म्याग्दी ः म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक पर्यटकीय स्थल गलेश्वरमा फुटपाथ सहितको सडक निर्माण भएको छ ।
गण्डकी प्रदेश सरकार र उपभोक्ताको लागत साझेदारीमा फुटपाथ (पदमार्ग) सहितको अपाङ्गमैत्री पक्कि सडक निर्माण भएको हो । सडक र पैदलमार्ग निर्माण भएपछि स्थानीयबासीका साथै गलेश्वरमा आउने भक्तजनहरुलाई कालीगण्डकी नदीमा पुगेर स्नान गर्न सहज भएको छ ।
गलेश्वर मन्दिर देखि कालीगण्डकी नदी जाने बाटो निर्माण समितिका अध्यक्ष बमबहादुर पुनले ५ मिटर चौडाई भएको १२५ मिटर लामो सडक ढलान गरेको जानकारी दिनुभयो । “सडकको डिलतर्फ रेलिङ र स्लेट ढुङ्गा बिछ्याएर पैदलमार्ग बनाइएको छ,” उहाँले भन्नुभयो “साँघुरो र उकालो ग्रेड नमिलेको सडकलाई भित्ता काट्ने, पर्खाल बनाएर फराकिलो र ग्रेड मिलाइएको छ ।”
सडक बनेपछि गलेश्वरको खेलमैदान र सभाहलसम्म सवारी साधन लैजान सकिने भएको छ ।
गलेश्वर मन्दिर देखि राममन्दिर जोड्ने झोलुङ्ग पुल नजिकै सडक पुगेको हो । झोलुङ्गे पुल देखि कालीगण्डकी नदीको किनार सम्म पुग्ने करिब ७० मिटर ढलान गरेको पैदलमार्ग गलेश्वर जेष्ठ नागरिक आश्रममा बस्ने हिदीका बमबहादुर शेरपुञ्जाले व्यक्तिगत लगानीमा बनाउनु भएको छ ।
रु. ४२ लाख ६७ हजार २३९ को लागतमा सडक र पदमार्ग निर्माण भएको उपभोक्ता समितिका समितिका सचिव राम बहादुर बानियाले बताउनुभयो । “सो योजनाका लागि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट रु. ४० लाख बजेट बिनियोजन भएको थियो,” उहाँले भन्नुभयो “उपभोक्ताको तर्फबाट रु. ४ लाख २७ हजार २३९ बराबरको लागत साझेदारी भएको छ ।”
वि.स. २०८१ ज्ेठ २५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य सहित गत पुष २५ गते सम्झौता भएको थियो । उपभोक्ता समितिको सक्रीयताका कारण लक्ष्य भन्दा ३ महिना अघिनै योजना निर्माण सकिएको पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख बिष्णु पौडेलले बताउनुभयो ।
कालीगण्डकी नदीको किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथी अवस्थित गलेश्वर मन्दिर मुक्तिनाथ प्रवेशद्धारको रुपमा परिचित छ । साउन महिनाको सोमबार, बालाचर्तुदर्शी र शिवरात्री पर्वमा बिशेष मेला लाग्ने गलेश्वरमा दैनिक पुजा र दर्शन गर्न सकिन्छ । गलेश्वरमा पुजाआजा र दर्शन गर्नाले मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ ।