म्याग्दी, घरमा असुरक्षित प्रसुति हुने र नियमित गर्भपरिक्षण नगराउने समस्या हटाउन म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ‘आमासँग जनप्रतिनिधी’ कार्यक्रम सञ्चालन गरेको छ ।
तोकिएको समयमा नियमित गर्भ परिक्षण र संस्थागत प्रसुति सेवामा पहुँच बढाएर मातृशिशु मृत्युदर न्युनीकरण, स्वास्थ्य र पोषण सुधार गर्न कार्यक्रम लागू गरेको हो । अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख समुन्द्र बरुवालले कार्यक्रम मार्फत नियमित गर्भपरिक्षण र स्वास्थ्य संस्थामा प्रसुति सेवा लिनेहरुलाई पोषिलो खानेकुरा उपहार दिने व्यवस्था मिलाएको बताउनुभयो ।
“गर्भवति र सुत्केरीलाई अण्डा, भाले, घ्यू, सर्वोत्तम पिठो र न्यानो कपडा वितरण गर्न चालु आर्थिक वर्षमा आमासँग जनप्रतिनिधी कार्यक्रमका लागि रु. सात लाख बजेट बिनियोजन भएको छ,” उहाँले भन्नुभयो “घरमा असुरक्षित प्रसुति हुने र नियमित गर्भपरिक्षण नगराउने समस्या हटाउन उपहार सहित सचेतनामुलक कार्यक्रम गरेका हौ ।”
तोकिएको मितिमा चार पटक गर्भपरिक्षण गर्दा हरेक पटक एक÷एक क्रेट अण्डा र संस्थागत प्रसुति हुनेलाई जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरमै पुगेर एक वटा कुखुराको भाले र आधा लिटर घ्यू दिने गरेका छन् । सुत्केरी भएपछि पनि तीन पटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अण्डा, एक किलोग्राम सर्वोत्तम पिठो र बच्चालाई न्यानो कपडा दिने गरिएको छ ।
यसअघिका २ वर्षमा ‘गर्भवती र सुत्केरीसँग उपाध्यक्ष’ शिर्षकमा सञ्चालन भएको कार्यक्रम प्रभावकारी बनेपछि यसपाली शिर्षक परिमार्जन गरेर निरन्तता दिइएको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताउनुभयो ।
उपहार दिन थालिएपछि गर्भ परिक्षण गराउने दर २७ प्रतिशतबाट बढेर ९२ प्रतिशत पुगेको छ । संस्थागत प्रसुति सेवा लिने दर ९९ प्रतिशत छ । गत आर्थिक वर्ष २०७९÷०८० मा सुत्केरी भएका १३९ जना मध्य १३५ जनाले संस्थागत प्रसुति सेवा लिएका थिए । ४ वटा बच्चा मृत जन्मिएका थिए । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा ११ जनाले संस्थागत प्रसुति सेवा लिएका छन् ।
नियमित गर्भ र सुत्केरी परिक्षण गराउदाँ आमा र बच्चाको स्वास्थ्य अवस्था तथा समस्या पहिचान गरेर जोखिमको व्यवस्थापन गर्न सहज भएको छ । गर्भवति र सुत्केरीको खानपान, सरसफाई र स्याहार सुसारमा जागरण आएको छ । गर्भवति र सुत्केरीलाई उपहार दिइने अण्डा, घ्यू, सर्वोत्तम पिठो र भाले स्थानीय उत्पादन प्रयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।
आर्थिक वर्ष २०७८÷७९ मा अन्नपूर्ण गाउँपालिकामा १२७ जनाले संस्थागत प्रसुति सेवा लिएका थिए । ८ वटा वडा रहेको अन्नपूर्णको १ दोवा, ३ दाना र ४ नारच्याङ बाहेकका स्वास्थ्य संस्थामा प्रसुति केन्द्र छन् ।
वडा नम्बर ५ मा पर्ने पाउद्धारको सामुदायिक स्वास्थ्य इकाईमा पनि प्रसुति केन्द्र सञ्चालन भएको छ । गर्भवति र सुत्केरीलाई उपहार दिने कार्यक्रमका लागि आर्थिक वर्ष २०७८÷७९ र २०७९÷८० मा रु. छ÷छ लाख बिनियोजन भएको थियो ।