सन्तोष गौतम
ताकम ः शनिबार बिहान झिसमिसेमै हुकलुङमा पुगेर भैसीले गहुँ र केरामा पु¥याएको क्षतिको मुल्याङकन गरेर फर्किएका धवलागिरी गाउँपालिका– ७ ताकमका कटुवाल भक्तबिर बि.क. दिउँसो उद्योग वाणिज्य संघ धवलागिरी इकाईको तेस्रो अधिवेशनमा सहभागि हुनुभयो ।
अधिवेशनको अवसरमा इकाईबाट प्रशंसापत्र सहित सम्मानित भएका ६८ वर्षीय भक्तबिर अपराहन्न बिहेको निम्ताको ‘कार्ड’ बाड्न गाउँमा निस्कनुभयो । “धारापानीका तीन वटा भैसीले हुकलुङमा आएर २७ घारी केरा र गहुँ खाइदिएको रहेछ् । अर्मलेर (जरिवाना) तोकेर आएको हो,” हतारिदै भक्तबिरले भन्नुभयो “नेत्रलाल मास्टरको छोरीको पर्सी हुन लागेको बिहेको निम्ताको कार्ड साँझसम्म बाडिसक्नुपर्छ ।”
२६ वर्षदेखि ताकमका कटुवाल भक्तबिरको दैनिकी यसरीनै बितेको छ । गाउँमा हुने भेला, बैठकको सूचना प्रवाह गराउने, गाईबस्तुले खेतीबाली खाएर पु¥याएको क्षतिको मूल्याङ्कन गर्ने र बिवाह, ब्रतबन्ध, छेवार, किरियाको निम्ता बाड्ने जिम्मेवारी पुरा गर्न भक्तबिर व्यस्त हुनुहुन्छ ।
सूचना प्रविधि र सञ्चार माध्यमको विकास तथा पहुँच भएपनि ताकमका बासिन्दाका लागि भक्तबिर विश्वासिलो सन्देश बाहक बनेका स्थानीय रमाकान्त पौडेलले बताउनुभयो । “कटुवालले घोक हालेर सुनाएको र घरमा आएर भनेको सूचनालाइनै हामीले आधिकारिक मान्ने गरेका छौ,” उहाँले भन्नुभयो “सामाजिक सञ्जालमा पनि सूचना आउँछ तर त्यसलाई विश्वास गर्न सकिदैन् ।”
वि.स. २०५४ सालमा ताकमका जनप्रतिनिधि र अगुवाहरुले भक्तबिरलाई कटुवाल नियुक्त गरेका थिए । ऐतिहाँसिक धार्मिक स्थल ताकमकोतमा फेटा गुटाएर र अविरजात्रा गरेर कटुवाल नियुक्त भएका भक्तबिरले गाउँलेलाई सही सूचना प्रवाह गर्ने अन्नपूर्ण र जगन्नाथ देवतासँग कसम खाएको स्मरण गर्नुभयो । सबै घरमा सुनिने गरेर भक्तबिरले पाँच वटा अग्ला डाडामा पुगेर चिच्याएर सूचना दिने गर्नुहुन्छ । चिच्चाउने कामलाई स्थानीय भाषामा ‘घोक’ हाल्ने भनिन्छ ।
जनप्रतिनिधि, कर्मचारी, विद्यालय, वन उपभोक्ता समुह, युवा क्लव, आमा समूह र टोल विकास संस्थासँग समन्वय गरेर सूचना प्रवाह गराउने काम गर्दै आउनुभएका भक्तबिरका लागि तलब सुविधाको व्यवस्था छैन् । “साविक ताकम गाविसको ४ वटा वडाका ३५५ घरधुरीले एक÷एक पाथीका दरले बैशाखमा गहुँ, मंसिरमा धान र असोजमा मकै खलो दिनुहुन्छ,” उहाँले भन्नुभयो “गाउँलेले दिएको अन्नले मेरो परिवारलाई खान पुगेको छ । मागेर खानु परेको छैन् । आफ्नै पौरखमा परिवार पालेको छु ।” बालीघरे प्रथामा आधारित पेशा गर्नेलाई ज्याला वापत दिने खन्नलाई ‘खलो’ भनिन्छ ।
कटुवाल पेशाबाटनै भक्तबिरले पाँच जना छोरीहरुलाई पढाउने र बिहेबारी गरेको बताउनुभयो । हाल घरमा उहाँ र श्रीमति मात्र हुनुहुन्छ । भक्तबिरकी श्रीमति बोल्न नसक्ने अपाङ्ग हुनुहुन्छ । आफु भन्दा कमजोर अवस्थाका घरबाट खलो नलिने गरेको भक्तबिरले बताउनुभयो ।
धवलागिरी गाउँपालिका–७ ताकमका वडा अध्यक्ष अशोक खत्रीले भक्तबिर बफादार र इमान्दार भएकाले २६ वर्षसम्म एउटै पेशामा टिकेको बताउनुभयो । “भक्तबिरलाई ताकमका सबैले विश्वास गर्नुहुन्छ । सबैसँग समान र स्पष्ट व्यवहार गर्नु उहाँको विशेषता हो,” उहाँले भन्नुभयो “पशुले बालीमा पु¥याएको क्षतिको अर्मल गर्ने जिम्मेवारी पनि उहाँलाइनै दिएका छौ ।”
गाउँपालिका हुनुअघि तत्कालीन गाविस कार्यालयले भक्तबिरलाई मासिक रु. एक हजारका दरले सञ्चार खर्च उपलब्ध गराउदै आएको थियो । पछिल्लो पटक गाउँपालिकाले सबै कटुवाललाई माइक खरिद गरेर वितरण गरेको थियो । गाउँपालिका भएपछि मासिक रुपमा रु. एक हजारका दरले पाउदै आएको सुविधा काटिएकोमा भक्तबिरले गुनासो गर्नुभयो ।
गाउँका सबैले चिन्ने र सुःख, दुःखमा सँगै रहन पाएकोमा खुसी मानेका भक्तबिर कामको चाप र दौडधुप गर्नुपर्दा भने कठिन हुने अनुभव सुनाउनुहुन्छ । अब यही बर्ष कटुवालबाट बिश्राम लिएर व्यवसायिक सुन्तला खेती गर्ने योजना सुनाउनुभयो ।