म्याग्दीमा रेडपाण्डा भेटिएपछि संरक्षणमा युएसएडको चासो

khali

बेनी, । विश्वमै दुर्लभ जंगली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको म्याग्दीमा संरक्षणको कार्यक्रम सञ्चालन गर्न संरक्षणकर्मी तथा दातृ निकायले चासो देखाएका छन् ।

धवलागिरी गाउँपालिका–२ लुलाङको जलजला स्थित जंगलमा च्याउ टिप्न गएका सुवास थापाले केही दिनअघि जिल्लामै पहिलो पटक हाब्रेको भिडियो खिच्नुभएको थियो । म्याग्दीमा हाब्रेको बसोबास रहेको तथ्य प्रमाणित भएपछि अन्तराष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड)ले संरक्षण कार्यक्रम सञ्चालन गर्न चासो दिएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले बताउनुभयो ।

“हाब्रे भेटिएको खबर सार्वजनिक भएपछि युएसएड अन्तरगत गण्डकी प्रदेशमा लागू भएको जल र जंगल परियोजनाका अधिकार आइतबार वन डिभिजन कार्यालयमा आएर संरक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल गर्नुभएको छ,” उहाँले भन्नुभयो ।

Shreekrishna hardwear in news

जैविक विविधता र वातावरण संरक्षणको क्षेत्रमा काम गर्ने उक्त परियोजनाका ल्याडस्केप टिम लिडर मानबहादुर बिक र वरिष्ठ कार्यक्रम अधिकृत सोभियत कोईरालाको टोलीले डिभिजन वन कार्यालय म्याग्दीसंग हाब्रे संरक्षण कार्यक्रम सञ्चालनको विषयमा छलफल गर्नुभएको हो ।

“नयाँ र उपलब्धी देखिने काम हुने भएकाले म्याग्दीमा हाब्रे संरक्षणको कार्यक्रम परियोजनामा समेट्ने समझदारी भएको छ,” वन अधिकृत रानाभाटले भन्नुभयो “स्थानीय तह र वन डिभिजन कार्यालयसँग छलफल गरेर संरक्षणका कार्यालय बनाउने विषयमा छलफल भएको छ ।”
सात वर्षअघि भएको अध्ययनका क्रममा जलजलाको जंगलमा भेटिएको दिसाको आधारमा हाब्रेको बासस्थान भएको बताइएको थियो । म्याग्दीमा यसअघि दुुर्लभ वन्यजन्तुु रेडपाण्डा भौतिक रुपमा देखिएको देखिएको थिएन । संरक्षण कार्यक्रमको प्रभाव, चोरीशिकारी नियन्त्रण र जनचेतना अभिवृद्धीका कारण हाब्रे देखिन थालेका यो विषयमा अनुसन्धान गर्दै आउनुभएका बद्री बरालले बताउनुभयो ।

विसं २०७३ मा विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले लज्जालु स्वभावको हाब्रे खोजी अभियान सञ्चालन गरेको थियो ।

khali

लुलाङको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीको जङ्गलमा हलुका रातो, सेतो र कालो रङको रेडपाण्डाको वासस्थान फेला पारे पनि प्रत्यक्ष देखिएको थिएन् ।

रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोको लागि रूखका हाँगा बसी आराम गर्ने, भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भुइँमा झर्ने रेडपाण्डाको बासस्थानको विषयमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कले धौलागिरि गाउँपालिकाको गुर्जा, लुुलाङ र मुुदीमा अध्ययन गरेका थिए ।

रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा मालिङ्गो र टोड्का परेका रुख यस क्षेत्रको जङ्गलमा पर्याप्त छ । समुद्री सतहबाट दुई हजारदेखि चार हजार ८०० मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो । रेडपाण्डा संरक्षण गर्न नेपाल सरकारले सन् २०१९ देखि २०२३ सम्म रेडपाण्डालाई पर्यटनसँगै जोडेर विशेष संरक्षण गर्ने नीति लिएको छ ।

रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई रु. पाँच लाखदेखि रु.दश लाख जरिवाना, पाँचदेखि पन्ध्र वर्ष कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । रेडपाण्डाको सङ्ख्या नेपालमा पाँच सयदेखि एक हजार वटा रहेको अनुमान गरिए पनि दुई सय ३७ वटाको मात्र यकिन भएको छ ।

विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्र रेडपाण्डाको वासस्थान छ । नेपालमा एलुरेन्स फ्युजन्स जातको रेडपाण्डा छ । नेपालका २४ जिल्लामा रेडपाण्डा पाइने रेडपाण्डा नेटवर्कले जनाएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...