बेनी, । पश्चिमको पशुपतिनाथको रुपमा परिचित बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा यस वर्षको बालाचार्तुदर्शी मेलाको तयारी तिव्र बनाइएको छ ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषले विभिन्न उपसमिति गठन गरेर पर्वको अवसरमा हुने सतविज छर्ने मेलालाई व्यवस्थित बनाउने तयारीमा जुटेको हो । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मुल र अन्य उपसमितिहरु मार्फत शिवरात्री मेलाको तयारी तिव्र बनाएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीले जानकारी दिनुभयो ।
“भक्तजनले छिटो र सहज रुपमा दर्शन तथा पुजाआजा गर्ने व्यवस्था मिलाउन जुटेका छौ,” उहाँले भन्नुभयो “सतबिज छर्न धेरै ठाउँबाट ठूलो संख्यामा भक्तजन आउने भएकाले व्यवस्थित बनाउन सुरक्षा निकाय, प्रशासन, नगरपालिका र विभिन्न संघ संस्थासँग पनि समन्वय गरेका छौ ।”
बालाचर्तुदशी पर्वको अवसर पारेर गलेश्वरधाममा सतविज छर्न र भगवान् शिव महादेवको स्वयं उत्पत्ति ज्योर्तिलिङ्गको पुजाअर्चना गर्न म्याग्दी सहित पर्वत, बागलुङ, कास्की, तनहुँ, चितवनलगायत जिल्लाहरुबाट श्रद्धालु भक्तजनहरु आउने गर्दछन् । बालाचर्तुदशीमा सतविज छरेमा पितृ उद्धार हुने जनविश्वास छ ।
कृष्णागण्डकी किनारमा रहेको ९ रोपनी चट्टानमा फैलिएको एउटै गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन् । ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ ।
गलेश्वरमा बालाचर्तुदशी मेलाको तयारी
प्रतिक्रिया दिनुहोस