बेनी, जिल्ला प्रशासन कार्यालयले बेनी–जोमसोम सडक अन्तरगत म्याग्दी खण्डमा अत्यावश्यक काममा बाहेक यात्रा नगर्न आग्रह गरेको छ ।
निरन्तरको पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र पर्ने र दुर्घटनाको जोखिम बढेपछि शुक्रबार सार्वजनिक सूचना जारी गरेर बेनी देखि दाना खण्डमा अति आवश्यक काम नपरी यात्रा नगर्न आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले सडक अवरुद्ध हुँदा तिर्थयात्रा र भ्रमणका लागि स्वदेशी तथा विदेशी पर्यटकले दुःख पाएकाले बाध्य भएर मौसममा सुधार र सडक सहज नहुँदासम्मका लागि यात्रामा नआउनका लागि आग्रह गरेको बताउनुभयो ।
“अन्नपूर्ण गाउँपालिकाको दाना खण्डमा धेरै ठाउँमा पहिरो खसेको छ । फगाममा रहेको २०० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइनको टावर मुनीबाट गुइठेमा ठुलो पहिरो खसेको छ,” उहाँले भन्नुभयो “पहिरो पन्छाउने क्रममा सडक विभागका लोडर अपरेटर र चालक घाइते भएका छन् । जोखिम रहेकाले करिब एक साता बेनी देखि दाना भएर अत्यावश्यक काममा बाहेक यात्रा नगरिदिनुहुन अनुरोध गरिएको हो ।”
निरन्तरको पहिरोका कारण ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक मर्मत गरि सिधा यातायात सञ्चालन गर्न समस्या भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले साउन ३२ गतेदेखि सडक खुलाउने र पहिरो खसेर अवरुद्ध हुने क्रम चलिरहेको बताउनुभयो ।
“पाँच दिनको प्रयासमा बुधबार यातायात खुलाएका थियौ,” उहाँले भन्नुभयो “गुइठेमा सडक माथिको भिरबाट निरन्तर पहिरो खसिरहेको छ । ठूला ठूला ढुंगाहरु खसिरहने भएकाले पहिरो नरोकिदासम्म त्यहाँ डोजर र मजदुर मार्फत मर्मत गर्न जोखिम छ ।”
आयोजना प्रमुख प्रजापति, ईञ्जिनियर बिष्णु चापागाई, डोजर अपरेटर नारायण गिरी र सवारी चालक सुभाष कुमाल, अजय स्याङताङ, सुभर भाइजर इन्द्रसिंह शेरचन लगायतको टोली पहिरो पन्छाउने र सडक मर्मतमा परिचालन हुनुभएको छ ।
अन्नपूर्ण गाउँपालिकाको जलथले, गुँइठे, सुकेबगर, खामभिक्ता, लगायतका क्षेत्रमा अविरल बर्षासँगै दर्जन बढी ठाउँमा पहिरो खसेको छ । गुइठेभिरको पहिरोले फगामको डाडामा रहेको प्रशारण लाइनको टावर जोखिममा परेको हो ।
कालीगण्डकीको कटान, कमजोर भूगोल, भूमिगत पानीको उचित व्यवस्थापन नहुनु र शाखा सडकका कारण सिर्जना भएको पहिरोले जलथले–दुवारी खण्डको सडक क्षतविक्षत बनाएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो ।
सडक अवरुद्ध हुँदा जलथले र दाना क्षेत्रमा सवारी साधनहरु रोकिएका छन् । दाना देखि नारच्याङको घराप सम्म हिलाम्मे सडकमा कष्टपूर्ण पैदलयात्रा गर्न बाध्य भएका छन् ।