बेनी, । बेनीमा सोमबार नवौ राष्ट्रिय योग दिबस मनाइएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा दिवस मनाइएको हो । दिवसको अवसरमा आयुर्वेद स्वास्थ्य केन्द्रमा योग अभ्यास गरिएको थियो ।
दिवसको नारा “गरौ योग ः रहौ निरोग” भन्ने रहेको छ । मानसिक र शारिरिक स्वास्थ्यका लागि योग उपयोगी हुने कार्यक्रमका सहभागिको भनाई थियो । नेपाली समाजको परम्परा, रितिरिवाज र रहनसँग पनि योगको सम्बन्ध छ । पछिल्लो समय योगप्रतिको सकारात्मक बुझाई र आकर्षणसँगै राज्यले पनि योगलाई प्राथमिकता दिएको छ ।
योगको प्रर्वद्धन गर्न सकेमा अस्वस्थकर खानपान र ब्यवहारका कारण हुने नसर्ने रोगको समस्या न्युनीकरण गर्न सकिने प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो । उहाले दैनिक जिवनका हरेक क्रियाकलापलाई योगसँग जोड्नुपर्ने बताउनुभयो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष जिवन बहादुर विश्वकर्माको अध्यक्षता, केन्द्रका निमित्त प्रमुख दामोदर शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले मन्तब्य व्यक्त गर्नुभएको थियो । कविराज निरिक्षक प्रेम गौतमले योग प्रशिक्षण दिनुभएको थियो ।