मुुस्ताङबाट सवा उन्पचास करोडको स्याउ निकासी

Gandaki Kotihome

बेनी ः मुस्ताङ जिल्लाबाट यस वर्ष रु. ४९ करोड भन्दा बढी मूल्यको स्याउ निकासी भएको छ ।

स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको मुस्ताङ स्थित स्याउ जोन कार्यालयले यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजार निकासी भइसकेको जनाएको छ ।

स्याउ जोन मुस्ताङका प्रमुख नेत्रप्रसाद भट्टले जिल्लाभर चार हजार ९७५ मेट्रिक्टन स्याउ उत्पादन भएको मध्य चार हजार ४७७.५ मेट्रिक्टन स्याउ देशका विभिन्न ठाउँमा निकासी भएको बताउनुभयो ।

Upper Myagdi transmition line notice

“मुस्ताङमा फलेको मध्य ९० प्रतिशत स्याउ बजार निकासी भइसकेको छ,” उहाँले भन्नुभयो “करिब पाँच सय मेट्रिक्टन स्याउ बेसिजनमा बिक्री गर्न चिस्यान गृहमा राखेका छन् ।” कृषकले बिक्री गरेको सरदर प्रतिकिलो रु. ११० का दरले हिसाब गर्दा रु. ४९ करोड २५ लाख २५ हजार मूल्य बराबरको स्याउ निकासी भएको स्याउ जोन कार्यालयले जनाएको छ ।

म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौ लगायतका शहरका ब्यापारी बगैचामा नपाग्दै अग्रिम पैसा दिएर ठेक्कामा स्याउ खरिद गर्दछन् । मुस्ताङ घुम्न आउने पर्यटकहरुले पनि कोशेलीको रुपमा स्याउ किनेर लैजाने गर्छन् । धादीङबाट स्याउ खरिद गर्न मुस्ताङ पुगेका ब्यापारी शिवाङ तामाङले बेनी, बागलुुङ र पोखराका बजारमा मुुस्ताङको स्याउको माग उच्च हुने गरेको बताउनुुभयो । पातलो फलेपनि दाना ठूला र स्वादिष्ट रहेको उहाँले बताउनुुभयो ।

Annapurna aarohan ko notice

बिक्री नहुने साना दाना भएका स्याउ मदिरा र सुुकुटी बनाउन प्रयोग हुन्छ । मुस्ताङमा रेडडेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ खेती भएको छ । मुस्ताङको एक हजार ४७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा ५८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । ३८ हेक्टर क्षेत्रफल जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती भएको छ ।

गत वर्ष मुस्ताङमा छ हजार ६०० मेट्रिक टन स्याउ उत्पादन भएकोमा यसपाली २४.५८ प्रतिशतले उत्पादन घटेको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताउनुभयो । “फुल खेलेर परागसेचन हुुने समयमा धेरै बर्षा हुँदा फुलबाट स्याउको दाना कम लागेकाले उत्पादन घटेको हो ,” उहाँले भन्नुुभयो “स्याउको फुल फुल्ने समय वैशाख–जेठ महिनामा वर्षाले स्याउ बोटमा परागसेचन (पोलिनेशन)हुन नपाउँदा उत्पादनमा असर परेको हो ।”

केन्द्रले मुस्ताङको पाँच वटै स्थानीय तहका स्याउ बगैंचामा क्रम कटिङ बिधिबाट उत्पादकत्वको विवरण संकलन गरेर तथ्याङ्क बनाएको जनाएको छ । थासाङ गाउँपालिकाको कुल १०८ हेक्टरमा ५५१.८८ मेट्रिकटन, घरपझोङ गाउँपालिकाको २८२ हेक्टर क्षेत्रफलमा दुई हजार ४०२.६४ मेट्रिकटन, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको १८३ हेक्टर क्षेत्रफलमा एक हजार ९२३.३३ मेट्रिकटन, लोघेकर दामोदरकुण्ड गाउँपालिकाको १२ हेक्टरमा ९५ मेट्रिकटन र लोमान्थाङ गाउँपालिकाको ०.२५ हेक्टर क्षेत्रफलमा एक दशमलब ९९ मेट्रिक्टन स्याउ उत्पादन भएको छ ।

गत वर्ष रु. पाँच करोड मूल्यको स्याउ बिक्री गरेका घरपझोङ गाउँपालिका–२ स्याङका कृषक कर्म गुरुङले यसवर्ष रु. तीन करोडको मात्र बिक्री भएको बताउनुभयो । उहाँको बगैचामा एक हजार पाँच सय बोट स्याउले उत्पादन दिन्छ । स्याउ टिपेर बजार पठाएपछि मुुस्ताङका कृषकहरु बगैचामा व्यवस्थापनमा जुटेका छन् ।

सडक यातायातको सुविधासँगै सहज बजार र राम्रो मूल्य पाउन थालेपछि मुस्ताङका कृषक स्याउ खेतीमा आकर्षित भएका छन् । कृषि ज्ञान केन्द्र कार्यालय मुस्ताङका अनुसार गत वर्ष सम्म कुल एक हजार ४७५ हेक्टर जमिनमा स्याउ खेती भएको थियो । यस वर्ष २० हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भएको छ । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन र स्थानीय तहको कृषि शाखाले अनुदानमा स्याउका बिरुवा वितरण, स्याउ राख्ने प्याक सहयोग, सिचाई, चिस्यानगृह निर्माण लगायतका काममा कृषकलाई सहयोग गरेका छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...