बेनीमा पार्क बनाउन प्रदेश सरकारले सघाउने मन्त्री जुग्जालीको प्रतिवद्धता

Gandaki Ghumau

मोनाले पनि पार्कमा लगानीको गर्न साझेदारीको इच्छा देखायो

बेनी, । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारमा शान्ति बाटिका (उद्यान÷पार्क) निर्माणको तयारी भएको छ । बेनी नगरपालिकाले वडा नम्बर ७ स्थित बिरेन्द्रचोक पछाडीको सार्वजनिक जग्गामा बनाउने तयारी गरेको पार्कमा प्रदेश सरकार र प्रवासीले लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।
शनिबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, संविधानसभा सदस्य गोविन्द पौडेल, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, बेनी नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, म्याग्दी प्रवासी नेपाली संघ (मोना)का अध्यक्ष दधिवल खड्का, नेपाल उद्योग वाणिज्य संघका पुर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ लगायत सरोकारवालाहरुको टोलीले प्रस्तावित उद्यान निर्माण स्थलको निरिक्षण गर्नुभएको छ ।
बेनी नगरपालिकाका प्रमुख केसीले बेनी आउने पाहुनाको बसाई लम्बाउन, बजारबासीलाई खुल्ला प्राकृतिक ठाउँमा रमाउने वातावरण बनाउन र बेनीको सौन्दर्यकरणका लागि शान्ति बाटिका बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको बताउनुभयो ।

Gunasthariya Shiksya
Shreekrishna


“बेनीको पहिचान र आकर्षण बढाउन मात्र नभएर बजारबासीलाई फ्रेस हुने ठाउँका लागि पनि पार्क बनाउन आवश्यक महशुस गरेर डिपिआर तयार गरेका छौ,” केसीले भन्नुभयो “लगानीको स्रोतको खोजीमा छौ । प्रदेश, संघीय सरकार र सामाजिक संघ संस्थाबाट लगानीका लागि साझेदारीको अपेक्षा गरेका छौ ।”
जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले पार्क बनाउन १० रोपनी जग्गाको खाली र उपभोग विहिन जग्गाको व्यवस्थापन गरिएको जानकारी दिदै सो ठाउँमा २०६० को बेनी भिडन्तको चिनोको रुपमा रहेको गोली लागेर प्वाल परेको पोल राखिने बताउनुभयो । ठाउँ तयार हुनेवित्तिकै काठमाडौमा रहेको पोल ल्याउन पोल राखेका मदन पुरस्कार गुठीका सञ्चालकसँग सहमति भएको थापाले बताउनुभयो ।
मोनाका अध्यक्ष दधिवल खड्काले मोनाले सामाजिक कार्यक्रम अन्तरगत बेनीमा पार्क बनाउन सहयोग गर्न मोना इच्छुक रहेको बताउनुभयो । उद्यानमा सार्वजनिक उपभोगका लागि मोना घर बनाउन इच्छुक रहेको खड्काले बताउनुभयो ।
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले बेनीमा पार्क बनाउन आवश्यक रहेको र जग्गा पनि व्यवस्थापन भइसकेकाले अब योजनाको कार्यान्वयनमा प्रदेश सरकारबाट बजेट व्यवस्थापन गर्न प्राथमिकता दिने बताउनुभयो ।
“बेनीमा पार्क बनाउन अति आवश्यक महशुस गरेको विषय हो,” उहाँले भन्नुभयो “पार्क निर्माणका लागि बजेट व्यवस्थापन गर्न प्रदेश सरकारमा म लविङ गर्छु । यो योजना सबै मिलेर कार्यान्वयन गर्न सकियो भने बेनीको पर्यटन क्षेत्रमा पनि दिर्घकालिन लाभ हुन सक्छ ।”

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...