बेनी, संघीय र प्रदेश सरकार मार्फत बजेट भित्र्याउन म्याग्दीका २७ वटा साझा आयोजना छनौट र प्राथमिकीकरण गरिएको छ ।
जिल्ला समन्वय समिति म्याग्दीको शुक्रबार सम्पन्न नवौ जिल्ला सभामा सहभागि राजनीतिक दल, तीनै तहका जनप्रतिनिधि र सरोकारवालाहरुले प्राथमिकिकरण भएका सडक, पर्यटन पूर्वाधार, खेलकुद, खानेपानी लगायत आयोजनालाई कार्यान्वयनका लागि गर्ने प्रतिवद्धता जनाएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले संघीय र गण्डकी प्रदेश सरकार मार्फत बजेट भित्र्याउन साझा योजनाहरु छनौट र प्राथमिकीकरण गरिएको जानकारी दिनुभयो ।
“जनप्रतिनिधि, राजनीतिक दल र सरोकारवालाहरुको छलफल पछि छनौट भएका योजनाहरुमा सबैको अपनत्व हुन्छ,” उहाँले भन्नुभयो “‘संघ र प्रदेशमा सरकार फेरबदल भइरहने अवस्थाका कारण जिल्लाको विकास निर्माणमा असर नपरोस भनेर साझा योजना छनौट र सामूहिक प्रतिवद्धता व्यक्त गरिएको हो ।”
रणनीतिक महत्वका एघार वटा सडक योजना, पर्यटन प्रवद्र्धनका नौ वटा, सडक पुलका ४ वटा, खानेपानीका २ वटा र खेलकुद क्षेत्रको विकासका लागि एक वटालाई साझा योजनाका रुपमा तय गरिएको जिल्ला समन्वय समितिका प्रमुख थापाले जानकारी दिनुभयो ।
बेनी–दरबाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक, बेनी–पाखापानी– ठाडाखानी– कुइनेमंगले सडक, महाभिर –दोसल्ले– रिम– राम्चे– नांगी सडक र दरबाङ– अधिभारा– डाँडागाउँ– लाममेला– बुर्तिबाङ सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न पहल गर्ने जिल्ला सभाले निर्णय समेत गरेको छ ।
यस्तै गलेश्वर– मौवाफाँट– दग्नाम– दर्मिजा– चिमखोला– घ्यासीखर्क सडक, बेनी–दरबाङ–मुना–लुलाङ–गुर्जा हुँदै डोल्पा जोड्ने सडक, बावियाचौर– पोक– गहते नेटा– अर्मन– किमचौर हुँदै बागलुङको ताराखोला जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राखिएको छ ।
यसैगरी पोखेर– पिङ्गे– आर्वाङ– भित्रीवन– झाक्रीपानी– किमचौर हुँदै ताराखोला जोड्ने सडक, पिप्ले–भगवती–बेग सडक र सिम– कोत्राबाङ– खुम्ल्याहा– पैयुपाटा–कुँहुँ– पूर्णगाउँ– टोड्के सडक र नाँगी– हिस्तान –घराम्दी –खिवाङ्– घोडेपानी– चित्रे –स्वात– पाउद्धार –नारच्याङ हुँदै मुस्ताङको घाँस जोड्ने बैकल्पिक सडकलाई प्राथमिकतामा राखेको जिससले जनाएको छ ।
बेनीको खुल्ला मञ्चलाई व्यवस्थित बनाउने, कालिगण्डकी बैंसरी सडक मोटरेबल पुल, मंगलाघाट– बगरफाँट मोटरेबल पुल, कालाबाङ मोटरेबल पुल र सिंगा–आखेबगर मोटरेबल पुल निर्माणलाई साझा प्रतिवद्धतामा उल्लेख गरिएको छ । भगवती–पिप्ले बृहत खानेपानी योजना र मंगलाको रणबाङ खानेपानी योजनालाई समाबेश गरिएको छ ।
बेनीमा निर्माणधिन रावणपार्क, अन्नपूर्ण आधार शिविरमा पूर्वाधार निर्माण, सोलेडाँडा पर्यटन पूर्वाधार निर्माण, धौलागिरी आइसफल पदमार्ग, धौलागिरी सेन्चुरी पदमार्ग, सिमलचौर–लामोछहरा– टोड्के–पर्यटन पूर्वाधार, गुरिल्ला पदमार्ग, बेनी शान्ति पार्क, म्याग्दी र कालीगण्डकी नदीमा बेदबार निर्माण गरेर तलाउ बनाउने योजना समाबेश गरिएको छ ।
प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले छनौट भएका योजनाका लागि बजेट भित्र्याउन प्राथमिकता दिने बताउनुभयो । राजनीतिक दल र जनप्रतिनिधिहरुको साझा प्रतिवद्धताले प्रदेश र संघ सरकारसँग बजेट माग गर्न सहज हुने गण्डकी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जालीले बताउनुभयो ।
प्रदेश सभा सदस्य विमला गौचनले जिल्लाको विकासका लागि गौरबका योजनाहरु छनौंट गरी सामूहिक प्रतिबद्धताले जिल्लाको विकासको खाका कोर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । दुईदिन सम्म संचालन भएको जिल्ला सभामा जिल्लास्थित संघ, प्रदेशका विषयगत कार्यालय र स्थानीय तहबाट सम्पादित एवं सञ्चालन भएका कार्यक्रम तथा योजनाहरुको समिक्षा गरिएको थियो ।
हिमाली जिल्ला पूर्ण कार्यान्वयनमा ल्याउन, निर्माणाधिन बेनी अस्पतालको ५० शैया भवन र बेनी–मालढुङ्गा लगायत सडक आयोजनालाई छिटो पूर्णता दिन दवाव दिने सभाले निर्णय गरेको छ । बेनी–जोमसोम–कोरला सडक स्तरोन्नितिको कामलाई पूर्णता दिएर कोरला नाका व्यवसायिक रुपमा नियमित सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई ध्यानाकर्षण गराएको छ ।
वातावरणीय हिसाबले प्रतिकुल हुने गरि रघुगंगा र कालीगण्डकी नदीलाई सुकाएर बेनी र आसपासको प्राकृतिक सौन्दर्यमा असर पुग्ने गरि प्रस्तावित बेनी कालीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न नहुने निर्णय गरेको सभामा सहभागिहरुले म्याग्दीका सबै शैक्षिक संस्थामा ‘जंक फुड’को प्रयोग र बिक्रिबितरणमा रोक लगाउने प्रतिवद्धता जनाएका छन् ।