जोमसोम, मुस्ताङका कृषकहरुलाई च्याङग्रापालन र पश्मिनाको कच्चा पदार्थ भुवा संकलन सम्बन्धी अन्तराष्ट्रिय सिप हस्तान्तरण गरिएको छ ।
अन्तराष्ट्रिय ब्यापार केन्द्र, युरोपियन युनियनको ट्रेड इन्भेष्टमेन्ट (ब्यापारमा लगानी) सम्बन्धी कार्यक्रम मार्फत नेपाल पश्मिना उद्योग संघको आयोजनामा भारतको कश्मिरबाट प्रशिक्षक ल्याएर अन्तराष्ट्रिय ज्ञान, सिप हस्तान्तरण गरिएको हो ।
नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले कश्मिरका डा. खिलाल खान र अन्तराष्ट्रिय ब्यापार केन्द्रका प्राविधिक विशेषज्ञ प्रा.डा. सर्फराज वानीलाई ल्याएर घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका च्याङग्रापालक कृषकहरुलाई तालिम मार्फत ज्ञान, सिप हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
अध्यक्ष लामिछानेका अनुसार गत वर्ष मुस्ताङका ४ वटा स्थानीय तहका १६० जना कृषकहरुले पालेका ८०० वटा च्याङग्राको शरिरमा भएको भुवाको नमूना संकलन गरेर मंगोलियामा रहेको अन्तराष्ट्रिय प्रयोगशालामा गरिएको परिक्षण प्रतिवेदनको सुझाव कार्यान्यनका क्रममा तालिम सञ्चालन गरिएको हो ।
“नेपालको पश्मिना अन्तराष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरको रहेको प्रतिवेदनको सुझाव अनुसार कृषकलाई च्याङग्रा राख्ने गोठ, आहारा र नष्ल सुधार सम्बन्धी आधुनिक ज्ञान र सिप कश्मिरका प्रशिक्षक मार्फत भित्र्याइएको हो,” अध्यक्ष लामिछानेले भन्नुभयो “पश्मिनाको गुणस्तर सुधारका लागि गर्नुपर्ने कामका विषयमा युरोपियन युनियनको टोलीले जनप्रनिधी र सरोकारवालाहरुसँग छलफल पनि गरेको छ ।”
जेठ ९ गतेदेखि शुरु भएको स्थलगत तालिम १६ गते बुधबार सकिएको थियो । टोलीसँगै मुस्ताङमा पुग्नुभएकी नेपालका लागि युरोपियन युनियन (इयु)का राजदुत भेरोनिक लोरेन्जोले लोमान्थाङ गाउँपालिकाका छिरिङ वाङ्दीले स्थापना गर्नुभएको पश्मिना रिसर्च एण्ड एग्रो टुरिजम फार्मको उद्घाटन गर्नुभएको थियो ।
मुस्ताङको च्याङग्राको पश्मिनाको अन्तराष्ट्रिय बजारमा उच्च सम्भावना देखिएकाले यसको प्रर्वद्धन र व्यवस्थापनमा सघाएको राजदुत लोरेन्जोले बताउनुभयो । विश्व बैंङ्कको नेपाल स्थित कार्यालयका प्रतिनिधीले पनि पश्मिनाको भुवा संकलन केन्द्रको अनुगमन गर्नुभएको थियो ।
पश्मिनाको गुणस्तर सुधारका लागि विदेशी प्रशिक्षकबाट पाएको ज्ञान सिप र अनुभव उपभोगी बन्ने कृषक वाङ्दीले बताउनुभयो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले च्याङ्गा पालनबाट कृषकहरुलाई मासुमा बिक्री र पश्मिनाका लागि भुवा उत्पादन गरेर दोहोरो लाभ लिने सम्भावना रहेको बताउनुभयो । च्याङग्रापालनलाई थप ब्यवसायिक, आधुनिकीकरण र संख्या बृद्धि गर्न पहल गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।
प्राकृतिक रुपमा विरलै उत्पादन हुने च्याङग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पश्मिनाको व्यावसायिक माग बढ्दो छ । राम्रो गुणस्तरको च्याङ्ग्रा पश्मिनाका लागि आकर्षक मुल्य तिर्न नेपाली खरीदकर्ता तयार भएकाले च्याङ्ग्रापालक कृषकहरुले राम्रो आम्दानी गर्न सक्ने सम्भावना छ ।
नेपालबाट बिदेश निर्यात हुने प्रमुख बस्तु पस्मिना बनाउन च्याङग्राको भुवा प्रशोधन गराएर बनाएको धागो कच्चा पदार्थको रुपमा प्रयोग हुन्छ । नेपाल पश्मिना उद्योग संघका अनुसार नेपालबाट वार्षिक रु. ३ अर्बको पस्मिना निर्यात हुन्छ भने वार्षिक १९५ टन पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ ।
बिदेशबाट कच्चा पदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्ला लगायत जिल्लाका कृषकहरुबाट पछिल्लो दुई वर्षयता च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको पश्मिना उद्योगी भिम शेरचनले बताउनुभयो । संघले मुस्ताङबाट वार्षिक २ मेट्रिक्टन भुवा संकलन गरेर लैजाने गरेको छ ।
बजारको सुनिश्चितता नभएकाले मुस्ताङका कृषकले यसअघि ऊन निकाल्ने गरेका थिएनन् । शरिरबाटै झरेर खेर जाने गरेको थियो । तीस प्रतिशतको हाराहारीमा ऊन निकालेपनि बजार नपाउने समस्या थियो । नेपाल फाइवर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भूवा संकलन र काठमाडौमा प्रशोधन केन्द्र स्थापना गरेको छ ।
बैशाख–जेठ महिना च्याङग्राको शरिरबाट भुवा निकाल्ने याम हो । भुवा निकाल्ने सिपसँगै नयाँ प्रबिधि हस्तान्तरण गरिएको छ । च्याङग्राको भूवा पस्मिनाका लागि (क) श्रेणीको कच्चा पदार्थ हो । भेडा र चौरीको तुलनामा च्याङग्राको भुवालाई गुणस्तरीय मानिएको छ ।
मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङ लगायतका ठाउँका कृषकहरुले व्यवसायिक च्याङग्रा पालन गरेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मुस्ताङका अनुसार ५२ हजार च्याङग्रा पालिएको छ ।