बेनी। लाटोकोसेरो तथा हुचिल लगायत चरा, वन्यजन्तु संरक्षणको सन्देश दिन पर्वतको जलजला गाउँपालिका ५ लेकफाँटको फलामेडाडामा शुक्रबारदेखि शुरु हुने लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी पुरा भएको छ ।
माघ १९ र २० गते हुने ११ औं लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सवको सबै तयारी पुरा भएको आयोजकले जनाएका छन् । नेपालमा विगत दश वर्ष अघिदेखि नेपाल लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव हुँदै आएको छ ।
लाटोकोसेरो तथा हुचिलको विदेशमा चोरी निकासी हुँदै आएको अध्ययनले देखिएपछि प्रकृतिका साथीहरु नामक संस्थाले नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव गर्दै आएको प्रकृतिका साथी नामक संस्थाका निर्देशक राजु आचार्यले बताउनुभयो । संस्थाले ४६ जिल्लामा गरेको अध्ययन अनुसार नेपालमा वार्षिक २ हजार लाटोकोसेरो विदेश चोरी निकासी हुने पाएको बताइएको छ ।
महंगोमा बिक्री हुन्छ भन्ने भ्रममा परेर लाटोकोसेरो छोप्ने, मार्ने, घर घरमा बेच्ने हुँदै आएको पाइएपछि संरक्षण उत्सवको आयोजना गरिएको उहाँले बताउनुभयो । लाटोकोसेरो बिक्री वितरण गैरकानुनी हो भन्ने पनि उत्वसमा सचेतना कार्यक्रम गरिन्छ । अवैध व्यापारको मारमा परी नेपालमा ठूलो प्रजातिका लाटोकोसेरो हुचिल, हाप्सिलो, महाकौशक, भासोलुक लगायतका लाटोकोसेरो संकटापन्न रहेको बताइएको छ ।
लाटोकोसेरोका बासस्थान बिनास, लाटोकोसेरोले बास बस्न मन पराउने ठूला र बूढा रुखहरु कटानी, पुराना घरमा बनाइने खोपीहरुमा बस्ने र सन्ता उत्पादन गर्ने लाटोकोसेरोमैत्री संरचनाको ठाउँमा नयाँ आधुनिक घरहरु लगायत प्रतिकल वातावरणका कारण पनि सहरमा लाटोकोसेरो कम देखिन थालेका छन् ।
लाटोकोसेरो लोप हुने अर्को कारण भनेको सुरक्षित आहाराको कमी, कृषिमा प्रयोग हुने रासायतिक मल तथा विषालीको बढ्दो प्रयोग पनि रहेको संरक्षण विद डा हुम गुरुङले बताउनुभयो । नेपालमा २३ प्रजातिका लाटोकोसेरो पाइन्छन् । तीमध्ये ९ प्रजाति राष्ट्रिय रुपमा संकटापन्न अवस्थामा रहेको अध्ययनले देखाएको बताइएको छ ।
लाटोकोसेरोले मुसा खाएर किसानको बाली नाली जोगाउन भूमिका खेल्छ । यसैले लाटोकोसेरोलाई किसानको साथी पनि भनिन्छ । गोठे लाटोकोसेरोको एउटा परिवाले एक प्रजनन अवधिमा करिब ३ हजार मुसा खाने अध्ययनहरुले देखाएको आचार्य बताउँछन् । यसको साथै अन्य हानिकारक कीरा, फट्यांग्रा, सर्प, छेपारो लगायतका जीबलाई आहाराको रुपमा खाएर लाटोकोसेरोले पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्न र सनातन खाद्यचत्रलाई गतिशील बनाउन महत्वपूर्ण भूमिका खेल्ने आचार्यले बताउनुभयो ।
लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि समुदाय र सरोकारवाला निकायहरुलाई सुसूचित र संरक्षणमा लाग्न प्रेरणा दिन उत्सवको अयाोजना गरिएको हो । प्रत्येक वर्ष फरक फरक जिल्लामा लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव हुँदै आएको छ । हालसम्म धादिङ, चितवन, नवलपरासी, गोरखा, कपिलवस्तु, दोलखा, कास्की, खोटाङ, स्याङजा, कैलालीमा संरक्षण उत्सव भइसकेको छ ।
लाटोकोसेरो संरक्षणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भूसंरक्षण विभागले दश वर्षे लाटोकोसेरो तथा हुचिल संरक्षण कार्ययोजना (सन् २०२०–२०२९) लागू गरेको छ । यस योजनाले लाटोकासेरो संरक्षण र चोरीसिकार नियन्त्रणमा लाग्ने बताइएको छ । लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सवले समुदाय स्तरमा लाटोकोसेरोको महत्व बुझाउन र संरक्षणमा लाग्न महत्वपूर्ण हुने संरक्षण विद् बताउँछन् ।