बेनी ः अठार महिनादेखि रोकिएको म्याग्दीको बेनी नगरपालिका–५ पछैको रावण पार्क निर्माण योजना अझै शुरु भएको छैन् ।
साझेदारी गरेको निकायमा बेनी नगरपालिकाले नियमित प्रतिवेदन बुझाउन नसक्दा बजेट व्यवस्थापन हुन नसकेको योजनाका निर्माण व्यवसायी पनि पन्छिन खोजेपछि अलपत्र बनेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्र्तगत रावण मुर्तिसहित पार्क निर्माण गर्न वि.स. २०७७ फागुनमा काठमाडौं कलंकीको धर्म एस कास्यप जेभीसँग रु. १ करोड ७६ लाख ७७ हजार ५ सय ६३ मा ठेक्का भएको थियो ।
सम्झौताको सर्त अनुसार वि.स. २०७९ फागुनमा निर्माण सकिनुपर्ने पार्कको हालसम्मको भौतिक प्रगति २५ प्रतिशत रहेको नगरपालिकाले जनाएको छ । पछै स्थित पुलाश्रम मन्दिरका पुजारी जगदिश सुवेदीले वि.स. २०७८ असार देखि यता रावण पार्क निर्माणको काम नभएको बताउनुभयो ।
“हिन्दु धर्मग्रन्थ रामायणका पात्र पुलह, पुलत्य ऋषीको तपोभूमिमा पार्क निर्माण शुरु हुँदा खुसी लागेको थियो,” उहाँले भन्नुभयो “पार्क निर्माणमा भएको ढिलाइले यो ठाउँ ओझेलमा परेको छ । निराश भएका छौ ।” पुजारी सुवेदीका अनुसार पुलह, पुलत्स्य ऋषिले तपस्या गरेको पछैमा रावण जन्मिएको र उनको नावी गाडेको ठाउँमा राखिएको शिला अझै सुरक्षित छ ।
पर्यटन मन्त्रालयको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा पार्क निर्माण शुरु भएको थियो । बेनी नगरपालिकाका प्राविधिकले गतवर्ष प्रगति विवरण नबुझाएकोले मन्त्रालयले भुक्तानी रोकेपछि पार्क निर्माण प्रभावित भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।
“हाम्रा प्राविधिकको लापरबाहीले मन्त्रालयले बजेट नदिएपछि रोखिएको रावण पार्क निर्माणका लागि चालु आर्थिक वर्षमा लयमा फर्काउन लागेका छौं,” उहाँले भन्नुभयो “मन्त्रालयले हालै रु. १५ लाख बजेट पठाएकाले नगरपालिकाको दायित्वसमेत थप गरी यो आवमा पार्क पूरा गर्न पहल थालेका छौ ।”
रावणको मुर्ती बनाउन प्रयोग हुने धातुको दररेट कम कबोलेका निर्माण व्यवसायीले ठेक्का तोड्न चाहेपनि उसको धरौती जफत गर्ने र कालोसूचिमा राख्ने प्रक्रीया अघि बढाएपछि आगामी चैत १९ गते मुर्ति ल्याएर आउने प्रतिवद्धता जनाएका नगर प्रमुख केसीले बताउनुभयो ।
१४ रोपनी क्षेत्रफलमा फैलिएको पुलाह आश्रम क्षेत्रमध्ये ४ रोपनीमा पार्क बनाउन लागिएको हो । आश्रममा रहेका ऋषिमूनि मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडिएको भनिने स्थानलाई यथावत संरक्षण गरी ६ मिटर अग्लो रावणको मुर्तिसहित बगैंचा, विश्रामस्थल, घेरबार र जमिन संरक्षणलगायतका पूर्वाधार निर्माण गर्ने योजना छ । घेराबारका लागि पर्खाल निर्माण पनि भइसककेको छ ।
पार्क निर्माणले पर्यटन प्रबर्द्धन हुने स्थानीयले आशा गरेका छन् । निर्माण कम्पनीका प्रतिनिधीले काठमाडौमा रावणको मुर्ति निर्माण गरिसकेको बताएका छन् । रावण पार्क निर्माण स्थल पछैबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण हिमश्रृखला, सूर्योदयको मनोरम दृश्यका साथै म्याग्दी र कालीगण्डकी नदी दोभानमा अवस्थित बेनीसहित जिल्लाका अधिकांश भूगोलको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ पुलह, कपिल र जडभरत ऋषिले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता छ ।
रामायणका मुख्य पात्रमध्येका एक रावणलाई राक्षस भनी घृणा गर्ने र रामलाई देवता मानी पुज्ने समाजमा रावण पार्क निर्माण थालिएपछि स्थानीयले भने पर्यटन प्रर्वद्धनभै पुलाश्रमको महत्व झन् बढ्ने ठानेका छन् ।
म्याग्दी उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष प्रमोद श्रेष्ठको अगुवाईमा ०६६ सालमा बनेको रावण पार्कको अवधारणालाई बेनी नगरपालिकाले गुरुयोजना तयार गरी कार्यान्वयन गरेको हो । बेनीदेखि पश्चिम उत्तरमा करिब १५ सय मिटर उचाइमा अवस्थित तपोभूमि पुलह आश्रममा रहेको होमकुण्डमा प्राचीन चरुको अवशेष (खरानी रंगको चिम्टाइलो माटो) अझै पनि देख्न सकिन्छ ।
पुलस्त्य ऋषिको वास्तविक आश्रमको स्वरुप कस्तो थियो किटानसाथ भन्न सकिने आधार छैन तर वर्षौंदेखि पुलाश्रममा पुलस्त्य ऋषिहरुको ढुङ्गाका आकृति कोरी पूजा गर्ने गरिएको छ । पुलाश्रम मन्दिरमा देवी–देवताको नभै ऋषिहरुको पूजाअर्चना गरिन्छ ।
धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराण, रामायण र महाभारतमा वर्णन गरिएको पुलहाश्रम क्षेत्र म्याग्दी जिल्लामा पर्छ । श्रीमद्भागवत महापुराणको सप्तम स्कन्दको अध्याय १४ को दण्डकका अनुसार पुलस्त्य पुलहाश्रम क्षेत्र विश्वका अति पवित्र १५ तीर्थस्थलमध्ये एक मानिन्छ ।
पुराण प्रसिद्ध ३ ऋषिहरू पुलह, पुलस्त्य र विश्रवा म्याग्दी पुलाको पछैमा अध्ययन र चिन्तनमनन गर्दै बसेको पुराणहरूमा उल्लेख छ । पुराणका अनुसार यही क्षेत्रमा रामायणमा खल पात्रको रुपमा वर्णन गरिएका लंकाका राजा रावणको जन्म भएको थियो ।
सत्ययुगमा पुलह र पौलस्त्य ऋषिले यहाँ तपस्या गरेर हवन (यज्ञ) गर्न लाग्दा पानी पर्न थालेको उल्लेख पाइन्छ। ऋषिद्वयले इन्द्रसँग प्रार्थना गरेर यज्ञ सम्पन्न भएपछि मात्र वर्षा गराउन आग्रह गरेपछि धेरै समयपछि मात्र पानी परेको श्रीमद्भागवत महापुराणमा उल्लेख भएको पुलह, पुलस्त्य मन्दिरका पुजारी जगदीश सुवेदीले बताउनुभयो । उहाँका अनुसार ओढारभित्र यज्ञका अवशेष चरु भेटिनुले पनि यो ठाउँको महत्व उजागर गरेको छ ।