वत श्रृङ्खला धवलागिरि, अन्नपूर्ण र मनाश्लु रहेका छन् भने आठ हजारदेखि छ हजार मिटरसम्मका दुई दर्जनभन्दा धेरै हिमशिखर रहेका छन् । कालीगण्डकीको जलाधार क्षेत्रमा मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा, गुल्मी, पाल्पा, तनहुँ, नवलपुर, नवलपरासी गरी १० जिल्ला रहेका छन् । नदीको अप्राकृतिक दोहनले मुक्तिनाथदेखि देवघाटसम्म कालीगण्डकी तटमा रहेका दर्जनौँ तीर्थस्थलसमेत सङ्कटमा छन् ।
हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिण बग्ने कालीगण्डकीसँग आफ्नै प्राचिन सभ्यता छ । यससँग जोडिएको हिमालय सभ्यताको पौराणिक तथा धार्मिक साहित्यमा चर्चा गरिएको पाइन्छ ।
यस क्षेत्रका फाँटहरूमा प्राचीनकालदेखि नै सांस्कृतिक गतिविधि हुने गरेको विभिन्न धर्मग्रन्थहरूमा उल्लेख छ । चिनियाँहरूले रेशम व्यापारका क्रममा हिमालय भञ्ज्याङ पार गरी कालीगण्डकीको किनारैकिनार पोखरा, पाल्पा, तानसेन, लुम्बिनी हुँदै भारतसम्मको यात्रा गरेको इतिहासमा उल्लेख छ ।