पर्वत / सुत्केरी हुने बेलाको अवस्थामा उच्च रक्तचाप हुनु, मधुमेहबाट ग्रसित हुनु, आमाको उमेर बढी हुनु, तौल निकै बढी हुनु लगायतका शारीरिक अवस्था भएमा ती गर्भवतीहरू चिकित्सकको निगरानीमा बस्नुपर्छ । बच्चा जन्मिने समयसम्ममा उच्च रक्तचाप र मधुमेहको समस्यालाई नियन्त्रणमा लिएर आमालाई तयारी अवस्थामा राख्नुपर्ने हुन्छ ।
यही अवस्था भएका गर्भवतीहरूलाई भर्ना गरेर राख्ने र उनीहरूलाई निगरानीमा राखेर अवस्था सुधार ल्याउनको लागि छुट्टै व्यवस्थापन थिएन । चिकित्सकको निगरानीमा बस्नुपर्ने गर्भवतीहरूलाई अन्य बिरामीहरूकै वार्ड अथवा प्रसूति वार्डमा राख्नुपर्ने अवस्था थियो । सुत्केरी व्यथा नै नलागेका तर मधुमेह र उच्च रक्तचापलाई नियन्त्रणमा राख्नको लागि केही दिन अगाडिबाट नै अस्पतालमा भर्ना गर्दा प्रसूतिका लागि आउनेहरूलाई शय्या अभाव हुन्छ ।
तर अब भने चिकित्सकको निगरानीमा रहनुपर्ने गर्भवतीहरूलाई छुट्टै राखेर निःशुल्क बस्ने खाने सुविधा सहितको ‘आमा घर’ सञ्चालनमा आएको छ । बिरामी भएका, टाढा घर भई आउने जाने गर्नमा समस्या भएका लगायत समस्या भएका गर्भवतीहरू सुत्केरी हुने बेलासम्म प्रतीक्षा गरेर बस्न र सुत्केरी भएपछि पनि आवश्यकता अनुसार बस्नका लागि ‘आमा घर’ सञ्चालनमा ल्याइएको पर्वत अस्पतालका अध्यक्ष शङ्कर गिरीले बताए । अघिल्लो आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट आएको बजेटबाट भौतिक संरचना निर्माण गरिएको भए पनि ‘आमा घर’ सञ्चालनको लागि भने बजेट आएको छैन । तर पनि अस्पतालको आन्तरिक स्रोत र अन्य स्रोत खोजेर चलाउँदा गर्भवतीलाई सुविधा हुने भएकोले शुक्रवारदेखि ‘आमा घर’ सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।
‘आमा घर सञ्चालनका लागि सरकारबाट बजेट त आएको छैन । अस्पतालमा भर्ना भएर बसेका बिरामीहरूलाई सरकारी खाना निःशुल्क रूपमा मिल्छ । आमा घरमा बस्नुहुने गर्भवतीहरू पनि भर्ना गरेर नै राख्ने भएकोले उहाँहरूले पनि त्यही निःशुल्क खाना पाउने भएकाले खानाको व्यवस्थापनमा समस्या हुँदैन’, अध्यक्ष गिरीले भने, ‘यसमा खट्ने व्यक्तिहरू र यसमा अतिरिक्त व्यवस्थापनको लागि आवश्यक पर्ने खर्चका लागि केही मात्रामा अस्पतालको आन्तरिक स्रोतबाट पनि व्यवस्था गर्न सकिएला । त्यसबाहेक एउटा गैर सरकारी संस्थासँग पनि सहकार्यको लागि कुराकानी भइरहेको छ ।’
‘आमा घर’ मा अहिले सुरुमा तीन वटा शय्याहरू राखिएको र आवश्यक भएको अवस्थामा अझै दुई वटा शय्या थप्न सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले बताए । गर्भवती महिला आफैले आफूलाई बस्न मन लाग्यो भन्दैमा ‘आमा घर’ मा बस्न नपाइने बताउँदै उनले गर्भवतीको अवस्थाका बारेमा स्वास्थ्यकर्मीले जानकारी लिएर राख्नुपर्ने देखिएमा मात्रै बस्न पाइने जानकारी दिए ।
‘कति टाढाको गर्भवती हुनुहुन्छ हामी पहिले त त्यो हेर्छौँ । कोहीलाई एक÷दुई हप्तापछि बोलाए हुने अवस्था छ भने अहिलेबाट नै बसाल्नु परेन । हाई रिस्क भएकाहरू विशेष सुविधा सहितका अस्पतालमा जाने भए पनि मिडियम रिस्क भएकाहरूलाई हामी यहीँ राख्छौँ’, डा. बास्तोला भन्छन्, ‘डेलिभरीको डेट आउन लागेको छ तर आमामा सुगर, प्रेसर, लगायतका समस्याहरू देखिएका छन् भने आमा घरमा राखेर ती अवस्थालाई नियन्त्रणमा लिएर सुत्केरी हुने बेलाका लागि ठिक स्वास्थ्य अवस्थामा राख्छौँ । उनीहरूलाई बढी हेर्नुपर्ने भएकाले स्वास्थ्यकर्मीहरूको निगरानीमा बस्न राम्रो हुने भएकाले यो घर उपयोगी बन्छ ।’ टाढाबाट आउनेहरूलाई केही गर्भवती, सदरमुकाममा आफन्त नभएकोले बस्ने ठाउँ हुँदैन भनेर ढिला गरेर आउने तथा कोही रातीमा अस्पताल आउँदा स्वास्थ्य जोखिम हुने भएकाले उनीहरूलाई पनि ‘आमा घर’ मा राखिने छ ।
डा. बास्तोलाका अनुसार जिल्ला अस्पतालमा गत वर्ष सुरक्षित सुत्केरी सेवा लिनेको सङ्ख्या तीन सय ८७ जना रहेको थियो । तीमध्येका ९७ जनाको शल्यक्रिया मार्फत सुत्केरी गराइएको थियो भने अन्य सामान्य तरिकाले नै सुत्केरी भएका थिए । चालु आर्थिक वर्षमा अस्पतालमा सुरक्षित सुत्केरी सेवा लिनेको सङ्ख्या एक सय ४० पुगिसकेको छ । तीमध्येका ३९ जनाको शल्यक्रिया गरिएको छ ।
शुक्रवार अस्पतालमा आयोजित एक कार्यक्रमका बिच गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले ‘आमा घर’को उद्घाटन गरेकी छिन् । सो अवसरमा बोल्दै उनले गण्डकी प्रदेशमा मातृ शिशु मृत्युदर शून्यमा झार्नको लागि प्रदेश सरकारले प्रयास गरिरहेको बताइन् । पर्वत अस्पतालमा सुरु गरिएको ‘आमा घर’ पनि त्यसैका लागि एउटा सहयोगी भएको उनको भनाइ छ ।
स्वास्थ्य मन्त्री सिम्खडाले गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रलाई सुधार र व्यवस्थित बनाउन आफूले निरन्तर प्रयास गरिरहेको बताउँदै ११ वटै जिल्ला अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट नियुक्ति गरी गुणस्तरीय सेवा दिन सफल भएको दबी गरिन् । प्रदेशमा नौ सय जना मिर्गौलाको डायलिसिस गर्नुपर्ने बिरामीहरू प्रतीक्षामा बसेको अवस्थामा अहिले त्यो सङ्ख्या तीन तीन सयमा झरेको बताउँदै अझ वास्तविक तथ्यांक आउँदा झनै कमी आउने उनको भनाइ छ ।