प्रवासीको सहयोगमा भलिबल अक्षयकोष

Gandaki Ghumau

सन्तोष गौतम
बेनी । प्रवासीको सहयोगमा म्याग्दीमा ४६ लाख रुपैयाँको ‘भलिबल अक्षयकोष’ स्थापना भएको छ ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) युके (बेलायत) को सहयोगमा जिल्ला भलिबल संघले अक्षयकोष स्थापना गरेको हो । मोना युकेका अध्यक्ष कुमार फगामीले मंगलबार बेनीमा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर) मार्फत संघका अध्यक्ष तेजेन्द्र बानियालाई अक्षयकोषको रकम हस्तान्तरण गर्नुभयो ।

यसैगरी मोना कुवेतका प्रतिनिधि चन्द्र गोतामेले संस्थाको तर्फबाट ५० हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो । संस्थागत रुपमा ५ लाख रुपैयाँ सहयोग गरेको मोना युकेले ८३ जना दाताहरु मार्फत थप ३८ लाख ६१ हजार ३९९ जुटाएर सहयोग गरेको अध्यक्ष फगामीले बताउनुभयो ।

Shreekrishna

कोषका लागि भलिबल संघका पदाधीकारी र सदस्यहरुले १ लाख २० हजार, मोना अन्तराष्ट्रियका अध्यक्ष दधीवल खड्काले १ लाख रुपैयाँ, युएईबाट प्रकाश कार्कीले २० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । कोषको रकम वृद्धि गरेर एक करोड रुपैयाँको बनाउने लक्ष्य रहेको अध्यक्ष बानियाले बताउनुभयो ।

गत असारमा म्याग्दी भलिबल क्लव युकेको निमन्त्रणामा बेलायत पुगेका अध्यक्ष बानियाको प्रस्ताव अनुसार मोना बेलायतले अगुवाई गरेर सहयोग जुटाएको हो । राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखामा राखिएको कोषको ब्याजबाट म्याग्दी भलिबल कप संचालन, भलिबल प्रशिक्षण, खेलाडी सहभागिता र कार्यालय सञ्चालनमा परिचालन गरिने अध्यक्ष बानियाले बताउनुभयो ।

Gunasthariya Shiksya

भलिबल खेल क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान, आर्थिक अवस्था कमजोर भएका म्याग्दीका भलिबल खेलाडी, प्रशिक्षक, रेफ्रीहरुलाई विपद्को अवस्थामा कोषको रकम खर्च गरिने भएको छ । प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले भलिबल खेललाई चलायमान बनाउन कोषले सहज हुने बताउनुभयो ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत पुन, म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, नेपाल भलिबल संघका राष्ट्रिय उपाध्यक्ष याम गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, महिला राष्ट्रिय भलिबलकी कप्तान अरुणा शाही, पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले अक्षयकोषले म्याग्दी भलिबलका लागि स्वर्णीम अवसर सृजना गर्ने बताउनुभयो ।

मोना यूकेका अध्यक्ष कुमार फगामीले जिल्लास्तरमा भलिबलका राम्रा क्षमतावान खेलाडीलाई छनोट गरेर राष्ट्रिय टिमका लागि तयार गर्न सघाउने गरी कोषमा सहयोग गरेको बताउनुभयो । कार्यक्रममा अक्षयकोषका लागि सहयोग गरेका दाता तथा संस्थाहरुलाई सम्मान गरिएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष बानियाँ, स्वागत सचिव कुमार किसान र सञ्चालन सञ्चारकर्मी अमित विश्वकर्माले गर्नुभएको थियो । कार्यक्रममा पविता पुन, धु्रव जिसी लगायतका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीको नेतृत्वमा प्रतिष्ठान म्याग्दीले मोना युकेका अध्यक्ष कुमार फगामीलाई सम्मान गर्नुका साथै मादल मायाको चिनो स्वरुप उपहार दिएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...