लामाखेत, । पर्वतको जलजला गाउँपालिकाका महिलाहरुले गित मार्फत कागजको अधिकार व्यवहारमा उपभोग गर्नुपर्ने माग गरेका छन् ।
११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा जलजला गाउँपालिकाले आयोजना गरेको पालिका स्तरीय लोकगित प्रतियोगितामा सहभागि महिला कलाकारहरुले संविधान र कानुनमा भएको महिलाको अधिकार व्यवहारमा उपभोग गर्न नपाएको गुनासो पोखे । उनिहरुले अधिकारको उपभोगका लागि सबै महिला एकजुट भएर अग्रसर बन्न अपिल पनि गरेका छन् ।
प्रतियोगितामा जलजला– ५ लेखफांटको समूह प्रथम भएको छ । त्यसैगरी द्वितीय जलजला–४, भवानीपानी समुह, तृतीय भर्तिमल आमा समूह लामखेत र सान्त्वना जलजला –६ भोटेडाँडाको समूह भएका छन् । ५ समूह सहभागी भएको प्रतियोगितामा सबै समुहलाई प्रोत्साहन स्वरूप पुरस्कार उपलब्ध गराइएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र स्वान्तना हुनेले क्रमश १५ हजार, १२ हजार, ८ हजार र ५ हजार नगद पुरस्कार र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यसैगरी प्रतियोगितात्मक घैटो फुटाउने (अन्धनिसान) प्रतियोगितामा सबैभन्दा नजिक निसाना लगाउने जलजला –५ कि प्रभा रेग्मीले नगद ३ हजार र प्रमाण पत्र प्राप्त गर्नुभएको छ ।
“महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी” भन्ने नाराका साथ मनाइएको दिवसको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले उद्घाटन गर्नुभएको थियो । अध्यक्ष आचार्यले पालिकाले तयार पारेको पञ्च वर्षीय योजनामा महिला र बालबालिकालाइ केन्द्रमा राखेर योजना बनाइएको र महिला तथा बालबालिकाको अवस्थालाई सुधारगर्न पालिकाले प्राथमिकता दिएको बताउनुभयो । उहाँले अव चुलो चौकोका कुरा भन्दा पनि माथि उठेर आर्थिक सम्बृद्धि र स्वावलम्बी बन्नु पर्नेमा जोड दिनुभयो ।
प्रतियोगिताका बिजेताहरुलाई गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य, वडा नं १ का सदस्य बिमला बरुवाल क्षेत्री, माया भुससल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा नेपाल महिला संघ जलजलाका सभापती माया कुमारी शर्मा रिजाल, वडा नं ३ का अध्यक्ष एकिन्द्र खत्री, वडा नं ७ का अध्यक्ष टुंगानाथ आचार्य, कार्यपालिका सदस्य भीमसेन बहादुर बराइली, सामाजिक अभियन्ता जमुना आचार्य लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
जलजला गाउँपालिकामा कार्यरत कर्मचारीहरुले अप्रतियोगी गीत प्रस्तुत गर्नु भएको थियो । प्रतियोगितात्मक कार्यक्रम संगै विभिन्न अप्रतियोगी नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम जनप्रतिनिधि, कर्मचारी, आमासमुह को सहभागितामा विभिन्न नारा लेखिएका प्ले कार्ड सहित लामखेत बजार परिक्रमा गरेको थियो ।
कार्यक्रम जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यको अध्यक्षता, जिल्ला समन्वय समितिका सदस्य केशु कुमारी सुबेदीको स्वागत र गाउँपालिका सहायक महिला विकास निरीक्षक बिन्दु शर्माको संचालनमा सम्पन्न भएको थियो ।