बेनी, । शसस्त्र दन्द्धको समयमा बि.स. २०६० चैत ७ गते म्याग्दीको बेनीमा भएको भिडन्तमा ज्यान गुमाएका सहिदहरुको स्मरणमा बुधबार दिप प्रज्वलन गरिएको छ ।
बेनी नगरपालिका कार्यालय परिसरमा राखिएको बेनी भिडन्तमा गोली लागेर प्वाल परेको विद्युतको पोल नजिकै सहिदका आफन्त, घाइते, जनप्रतिनिधि र संघ संस्थाका प्रतिनिधिहरुले दिप प्रज्वलन गर्नुभएको थियो ।
तत्कालीन राज्य र बिद्रोही पक्षको चैत ७ र ८ गते बेनीमा भएको भिडन्तका क्रममा दुवै पक्षका, सर्वसाधारण सहित करिब ९० जनाको निधन भएको तथ्याङ्क सार्वजनिक भएको थियो । सदरमुकाम बेनीका सरकारी कार्यालय र व्यक्तिका घर, भवन सहित भौतिक संरचनामा ठूलो क्षति भएको थियो ।
दन्द्धपिडित अधिकार समाज, एडभोकेसी फोरम लगायत संघ संस्थाहरुले बेनी भिडन्त भएको २० वर्ष पुगेको दिनको सम्झनामा दिप प्रज्वलन कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा सहभागीहरुले बेनी भिडन्त र दिवंगत आफन्तको स्मरण गर्नुभयो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विगतको दन्द्धलाई इतिहाँसमा रुपान्तरण गर्दै पिडितलाई परिपुरणका कार्यमा जोड दिनुपर्ने बताउनुभयो । नेकपाका म्याग्दी जिल्ला ईञ्चार्ज उषा घर्तिमगरले परिवर्तनको लागि योगदान गरेका सहिदका आफन्त र घाइतेका पक्षमा राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
सहिद परिवारले कहालीलाग्दो क्षणको पिडा व्यक्त गर्दा कार्यक्रममा सन्नता छाएको थियो । बेनी भिडन्त २० वर्ष पुगेको सम्झतामा दन्द्धपिडित अधिकार समाजको आयोजनामा बेनीमा बुधबार अन्र्तक्रिया कार्यक्रम पनि भएको समाजका अध्यक्ष भिमबहादुर रिजालले बताउनुभयो ।