साधन घर्ति
ओखरबोट, १४ फागुन । चौरासी वर्ष पुरा भएको खुसीयालीमा एक दम्पत्ती र उहाँका परिवारले म्याग्दीको मालिका गाउँपालिका–४ को ओखरबोट माविलाई सोमबार रु. २ लाख सहयोग गर्नुभएको छ ।
मालिका गाउँपालिका–४ छाप्सीबाङ घर भई हाल पोखरा निवासी दलबहादुर घर्ती मगर पुन र उहाँकी श्रीमती भानुदेबी तथा परिवारका सदस्यहरुले चौरासी पुजाको अवसरमा यसअघि आइतबार च्युरीबोटको सिद्धार्थ माविमा रु. छ लाख दश हजार सहयोग गर्नुभएको थियो ।
दलबहादुर र परिवारका सदस्यहरुले ओखरबोट माविमा आयोजित कार्यक्रममा वडा सदस्य भिमसरा पुनको उपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक पुन, प्रअ नविन कार्की लगायतलाई सामुहिक रुपमा हस्तान्तरण गर्नुभयो ।
विद्यालयका प्रअ कार्कीका अनुसार, विद्यालयमा अक्षयकोष स्थापनाका लागि दलबहादुर दम्पती परिवारले रु. १ लाख, हाल अष्ट्रेलियामा रहनुभएका माइला छोराबुहारी राजेन्द्र घर्ती मगर पुन र सानु आले मगरले रु. पचास हजार ५१ र कान्छा छोराबुहारी धाजेन्द्र घर्ती मगर पुन र ज्ञानु घर्ती मगर पुनले रु. पचास हजार ५१ गरी दुई लाख एक सय ५३ रुपैयाँ सहयोग गर्नुभएको हो ।
बेलायती सेनाबाट अवकाश प्राप्त पुर्व गोर्खा सैनिक दलबहादुरले विद्यालयको भौतिक र शैक्षिक विकास सँगै गरिब, दलित र जेहेन्दार विद्यार्थीको अध्ययनमा सहयोग पु¥याउने उद्धेश्यले आर्थिक सहयोग गरेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिमा आवद्ध रहेर यसअघि लामो समयसम्म काम गरिसक्नुभएको छ ।
पहिले विद्यालयमा आर्थिक समस्या हुँदा आफुहरुले विद्यालय सञ्चालनको लागि ठुलो संघर्ष गर्नुपरेको अनुभव सुनाउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक र भौतिक विकासका लागि राज्य सँगै समुदायको समेत जिम्मेवारी रहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुनले चौरासी पुजाको अवसरमा दलबहादुर दम्पतीले शैक्षिक क्षेत्रमा आर्थिक सहयोग गरेर उदाहरणीय, पुण्य र प्रेरणादायी काम गरेको भन्दै धन्यवाद दिनुभयो । उहाँले आर्थिक सहयोग रकमको अक्षयकोष स्थापना गरेर उक्त अक्षयकोषको ब्याजबाट विद्यार्थीलाई छात्रवृत्ती, शैक्षिक सामग्री सहयोग र विद्यालयको विभिन्न कार्यक्रममा खर्च गरिने जानकारी गराउनुभयो ।
विद्यालयको पुरानो भवन जिर्ण भएकोले नयाँ भवन निर्माणमा सहयोग गर्न अपिल समेत गर्नुभयो । वि.सं.२००८ सालमा स्थापित विद्यालयमा कक्षा दश सम्म पढाई हुँदै आएको छ । २१६ जना विद्यार्थी अध्ययनरत छन् । प्रअ कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षक नविन पुनले स्वागत मन्तव्य राख्नुभएको थियो । यसैगरी विद्यालयका सल्लाहकार हिराबहादुर पुनले बोल्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । विद्यालयले सहयोगदाता दलबहादुर दम्पती परिवारलाई सम्मान समेत गरेको थियो ।