बेनी ः मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ ढि खोलाको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ ।
अध्ययन अनुसन्धान र उपयुक्त प्रविधीको पहिचान हुन नसक्दा ढि खोलाले बनाएको खोच भित्र रहेको तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो । लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ का पुर्व वडा अध्यक्ष हिरा गुरुङले ढि खोलाको तातोपानी खेर गइरहेको बताउनुभयो ।
“चिसो हावापानी र मौसम हुने मुस्ताङको तातोपानी प्रकृतिको वरदान हो,” उहाँले भन्नुभयो “तातोपानीलाई व्यवस्थित रुपमा उपभोग गर्न सक्ने हो भने पर्यटन र आर्थिक हिसाबले धेरै राम्रो हुने थियो ।”
मुहानको तातोपानीलाई नजिकै स्नान गृह र पोखरी बनाएर प्रयोगमा ल्याउन पहल गरिएपनि अनुसन्धान तथा प्रविधिमा पहुँच नपुग्दा सफल हुन नसकेकोमा पुर्व वडा अध्यक्ष गुरुङले चिन्ता व्यक्त गर्नुभयो ।
खोच भित्र पहाडबाट तातोपानीको फोहरा निस्कने गर्छ । बर्खामा तातोपानीको फोहोरा भन्दा माथि खोलाको सतह पुग्छ । हिउँदमा खोलामा हिडेर करिब ५० डिग्री सेल्सीयस तातोपानीको फोहरा निस्कने ठाउँसम्म सहजै पुग्न सकिने लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ ताङग्या गाउँका पासाङ छिरिङ गुरुङले बताउनुभयो ।
“पाइपबाट जस्तै पहाडको प्वालबाट निस्कने तातोपानीको फोहराले मानिसलाई ढलाउला झै गर्छ,” उहाँले भन्नुभयो “मुहानबाट आएको तातोपानी मिसिएको खोलामा स्नान गर्न सकिन्छ ।” तातोपानीको मुहान वरपर झरना र तलाउ चिसोले जमेर बरफ बनेको छ ।
बेनी–जोमसोम–कोरला सडकमा पर्ने लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ गाउँदेखि ३० मिनेट गाडीमा यात्रा गरेपछि ढि गाउँमा पुगिन्छ । ढि गाउँदेखि ३० मिनेट पैदल हिडेर तातोपानीको मुहानमा पुग्न सकिन्छ । साविक सुर्खाङ गाविसको भूगोलमा रहेको यो तातोपानीको मुहान नजिकै सुर्खाङ, ढि, यारा र घारा गाउँ छन् ।
उपल्लो मुस्ताङ घुम्न आउने पर्यटकहरुका लागि ढिखोलाको तातोपानी नयाँ आकर्षण बन्न सक्ने सम्भावना छ । ढिगो रुपमा बाह्ै महिना नियमित तातोपानीलाई प्रयोगमा ल्याउने आधार पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता रहेको पुर्व वडा अध्यक्ष गुरुङले बताउनुभयो ।
स्थानीयबासीका अनुसार मुस्ताङको पुर्व राजपरिवारका सदस्यहरु स्नानका लागि ढि खोलामा आउने गर्दथे । उनिहरुले मुहान नजिकै स्नानका लागि आउनेहरुका लागि आश्रयस्थल बनाइदिएका थिए ।
स्थानीयबासीहरु हिउँद याममा ढिखोलाको तातोपानी नुहाउन जान्छन् । व्यवस्थित हुन नसकेकाले पर्यटक भित्र्याउन सकिएको छैन् । गण्डकी प्रदेशसभा सदस्य बिकल शेरचनले ढिखोलाको तातोपानीलाई व्यवस्थित गर्न पहल गरिने बताउनुभयो ।