बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौर माटेवगरमा रहेको ऐतिहासिक देवि भगवती मन्दिर परिसरमा धार्मिक पर्यटकीय बहुउद्देश्यीय सेवा भवन निर्माण गर्ने मुख्य उदेश्य लिएर संचालन हुन लागेको श्रीमदभागवत ज्ञान महायज्ञको तयारी तिव्र पारिएको छ ।
देवि भगवती मन्दिर संरक्षण समिति तथा मंगला युथ क्लबको आयोजनामा यहि वैशाख ८ गतेदेखि १६ गते सम्म ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्वस – २०८१ को आवश्यक व्यवस्थापकीय तयारीलाई तिव्र बनाईएको हो ।
मन्दिर पुन निर्माण, मन्दिर स्थलमा धार्मिक पर्यटकहरुलाई लक्षित गरेर वहुउद्देश्यीय सेवा भवन निर्माण गर्ने संकल्प लिईएको छ । भवनमा मण्डप सहित विहे तथा व्रतवन्ध लगायतका कार्य सम्पन्न गर्ने कक्ष, संकिर्तन, पूजा सामग्री भण्डारण कक्ष, तथा योगा र ध्यान समेत गर्न मिल्ने सभाहल सहितको भवन निर्माण गर्ने लक्ष राखिएको र त्यहाँ एकजना सन्तको समेत व्यवस्था गरिने महायज्ञ मुल समारोह समितिका अध्यक्ष नविन अधिकारीले बताउनुभयो ।
त्यस्तै गरि मंगला गाउँपालिका भित्रका आकस्मिक विरामीहरुलाई समयमै अस्पताल पु¥याउन यातायातको साधनहरुको समस्या भएको अवस्थालाई मध्यनजर गर्दै जुनसुकै समयमा पनि सेवा उपलब्ध गराउने गरि एम्वुलेन्स खरिद गर्ने लक्ष्य समेत लिईएको मुल समारोह समितिका सचिव छमलाल पौडेलले बताउनुभयो ।
धार्मिक महोत्वसको प्रचारप्रसार, मञ्च व्यवस्थापन, दानदाताको खोजी, पत्राचार, निमन्त्रणा कार्ड वितरण लगायतका कार्यहरुलाई तिव्रताका साथ अगाडी वढाईएको प्रचारप्रसार उपसमितिका संयोजक राजु पाण्डेले बताउनुभयो ।
महायज्ञमा प्रखर वाचक पण्डित श्री कपिलदेब भट्ट ज्युले कथा प्रबचन गर्नु हुनेछ । भने महायज्ञमा दैनिक पुजापाठ, ग्रह शान्ति ब्रतवन्ध, बिवाह, ब्रतसाङेता, सन्ध्या महाआरती, लाखवत्ति, पितृको फोटो, कलश, मुलकर्ता भुमिदान र तुलादन समेतको ब्यबस्था छ ।
स्थानीय कलाकार, वासुरीवादक दिनेश पुनले महायज्ञमा आफु सहित अन्य राष्ट्रिय स्तरका कलाकारहरुद्वारा बिभिन्न आकर्षक भजनकृतन, पशुपति, देबघाट तथा बनरासमा देखिने निकै आकर्षक माहाआरति साथै देबलिला झाँकी र सन्देश मुलक नाटक हरु समेत प्रस्तुत गरिने बताउनुभयो ।
देवी भगवती मन्दिर संरक्षण समितिकी अध्यक्ष शुशिला तिलिजाले २०३५ सालमा हर्क वहादुर अधिकारीको सक्रियतामा स्थापना गरिएको देवी भगवती मन्दिरमा पूजाआजा गर्नाले मनोकांक्षा पुरा हुने जनविश्वास रहेकाले प्रत्यक वर्षको चैतेदशै पर्वमा मन्दिरमा विशेष पुजाआजा गरिदै आएको बताउनुभयो । महायज्ञको बैशाख ८ गते कलशयात्रा सहित भव्य रुपमा उद्घाटन गरिने भएको छ ।