पञ्चकोट, बागलुङ नगरपालिका–६ स्थित पञ्चकोटमा फागुन ९ गतेदेखि शुरु हुने ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ को तयारी पुरा भएको छ । १५ दिनसम्म विश्वकै ठुलो र फरक किसिमको महायज्ञ पहिलो पटक हुन लागेको आयोजकले दावी गरेका छन् ।
महायज्ञ मुल आयोजक समितिले सोमबार पत्रकार सम्मेलन गरि तयारी पुरा भएको जानकारी दिएका हुन् । महायज्ञ स्थलमा पूर्वाधार निर्माण, प्रचारप्रसार र व्यवस्थापकीय लगायतका सबै तयारी पुरा भएको हो ।
महायज्ञबाट सङ्कलन भएको रकमबाट पञ्चकोटमा विश्वशान्ति कलश लगाएत थालिएका धार्मिक संरचना निर्माणलाई पूर्णता दिइने पञ्चकोटका परिकल्पनाकार मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यले बताए ।
उनका अनुसार पञ्चकोट धाम स्थापनाको १० औँ वार्षिकोत्सव पारेर १५ दिन सञ्चालन हुने महायज्ञबाट वैदिक परम्पराको प्रर्वद्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि, सनातन संस्कृतिको संरक्षणका साथै नेपालको धार्मिक पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
‘प्रसिद्ध मुक्ति क्षेत्र भएर बग्ने कालीगण्डकी नदी र शालिग्रामको महिमालाई विश्वस्तरमा पु¥याउन, गोवंशको संरक्षणार्थ वैदिक सनातन हिन्दु समाजलाई प्रेरित गर्न, नेपालको जल सम्पदाको संरक्षण गर्न र वैदिक सनातन हिन्दु धर्मको रक्षा गरी नैतिक, समुन्नत र सच्चरित्रवान् नेपाली समाजको पुनर्जागरण गर्न नेपालमै पहिलो पटक ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको हो,’ उनले भने ‘विश्वब्यापी रुपमा जल सम्पदा संरक्षणको सन्देश दिनु पनि महायज्ञको अर्को प्रमुख उद्देश्य हो ।’
क्मलनयनाचार्यका अनुसार विभिन्न तत्त्वबाट एक ब्रह्माण्डको निर्माण हुन्छ र ईश्वरको सङ्कल्पले मात्र पृथ्वीजस्ता अनन्तकोटी ब्रह्माण्डको सृष्टि हुन्छ । हरेक तत्वका अधिष्ठाता यस ब्रह्माण्डका सबै देवीदेवतालाई कलशमा आह्वान गरी पूजन र यजन गरिने भएकाले यो अनन्तश्री ब्रह्माण्डीय महायज्ञ भनिएको उनी बताउँछन् ।
हरेक दिन फरक फरक कार्यक्रम
सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का महासचिव माधवप्रसाद उपाध्यायले धार्मिक प्रवचन, पुजाआजाका साथै हरेक दिन फरकपरक विधाका व्यक्ति उपस्थित भई विभिन्न शीर्षकमा गण्डकी क्षेत्र स्तरीय र राष्ट्रिय बहस पनि गरिने बताए ।
‘वातावरण विद्, न्यायकर्मी, व्यवसायी, बैङ्कर, जलविज्ञ, साहित्य, शिक्षक, सांस्कृतिक, महिला अगुवाहरुको राष्ट्रिय सम्मेलन हुन्छ,’ ‘फागुन १० गते राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी हुने महायज्ञमा विभिन्न दलका नेता, मन्त्री, सांसदहरुलाई पनि निमन्त्रणा गरिएको छ ।’ सात वटै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक पनि पञ्चकोटमा हुने उपाध्यायले बताए ।
महायज्ञका कार्यक्रमहरु
महायज्ञको फागुन ९ गते ९ वर्षका १०८ कन्याहरूबाट उद्घाटन हुनेछ् । फागुन ९ गने जल, उर्जा, विकास तथा वातावरण सम्मेलन हुनेछ। फागुन १० गते राष्ट्रिय राजनीति एवं कर्मचारी सहितको उपस्थितिमा पञ्चकोटको महत्वबारे प्रकाश पारिनेछ ।
फागुन ११ गते राष्ट्रिय शिक्षा प्रणालीको कार्यान्वयन सम्मेलन, फागुन १२ गते गण्डकी विकासको अवधारणा र कार्यान्वयन सम्मेलन, फागुन १३ गते प्रादेशिक राजनीति र सुशासन सम्मेलन हुनेछ। फागुन १४ गते राष्ट्रिय सुरक्षा प्रणाली, न्यायिक पद्धति कार्यान्वयन सम्मेलन, फागुन १५ गते आत्मनिर्भरमुखी राष्ट्रिय कृषि सम्मेलन, फागुन १६ गते योग तथा खेल सम्मेलन, फागुन १७ गते पूर्वीय चिकित्सा पद्धति र जनस्वास्थ्य विकास सम्मेलन हुने भएको मुल संयोजक कमलनयनाचार्यले बताए।
यस्तै फागुन १८ गते राष्ट्रिय अर्थतन्त्रको विकास र वित्तीय संस्थाको योगदान, फागुन १९ गते समावेशीताको सिद्धान्त र महिलाको क्षमता विकास सम्मेलन, फागुन २० गते भाषा, साहित्य र संस्कृति संरक्षण सम्मेलन हुने छ। फागुन २१ गते समाजसेवा र समाजसेवीको प्रभावकारिता सम्मेलन, फागुन २२ गते प्राकृतिक श्रोत संरक्षण र वातावरण सम्मेलन तथा फागुन २३ गते वैदिक सनातन तथा बौद्ध धर्म र धार्मिक स्थलको संरक्षण सम्बन्धी सम्मेलन समेत हुने भएको संयोजक कमलनयनाचार्यले बताए ।
२५ फिट मौलो धानले पुरिने
महायज्ञमा २५ फिटको मौलो बनाई विधिपूर्वक पूजन गरी प्रतिस्थापन गरिने र त्यसलाई २१ हजार ५५५ जना भक्तजनले धानले पुर्ने कार्यक्रम छ । मौलो पुर्नका लागि आवश्यक पर्ने २१ हजार पाँच सय ५५ क्विन्टल धान महायज्ञ स्थलमा ल्याइसकिएको छ । धानका अतिरिक्त यहाँ तिल, जौ, गहुँ, मकै, चनालगायतका विभिन्न नौ प्रकारका अन्नको पनि पर्वत बनाइने महायज्ञ मुल आयोजक समितिका महासचिव जगन्नाथ आचार्यले बताए ।
एक लाख २५ हजार नरिवलका दानामा ५४ प्रकारका जडिवुटी राखेर हवन गर्ने कार्यक्रम रहेको छ । यज्ञमा हरेक सहभागीले आफैँले सुख्खा नरिवल लिएर जानेछन् र सो नरिवलमा काजु, किसमिस, केशर, बदामसहितका सर्वौषधि र पञ्चगब्य गरी ५४ प्रकारका हवनीय द्रव्य राखिदिने व्यवस्था मिलाइएको छ । सो नरिवललाई काली गण्डकीको जलले धोएर यी द्रव्य भर्ने व्यवस्था महायज्ञ आयोजक समितिले मिलाएको छ । यस्तो नरिवल हवन गर्दा मनोकाङ्क्क्षा पूरा हुने जनविश्वास रहेको आचार्यले बताए ।
हरेक दिन १५ हजार जनाले महायज्ञको दर्शन गर्ने र तीन लाख भक्तजन सहभागी हुने अनुमान गरिएको छ । बाग्लुङ, म्याग्दी र पर्वतका सामाजिक, धार्मिक संघ संस्थाहरुको सहयोगमा भक्तजनको भोजन, प्रसाद र आवासको प्रबन्ध मिलाइएको छ ।
५५५ किलोको घण्ट
पञ्चकोटमा हालै ल्याइएको पाँच हजार ५५५ किलोको मुक्तिनाथ महाघण्टको महायज्ञको अवसरमा औपचारिक रुपमा स्थापना गरिने भएको छ । आठ बर्ष लगाएर बनाइएको महाघण्ट बनाउन दुई करोड रुपैयाँ खर्च भएको स्वामी कमलनयनाचार्यले बताए ।
उनका अनुसार सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएकाले यसलाई ‘महाघण्टी’ नाम दिइएको हो । महाघण्टबाट निस्किएको ध्वनि साबिक धौलागिरिका बागलुङ, पर्वत, म्याग्दीमा सुन्न सकिने दाबी गरिएको छ ।
१३५ फिट अग्लो कलश निर्माण हुदै
पञ्चकोटमा एक सय ३५ फिट अग्लो कलश निर्माणाधीन छ । पञ्चकोट धामका अध्यक्ष दामोदर शास्त्री दाहालले सबै संरचना दुई अर्बको योजना रहेको जनाउँदै कलश निर्माणमा मात्रै चार करोड रुपैयाँ लागत अनुमान गरिएको बताए । ‘कलशको हालसम्म पाँच प्रतिशत मात्रै काम सकिएको छ,’ उनले भने ‘१२ तले कलशको एक तलाको मात्र काम सम्पन्न भएको छ ।’ कलशको बाहिरी स्वरुप कलश जस्तै भए पनि भित्री खण्डमा १६ कोठा बन्ने र ती कोठामा धार्मिक क्रियाकलाप सञ्चालन हुने दाहालले बताए ।
धार्मिक पूर्वाधार निर्माणमा ५५ करोड लगानी
पञ्चकोटमा धार्मिक संरचना निर्माण गर्दा हालसम्म करिब रु ५५ करोड खर्च भएको अध्यक्ष दाहाल बताउँछन् । हालसम्म सिस महल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्ति, गौशाला लगायत दर्जनौँ धार्मिक संरचना बनेका छन्् ।
हरेक वर्ष महायज्ञ लगाएर रकम सङ्कलन गरिँंदै आएको छ । केही संरचनामा बागलुङ नगरपालिका, गण्डकी प्रदेश सरकार र पर्यटन मन्त्रालयको पनि लगानी रहेको अध्यक्ष दाहालले बताए । समुन्द्री सतहदेखि एक हजार ७५० मिटरको उचाइमा रहेको पञ्चकोटमा आठ वर्ष अघि महायज्ञ आयोजना गरेर धार्मिक संरचना निर्माण थालिएको थियो ।
डाडा धार्मिक पर्यटकीय स्थलमा रुपान्तरण
धवलागिरी हिमालको सम्मुखमा रहेको पञ्चकोटको फेदी भएर कालीगण्डकी नदी बग्दछ । मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वर, बाग्लुङ कालिका लगायत ठाउँमा पुग्ने धार्मिक पर्यटक पञ्चकोट आउन थालेपछि चहलपहल बढेको स्थानीयबासी हरि शर्माले बताए ।
‘दश वर्षअघि डाडोमा सिमित पञ्चकोट अहिले देशब्यापी र भारतमा समेत चर्चीत भएको छ,’ उनले भने ‘पञ्चकोट आउने भक्तजन र पर्यटकका कारण बाग्लुङ, कुडुले, भान्छा गाउँको ब्यापार व्यवसाय वृद्धि भएको, रोजगारी र आयआर्जनको अवसर सिर्जना भएको छ ।’
सडकको सहज पहुँचका कारण बागलुङ कालिका दर्शन गर्न आउने तीर्थालुमध्ये अधिकांश यहाँ आउने गरेको पाइन्छ । त्यस्तै मुक्तिनाथ जाने धार्मिक पर्यटक पनि सकेसम्म पञ्चकोट पुग्ने गरेका छन् ।
वि.स. २०७१ अगाडि पञ्चकोटमा भिर, पहरा थियो । यहाँ पर्यटक भित्र्याउन धार्मिक संरचना बनाउने योजना सुनाउदा धेरैले विश्वास गरेका थिएनन् । पञ्चकोटको फेदीमा रहेको सिम गाउँमा जन्मिएका स्वामी कमलानयनाचार्यले यहाँ धार्मिक संरचना बनाउने परिकल्पना गरेका हुन् ।
पञ्चकोट बागलुङ बजारदेखि छ किलोमिटर उत्तरमा छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले बाग्लुङ–बेनी सडक अन्र्तगत पर्ने कुडुले देखी पञ्चकोट जोड्ने सडक कालोपत्र गर्ने तयारी भएको बताए ।
महायज्ञलाई लक्षित गरेर बाग्लुङ देखि पञ्चकोट जोड्ने अन्य सडकहरु मर्मत अन्तिम चरणमा पुगेको बाग्लुङ नगरपालिकाका उपप्रमुख राजु खड्कालेब ताए । केही दिनअघि गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठक पञ्चकोटमा बसेको थियो ।