
भकिम्ली, ः म्याग्दीको बेनी नगरपालिका–३ र बागलुङको काठेखोला गाउँपालिका–३ को सिमानामा रहेको नव वर्ष २०८१ को अवसरमा शनिबार बेलढुङ्गा–स्वर्गाश्रम पर्यटन उत्सव सम्पन्न भएको छ ।
हिमाल र सुर्योदयको दृष्यअवलोकनका लागि सम्भावना युक्त गन्तब्यको रुपमा रहेको बेलढुङ्गा–स्वर्गाश्रम क्षेत्रको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले ३ दिनसम्म उत्सव सञ्चालन गरिएको हो ।
बागलुङ धम्जाको बेलढुङ्गा सामुदायिक होमस्टे र म्याग्दी भकिम्लीको स्वर्गाश्रम व्यवस्थापन समितिको संयुक्त आयोजनामा भएको उत्सवमा मौलिक यानीमाया र सोरठी गित, म्याराथुन दौड र आमा समूह स्तरीय नृत्य प्रतियोगिताको साथमा कलाकारहरुले गित र नृत्य प्रस्तुत गरेका थिए ।

संस्कृतिको संरक्षण र प्रकृतिको प्रर्वद्धन मार्फत पर्यटक भित्र्याएर ग्रामिण अर्थतन्त्र र जिविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले उत्सव आयोजना गरिएको कार्यक्रम संयोजक गोपाल श्रीस मगरले बताउनुभयो ।

“समुन्द्रि सतहदेखि २ हजार ६०० मिटरको उचाईमा वरपर गुराँसे पहाडको टुप्पोमा रहेको बेलढुङ्गा यस क्षेत्रको आकर्षक भ्यु पोइन्ट हो,” उहाँले भन्नुभयो “संस्कृतिको संरक्षण र प्रकृतिको प्रर्वद्धन मार्फत पर्यटन विकास गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको हो ।“
उत्सवको अवसरमा दारेडौडा कान्छोधौलागिरी देखि बेलढुङ्गा सम्मको ४ किलोमिटर २०० मिटर दुरिमा भएको म्यारथुन प्रतियोगिताको उपाधी बेनीका बिराज परियारले जित्नुभएको छ । १४ मिनेट २ सेकेण्डमा दुरि पार गरेका परियारले नगद रु. १५ हजार सहित प्रमाणपत्र, मेडल र ट्रफी हात पार्नुभयो ।
१४ मिनेट १२ सेकेण्डमा दुरि पार गरेका ताराखोलाका भिम रोका दृतीय र १६ मिनेट लगाएका भकिम्लीका अनिल पुन तृतीय हुदै नगद रु. १० हजार र रु. ५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको उत्सव आयोजक समितिका सचिव गिरु श्रीसले जानकारी दिनुभयो । म्याराथुन प्रतियोगितामा ८ जनाले सहभागिता जनाएका थिए ।
यानीमाया गित प्रतियोगितामा सहभागी मुुसुङ र ताराखोला, सोरठी गितमा सहभागी भकिम्लीका ३ वटा समूहलाई नगद रु. ५÷५ हजार प्रदान गरिएको छ । ७ समूह सहभागी आमा समूह नृत्य प्रतियोगितामा बेनी नगरपालिका–४ को तातोपानी प्रथम, ताराखोलाको खालडाडा दृतीय र बेनपा–३ भकिम्लीको सिमखोला आमा समूह तृतीय हुदै क्रमश ः नगद रु. १५ हजार, १० हजार र ५ हजार प्राप्त गरेका छन् ।


प्रतियोगितामा बिजयीहरुलाई जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, बेनपा–३ का वडा अध्यक्ष पदम पुन र काठेखोला–३ का वडा अध्यक्ष कुलबहादुर बिकले पुरस्कार वितरण गर्नुभएको थियो । जिसस प्रमुख थापाले दुवै जिल्लाका सरोकारवालाहरुले सहकार्य गरेर बेलढुङ्गाको पर्यटन विकास गर्नुपर्ने बताउनुभयो ।
नव वर्षको दिन भकिम्ली, बरंजा, ताराखोला, भिमापोखरा, धम्जा, बेनीबाट ३० हजार जना भन्दा बढी पर्यटक बेलढुङ्गा पुगेका बेनी नगरपालिका–३ का वडा अध्यक्ष पदम पुनले बताउनुभयो । गुराँसको जंगल र बेलढुङ्गाबाट दृष्य अवलोकन गर्ने आन्तरिक पर्यटकहरुको दिनभर घुइचो लागेको थियो ।
नयाँ वर्षको अवसरमा स्वर्गाश्रमबाट बेलढुङ्गासम्म कलश यात्रा पनि गरिएको बेनपा–३ का वडा सदस्य रत्न जिसीले जानकारी दिनुभयो । स्थानीय बासिन्दाहरुले कलश बोकेर स्वर्गाश्रम देखि बेलढुङ्गासम्म यात्रा गरेका थिए ।
समुद्री सतहबाट दुई हजार छ सय मिटरको उचाइमा रहेको बेलढुङ्गालाई पर्यटकीय गन्तव्य बनाउन गण्डकी प्रदेश, बेनी नगरपालिका र काठेखोला गाउँपालिकाले बर्सेनि लगानी गर्दै आएको छ । उच्च पहाडी क्षेत्रमा रहेको हुँदा यहाँबाट धवलागिरिसहित दर्जनौँ हिमशृङ्खला आँखै अगाडि देख्न सकिन्छ ।

सूर्योदय हेर्नका लागि पनि पर्यटक बेलढुङ्गा पुग्ने गरेका हुन् । बेलढुङ्गा नजिकै खाना बस्न र स्थानीय कला–संस्कृतिसँग रम्न सामुदायिक घरबास (होमस्टे) रहेको हुँदा विदेशी पर्यटक पनि समय–समयमा यहाँ आउने गरेको पाइन्छ । बागलुङ र म्याग्दी दुवैतर्फबाट गाडी तथा पैदलयात्रामार्फत यहाँ पुग्न सकिन्छ ।
केही वर्षअघिसम्म सुनसान रहेको बेलढुङ्गामा दैनिक पर्यटक आगमन हुन थालेको छ । अधिकांश पर्यटक दिउँसो आएर साँझ फर्कने गरेका छन् । आधा दशक अगाडिसम्म सुनसानजस्तै रहेको बेलढुङ्गा केही वर्षयता पर्यटकको चहलपहल बढेको छ ।
देउराली डाँडाबाट बेलढुङ्गासम्म जोड्ने दुई सय ६० मिटर पदमार्गमा स्लेटढुङ्गा बिच्छ्याएको र बागलुङ नगरपालिका–६ पञ्चकोटतर्फ दुई सय ५० मिटर साइकल ल्याण्ड बनाएको भन्दै यस वर्ष ‘भ्यू प्वाइन्ट’ व्यवस्थापन गर्न थालिएको धम्जाका वडा अध्यक्ष कुलबहादुर बिकले बताउनुभयो ।
‘पहिलेको तुलनामा अहिले बेलढुङ्गाको स्वरुप नै फेरिएको छ, धेरै व्यवस्थित पनि बनेको छ, प्रचारप्रसार पनि उत्तिकै भएर होला पर्यटक आगमनमा निकै उत्साह देखिएको छ, यस्तो ठाउँमा यसरी पर्यटकको ओइरो लाग्ला भन्ने हामीहरूले सोचेका थिएनौँ तर विकासले गति लिँदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या निकै बढेको छ, हामीलाई निकै उत्साहित बनाएको छ’, भकिम्लीका डेगबहादुर घर्तिले भन्नुभयो , ‘यहाँ अझै थप संरचना बनाउनुपर्ने छ, ती संरचना बने भने यस क्षेत्रको मुहार फेरिने अपेक्षा गरेका छौँ ।’
पछिल्लो समय बिदाको दिन विभिन्न सङ्घसंस्था तथा विद्यालयबाट विद्यार्थी घुम्न र उच्च पहाडी हावापानीसँग रम्नका लागि आउने गरेका छन् । बागलुङ बजारबाट गाडीमा साढे एक घण्टा र म्याग्दीको बेनीबाट एक घण्टामा बेल्ढुङ्गा पुग्न सकिन्छ । बेलढुङ्गा नजिकै म्याग्दीको भकिम्लेमा प्रसिद्ध धार्मिकस्थल स्वर्गाश्रम रहेको छ । यहाँ पूजाआजा गर्न आउने भक्तजन पनि बेलढुङ्गा चढ्न आउने गरेका छन् । दुई वर्ष अगाडिसम्म बेलढुङ्गामा जोखिम मोलेर चढ्नुपथ्र्यो भने अहिले पदमार्गमार्फत सहजरूपमा टुप्पोमा पुग्न सकिन्छ । ‘जल, जङ्गल, जमिन, हिमाल, पहाडलगायत अनगिन्ती दृश्य देखिने यो ठाउँ निकै उत्कृष्ट छ, यसलाई राज्यले ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्छ,’ म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले भन्नुभयो ‘यहाँ पर्यटक भित्र्याउनका लागि सरकारी निकाय र समुदायसँग समन्वय गर्छौ ।’
बेलढुङ्गाबाट देखिने दृश्यले आफूलाई मोहित बनाएको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव नारायण जिसीले बताउनुभयो । बेलढुङ्गा लगायत सहायक गन्तब्यको विकास गरि बेनीमा पर्यटकको बसाई लम्बाउन पहल गर्नुपर्ने जिसीको भनाई छ ।
