बेनी, ः एउटै वडाका २ वटा वस्तिको बिवादका कारण म्याग्दीको मंगला गाउँपालिका–१ कुहु देखि भिरकटेरा हुदै पर्यटकीय स्थल टोड्के जोड्ने सडक निर्माण रोकिएको छ ।
मंगला–१ पुर्णगाउँ र कुहुँका बासिन्दाको बिवाद पूर्णगाउँबासीले प्रयोग गर्ने कुहुँ हुदै पूूर्णगाउँ र टोड्के जोड्ने सडकमा पर्खाल र रुख ढालेर अवरोध भेपछि सतहमा आएको हो । शनिबार राती अधेरीखोलामा पर्खाल निर्माण र रुख ढालेर आवत जावतमा अवरोध गरेका छन् ।
बिवादका कारण मंगला गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. २२ लाख बजेट बिनियोजन गरेको कुहुँ भिरकटेरा टोड्के सडक निर्माण रोकिएको मंगला–१ का वडा अध्यक्ष एकजित रोकाले बताउनुभयो ।
“कुहुदेखि भिरकटेरा हुदै टोड्के तर्फ ५.१ किलोमिटर मध्य ४ किलोमिटरको मार्ग खुुलीसकेको अवस्थामा निर्माण रोकिएको छ,” उहाँले भन्नुभयो “बिवाद समाधानका लागि दुई वटै बस्तिका बासिन्दालाई छलफलमा बोलाएका छौ । पूर्णगाउँबासी छलफलमा आउनु भएको छैन् ।”
कुहु देखि भिरकटेरा हुदै टोड्के जोड्ने सडक छोटो हुने भएकाले निर्माण गर्नुपर्ने कुहुबासीको माग छ । पूर्ण गाउँका बासिन्दा जितमान गौचनले भएको सडकलाई स्तरोन्नति गरेर सञ्चालन नगरी जथाभावी जंगलमा सडक खन्दा पहिरोको जोखिम हुने बताउनुभयो ।
डिभिजन वन कार्यालयले पात्लेपानी सामुदायिक वनले सडक विस्तार गर्दा वन क्षति हुने भन्दै निवेदन दिएपछि विस्तार रोक्न निर्देशन दिएको जनाएको छ । सडकमा अवरोध गरेर पूर्णगाउँबासिलाई अन्याय गरेको उहाँको भनाई छ ।
पर्यटकीयस्थल टोड्केदेखि पूर्णगाउँ–कुहुँ हुँदै बेनीसम्म पुग्ने सडकमा कुहुँका वासिन्दाले अवरोध गर्दा टोड्के पुग्ने पर्यटक झिँ तथा पूर्णगाउँ हुँदै बैकल्पिक मार्ग प्रयोग गरेर बेनी फर्कीन थालेका छन् ।
सडक खण्डमा पर्खाल र रुख ढालेर अवरोध गरिएपछि कुुहुँ र पूर्णगाउँबाट सदरमुकाम बेनी तथा गाउँपालिकाको केन्द्र बावियाचौरमा आवत जावत गर्न समस्या भएको छ ।