बेनी–दरवाङ सडक आयोजनाको सिम–पानाबगर खण्डमा कालोपत्र शुरु

Gandaki Kotihome

बेनी, म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्डमा आजदेखि कालोपत्र गर्न थालिएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले मंगला गाउँपालिका– २ सिम देखि तोराखेत– बाबियाचौर– लाम्पाटा– पानाबगर– रणवाङको सिमाना सम्म सडक कालोपत्र गर्न लागेको हो ।

कार्यालयका सडक इञ्जिनियर सञ्जय सुवेदीले सडक फराकिलो पार्ने, नाली, पर्खाल निर्माण गर्ने, सब बेस र बेस बिछ्याउने काम सकेर कालोपत्र गर्न सिम तर्फबाट प्राइम कोट (बिटुमिन) बिछ्याउन थालिएको जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

“डिबिएसडी प्रबिधिको कालोपत्र गर्न चिप्स बिछ्याउनु भन्दा २४ घण्टा पहिले प्राइम कोट राखिएको हो,” उहाँले भन्नुभयो “सिम देखि तोराखेत हुदै माटेबगर सम्म एकतर्फी एक हजार ३०० मिटरमा प्राइम कोट बिछ्याउने काम सकिएको छ ।”

Annapurna aarohan ko notice

वि.स. २०६१ मा मार्ग खुलेको सडक दुई दशकपछि कालोपत्र गर्ने तयारी भएको जनाइएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णु पौडेलका अनुसार सिम देखि पानाबगर खण्डको ३ किलोमिटर ८०० मिटर सडक कालोपत्र गर्न वि.स. २०७८ पुष १८ गते अमर–ओमबुद्ध जेभीसँग रु. १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता भएको थियो ।

सडकलाई ८ मिटर फराकिलो बनाएर र ७ मिटर चौडाइका दरले डिबिएसडी प्रबिधिको कालोपत्र गर्न लागिएको ओमबुद्ध निर्माण कम्पनीका प्रतिनिधी डम्मर सापकोटाले बताउनुभयो । तोराखेत खण्डमा सडकको क्षेत्राधिकारमा पर्ने जग्गाका धनीहरुको बिवादले करिब १०० मिटरमा कालोपत्र गर्न र संरचना निर्माणलाई अन्तिम रुप दिन नपाएको उहाँले बताउनुभयो ।

१८ महिनाको ठेक्का अवधी रहेको सो सडक ३ वर्षमा सम्पन्न हुन लागेको हो । चालु आर्थिक वर्षमा रु. ४ करोड बजेट बिनियोजन भएको यो खण्डको भौतिक प्रगति ६८ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

थप बजेट व्यवस्थापनका लागि कार्यालयले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा पहल गरेको छ । २४ किलोमिटर दुरीको बेनी–दरवाङ म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने एकमात्र मार्ग हो । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा वि.स. २०६३ मा सडक पुगेको थियो ।

बाग्लुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने यो सडकको पहिलो १२ दशमलब ५ किलोमिटर दुरिको बेनी–सिम खण्डमा २ वर्षअघि कालोपत्र भएको थियो । बिरुवा–क्याराभान जेभीले वि.स. २०७६ असार ३१ गते रु. २२ करोड ५७ लाख ९३२ मा ठेक्का लिएको बेनी–दरवाङ सडकको तेस्रो प्याकेजमा पर्ने मंगला गाउँपालिका–२ लाम्पाटा देखि मालिकाको केन्द्र दरबाङ सम्मको ६.८ किलोमिटर सडक निर्माणको काम भने सुस्ताएको छ ।

२०७८ जेठमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो खण्डको हालसम्म करिब ७३ प्रतिशत भौतिक प्रगति भएको छ । म्याग्दी क्षेत्र १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य समेत रहेका प्रदेश सरकारका पुर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जालीले रणबाङ–दरवाङ खण्ड निर्माणलाई पूर्णता दिन निर्माण व्यवसायीलाई ताकेता, समन्वय र सहजिकरण गरिरहेको बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...