
बेनी, । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आठौ वार्षिक साधारणसभा शुक्रबार बेनीमा सम्पन्न भएको छ ।
साधारणसभामा शाखा सचिव सन्तोष गौतम र कोषाध्यक्ष दलप्रसाद बिश्वकर्मा (अमित)ले प्रस्तुत गरेको प्रगति प्रतिवेदन छलफल पछि पारित भएको छ ।
बेनी नगरपालिकाले भाडामा उपलब्ध गराएको जग्गाको भवनमा कार्यालय स्थापना, सदस्यता शुद्धिकरण मापदण्ड सबै संगठनहरुको सहमतिमा कार्यान्वयन, आपतकालिन कोष मार्फत समस्यामा परेका पत्रकारहरुलाई सहायता, क्षमता विकासका कार्यक्रम सञ्चालन गरिएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।

कोषाध्यक्ष बिकले आम्दानी खर्च विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले संस्थागत विकासका लागि म्याग्दी शाखाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

पुर्व केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधि हरिनारायण गौतमले न्यु मिडियालाई व्यवस्थित बनाउनुपर्ने, मिडिया सञ्चालक र पत्रकारको फरक पहिचान हुनुपर्ने बताउनुभयो । प्रदेश समितिका महासचिव गोविन्द सुवेदीले पत्रकार महासंघलाई पत्रकारिता पेशा गर्नेहरुको मात्र संस्था बनाउन सदस्यता शुद्धिकरण अभियानलाई सार्थकता दिनुपर्ने बताउनुभयो ।
सल्लाहकार घनश्याम खड्का र तारानाथ शर्माले पत्रकारहरुले परिस्थिति अनुकुल, प्रविधिलाई पछ्याएर आफ्नो क्षमताको विकास गर्नुपर्ने बताउनुभाये । प्रेस युनियनका अध्यक्ष राकेश शर्मा, प्रेस चौतारिका अध्यक्ष प्रताप बानिया, प्रेस सेन्टरका अध्यक्ष कमल खत्रीले पत्रकार पलायन हुँदा समाजको मुद्दा ओझलमा पर्ने खतरा बढेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
जनपत्रकार संगठनका अध्यक्ष बादल शाही, फोनिजका अध्यक्ष साधन राम्जाली र सञ्चारिका समूहका अध्यक्ष देवी जिसीले पत्रकार महासंघमा सबैले अवसर पाउनुपर्ने र निधेष गर्न नहुने बताउनुभयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, नेपाली काँग्रेसका नेता अजयमिलन श्रेष्ठ, शाखाका संस्थापक सदस्य सुवासकुमार श्रेष्ठले म्याग्दीका पत्रकारहरुको क्रियाशिलतालाई निरन्तरता दिदै व्यवसायिक र पेशागत मर्यादाप्रति सचेत रहन आग्रह गर्नुभयो ।
शाखा उपाध्यक्ष हरिकृष्ण गौतमले म्याग्दीका पत्रकार र मिडिया क्षेत्रले हिमाली जिल्लाको सुविधा पाउन नसकेकोमा ध्यानाकर्षण गराउनुभयो । पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
