बेनी, । बेनीमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले बुधबार १२ औं स्थापना दिवस मनाएको छ ।
बेनी अस्पतालमा रहेका १९ जना बिरामीलाई फलफुल र बिपन्नलाई मुठ्ठीदान कार्यक्रम गरी सहकारीले स्थापना दिवस मनाएको हो । क्यान्सर पीडित बेनपा ६ की रामकुमारी बानियाँलाई ५ हजार ५५५ तथा आर्थिक अवस्था कमजार भएका अन्यलाई तीन जनालाई मुठ्ठीदान कार्यक्रम अन्तरगत सहयोग गरिएको छ ।
सहकारीकी अध्यक्ष विष्णु गौतम सापकोटाले सहकारीले चारदिनसम्म सेयर सदस्य भेटघाट, वित्तिय गतिविधि, सहयोग सहित विभिन्न स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको बताउनुभयो ।
सहकारीले स्थापना दिवस बाहेक पनि महिला हिंसामा परेका, अलपत्र, विपन्नको उपचार तथा खाद्यान्न सहयोग सहित विभिन्न रचनात्मक कार्यहरु गर्ने गरेको बताउनुभयो । वित्तिय कारोबार बाहेक समुदायस्तरमा हुने हरेक रचनात्मक अभियानमा सहकारीले सक्रियतापूर्वक साथ दिने गरेको छ ।
फलफुल तथा खाद्यान्न वितरण कार्यक्रममा सहकारीकी पूर्व अध्यक्ष जमुना आचार्यले सहकारीको स्थापना तथा हालसम्म भएका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । स्थापना दिवसको अध्यक्षता सहकारीकी अध्यक्ष विष्णु गौतम सापकोटा, स्वागत उपाध्यक्ष सुगम श्रेष्ठ र सञ्चालन सचिव जगतकुमारी खत्रीले गर्नुभएको थियो ।
‘महिला वर्गको समृद्धि, सशक्तिकरण र आर्थिक उन्नति’ भन्ने मूल नारासहित स्थापित सहकारीमार्फत सञ्चालित सहकारीले स्थापनाकालदेखि नै मुठ्ठीदान अभियान सञ्चालन गरेर त्यसबाट विभिन्न व्यक्ति तथा संस्थालाई आर्थिक र जिन्सी सहयोग गर्दै आइरहेको जनाएको छ ।