तनहुँ, । तनहुँको ब्यास नगरपालिकामा सञ्चालित बाराही रानीमार्ग सडक कालोपत्र गर्ने योजना लक्ष्य अघिनै सम्पन्न भएको छ ।
ढिलासुस्तिका कारण विकास आयोजना प्रभावित बनिरहेको अवस्थामा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय तनहुँले सञ्चालन गरेको यो योजना शुरु भएको छ महिनामै सकिएको हो ।
निर्माण व्यवसायीको इच्छाशक्ति, सम्बद्ध कार्यालयको समन्वय, सहजिकरण र समुदाय स्तरमा सहयोग हुने हो भने विकास आयोजनामा देखिएको ढिलासुस्ति हटाउन सकिने सन्देश यो योजनाले दिएको छ ।
२० वर्षअघि मार्ग खोलिएको यो सडक कालोपत्र गर्न वि.स. २०७९ फागुन ११ गते मंगला देवी सुवास कन्ट्रक्सन प्रा.ली. र पूर्वाधार विकास कार्यालय तनुहँबीच रु. चार करोड ४१ लख ५० हजार ६०८ मा ठेक्का सम्झौता थियो ।
२०८० फागुन ११ गते सम्पन्न गर्ने लक्ष्य भएपनि असोज महिनामै कालोपत्र गरेको निर्माण कम्पनीका प्रनिनिधि सुवासचन्द्र कार्कीले बताउनुभयो । एक हजार सात सय मिटर कालोपत्र र तीन सय मिटर सडक ढलान गरिएको हो ।
सडक कालोपत्रे भएपछि हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे सडकमा यात्रा गर्नुपर्ने समस्या हटेको स्थानीयबासीले बताएका छन् । ठेक्का सम्झौता लगत्तै योजना स्थलमा उपकरण र आवश्यक मजदुर परिचालन गरेर साँघुरो सडकलाई फराकिलो बनाउने, सडक तल माथि ग्याविङसहित पर्खाल, नाली लगायतको कामलाई तीव्र गतिमा सम्पन्न गरिएको निर्माण व्यवसायी कार्कीले बताउनुभयो ।
पूर्वाधार विकास कार्यालय तनहुँकी ईन्जिनियर धनमाया मिश्रले सानासाना मर्मतको कामबाहेक निर्माण कम्पन्नीले बाराही रानीमार्गको कालापत्र्रे गर्ने काम सम्पन्न गरेको बताउनुभयो । उहाँले योजनाको अनुगमन गरेर काम सम्पन्न भएको प्रमाणपत्र र भुक्तानी दिन कार्यालयबाट बाँकी रहेको उल्लेख गर्नुभयो ।