म्याग्दीमा धान र कोदो उत्पादन बढ्यो

Gandaki Ghumau

बेनी, म्याग्दीमा यस वर्ष धान र कोदोको उत्पादन बढेको छ । गत वर्षको तुलनामा धान उत्पादन ४.३४ प्रतिशत र कोदो उत्पादन ०.६५ प्रतिशतले बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

अनुकूल मौसम, रोगकिराको समस्या नभएको र रासायनिक मलको आपूर्ति सहज हुँदा धान र कोदो उत्पादन बढेको केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताए। गत वर्ष म्याग्दीमा तीन हजार दुई सय ५० मेट्रिकटन कोदो र ११ हजार नौ सय २९.३३ मेट्रिकटन धान उत्पादन भएको थियो।

केन्द्रकी प्राविधिक सहायक सम्झना आचार्यले यस वर्ष प्रतिहेक्टर धानको उत्पादकत्व ३.२ र कोदोको उत्पादकत्व १.२ मेट्रिकटन भएको जानकारी दिइन्। तीन हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा १२ हजार चार सय ४८ मेट्रिकटन धान र दुई हजार सात सय ५० हेक्टर क्षेत्रफलमा तीन हजार तीन सय मेट्रिकटन कोदो उत्पादन भएको उनको भनाइ छ।

Shreekrishna

‘जिल्लाका विभिन्न ठाउँमा गरिएको धान र कोदो बालीको क्रप कटिङ विधिबाट उत्पादनको अवस्थाका विषयमा अध्ययन गरेका थियौँ,’ आचार्यले भनिन्, ‘धान र कोदो दुवैको उत्पादकत्व बढेको छ।’

Gunasthariya Shiksya

म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे  र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती गर्ने गरिएको छ।

लेकाली क्षेत्रमा भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेती हुन्छ। कोदो भने स्थानीय जातको खेती हुने गर्छ। एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको प्रायजसो क्षेत्रमा धानखेती हुन्छ। जिल्लाको रत्नेचौर, ज्यामरुककोट, अर्थुंगे, पुलाचौर, सिंगा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, शिख, घार, भुरुङ–तातोपानी, नारच्याङ, दानालगायत क्षेत्रमा धानखेती हुँदै आएको छ।

यी क्षेत्र धान उत्पादनका हिसाबले पकेटक्षेत्र मानिन्छन् । धवलागिरि गाउँपालिकाको गुर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धान उत्पादन हुँदैन । म्याग्दी जिल्लामा कुल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार चार सय ९८ हेक्टरमा मात्रै खेती गरिएको छ।

खेती गरिएको जमिनमध्ये ६ हजार १३ हेक्टर अर्थात् ३०.८ प्रतिशत मात्रै सिञ्चित जमिन छ। यसमध्ये एक हजार ६ सय ८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...