जोमसोम, २८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) कात्तिक १ गते बुधबार हिमाली जिल्ला मुस्ताङ आउनुहुने भएको छ ।
नेकपा माओवादी केन्द्रको जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत जनवर्गीय संगठनहरुको संयुक्त जिल्ला भेलालाई सम्वोधन गर्न प्रधानमन्त्री दाहाल मुस्ताङ आउन लाग्नुभएको हो ।
आईतबार जोमसोममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्री दाहाल बुधबार मुस्ताङ आउने कार्यतालिका तय भईसकेको माओवादी केन्द्र मुस्ताङका संयोजक धिरेन्द्र ल्वागुनले जानकारी दिनुभयो ।
कार्यक्रममा मुस्ताङका ५ वटै स्थानीय तहबाट जन सहभागिता रहने संयोजक ल्वागुनले बताउनुभयो । माओवादी केन्द्र जिल्ला समन्वय समिति मुस्ताङले पहिलो पटक पार्टीले लिएका एजेण्डा स्थापित गर्न, संगठन विस्तार, जनताका आधारभुत आवश्यकता र मुस्ताङको चुनौती पूर्ण विषयहरु प्रधानमन्त्री मार्फत सम्वोधन गर्ने उद्देश्यले प्रधानमन्त्री दाहाललाई मुस्ताङमा आमन्त्रण गरिएको संयोजक ल्वागुनको भनाई छ ।
यसअघि असोज २३ गते तय गरिएको प्रधानमन्त्री दाहालको मुस्ताङ भ्रमण कार्यव्यस्ताका कारण स्थागित भएको थियो । पार्टी जिल्ला ईञ्चार्ज कपिल लामाको पहलमा पून ः प्रधानमन्त्रीको मुस्ताङ भ्रमणलाई कार्तिक १ गते तय गरिएको हो ।
जनतासंग माओवादी विषेश रुपान्तरण अभियान अन्र्तगत घरघरमा माओवादी, जनजनमा माओवादी नारासहित विगत २ महिनादेखि मुस्ताङी जनताको घरघरमा पुगेको र त्यहाँ जनताका धेरै समस्या पार्टी समक्ष आएको गण्डकी प्रदेशका सहसचिव टेकबहादुर बिकले बताउनुभयो ।
“गृह मन्त्रालयमा समन्वय गरी प्रधानमन्त्री ज्युले चीन भ्रमणमा उत्तरतर्फका नाका खोल्न पहल भएस्वरुप कोरलानाका खोल्न सफल भएका छौ,” उहाँले भन्नुभयो “मुस्ताङमा विगत ४ वर्षदेखि बन्द रहेको कोरलानाका खोल्न सफल भएको र केही प्रावधिक कारणले थोरै ढिलो भएको छ ।”
पार्टी अध्यक्ष ज्युले उत्तरतर्फ नाका खोल्न महत्वपूर्ण भूमिका निर्वाह गरेको र यो पार्टीको पनि ठुलो उपलब्धि भएको संयोजक ल्वागुनको भनाई छ । प्रधानमन्त्री दाहाल समक्ष कालिगण्डकी नदीमा नदी उकासले बस्ती जोखिममा पारेको समस्या यसको दीर्घकालिन समस्या समाधान गर्न मेघा प्रोजेक्टको आवश्यकता, वारागुङ—३ को साविक छुसाङका ५ वटा गाउँलाई निशेधित तथा नियन्त्रित क्षेत्रबाट फुकुवा गराउन र भूमी सम्वन्धि समस्या समाधानका लागि प्रधानमन्त्री तहबाटै समस्या समाधान गर्न उद्देश्यले प्रधानमन्त्रीलाई मुस्ताङमा आमन्त्रण गरिएको हो ।
प्रधानमन्त्री उपस्थित कार्यक्रममा जनताले सिधै जिल्लाका समस्याहरु राख्न पाउने व्यवस्था गरिएको संयोजक ल्वागुनले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले मुस्ताङको घरपझोङ—३ पुथाङ एअरपोर्ट स्थित बहुउद्देश्य समाजघरमा आयोजित संयुक्त जिल्ला भेलालाई सम्वोधन गर्ने बताईएको छ । यसका लागि माओवादी केन्द्र जिल्ला समन्वय समितिले आवश्यक तयारी अगाडी बढाएको छ ।