मंगलाको केन्द्र बाबियाचौरमा कालोपत्र सडक पुग्यो

Gandaki Kotihome

बेनी ः म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर कालोपत्र सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो ।

बेनी बजार देखि १२.५ किलोमिटर मंगला गाउँपालिका– २ सिममा पुगेको कालोपत्र सडक पूर्वाधार विकास कार्यालयले विस्तार गरेर तोराखेत– बाबियाचौर– लाम्पाटा– पानाबगर हुदै रणवाङको सिमानामा पु¥याएको छ ।

सडक कालोपत्र भएपछि यात्रा सहज, सुरक्षित र अवधी छोटिएको मंगला गाउँपालिका–२ बाबियाचौरका याम बहादुर थापाले बताउनुभयो । “कच्चि सडक हुँदा बाबियाचौर देखि बेनी पुग्न १ घण्टा ३० मिनेट लाग्ने गरेको थियो,” उहाँले भन्नुभयो “कालोपत्र भएपछि बाबियाचौर देखि २० मिनेटमै बेनी पुग्न सकिने भएको छ ।”

Upper Myagdi transmition line notice

हिउँदमा धुलो र बर्खामा हिलोमा सास्तीपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको मंगला–२ तोराखेतका थमप्रकाश पौडेलले बताउनुभयो । व्यवसायिक कृषक समेत रहेका पौडेलले दूध र तरकारी बजार पठाउन सजिलो भएको बताउनुभयो । सडक कालोपत्र भएपछि सार्वजनिक यातायातको भाडादर घटाउन उपभोक्ताले माग गरेका छन् । वि.स. २०६१ मा मार्ग खुलेको सो सडक दुई दशकपछि कालोपत्र भएको हो ।

Annapurna aarohan ko notice

पूर्वाधार विकास कार्यालय म्याग्दीका अनुसार सिम देखि पानाबगर खण्डको ३ किलोमिटर ८०० मिटर सडक कालोपत्र गर्न वि.स. २०७८ पुष १८ गते अमर–ओमबुद्ध जेभीसँग रु. १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता भएको थियो ।

कार्यालयका सडक इञ्जिनियर सञ्जय सुवेदीले डिबिएसडी प्रबिधिको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको बताउनुभयो । बिवाद र ढलान गर्नुपर्ने बाहेकको ठाउँमा दुई चरणको कोट राख्ने काम सकिएको छ । जेठ १८ गतेदेखि शुरु भएको कालोपत्र गर्ने काम १२ दिनमा सकिएको हो ।

सडकलाई ८ मिटर फराकिलो बनाएर र ७ मिटर चौडाइका दरले डिबिएसडी प्रबिधिको कालोपत्र गरिएको ओमबुद्ध निर्माण कम्पनीका प्रतिनिधी डम्मर सापकोटाले बताउनुभयो । तोराखेत खण्डमा सडकको क्षेत्राधिकारमा पर्ने जग्गाका धनीहरुको बिवादले करिब १०० मिटरमा कालोपत्र गर्न र संरचना निर्माणलाई अन्तिम रुप दिन नपाएको उहाँले बताउनुभयो ।
१८ महिनाको ठेक्का अवधी रहेको सो सडक ३ वर्षमा सम्पन्न हुन लागेको हो । २४ किलोमिटर दुरीको बेनी–दरवाङ म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने एकमात्र मार्ग हो । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा वि.स. २०६३ मा सडक पुगेको थियो ।

बाग्लुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने यो सडकको पहिलो १२ दशमलब ५ किलोमिटर दुरिको बेनी–सिम खण्डमा २ वर्षअघि कालोपत्र भएको थियो । बिरुवा–क्याराभान जेभीले वि.स. २०७६ असार ३१ गते रु. २२ करोड ५७ लाख ९३२ मा ठेक्का लिएको बेनी–दरवाङ सडकको तेस्रो प्याकेजमा पर्ने मंगला गाउँपालिका–२ लाम्पाटा देखि मालिकाको केन्द्र दरबाङ सम्मको ६.८ किलोमिटर सडक निर्माणको काम भने अधुरो रहेको छ ।

२०७८ जेठमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो खण्डको हालसम्म करिब ७३ प्रतिशत भौतिक प्रगति भएको छ । म्याग्दी क्षेत्र १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य समेत रहेका प्रदेश सरकारका पुर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जालीले रणबाङ–दरवाङ खण्ड निर्माणलाई पूर्णता दिन निर्माण व्यवसायीलाई ताकेता, समन्वय र सहजिकरण गरिरहेको बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...