बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगाममा रहेको २२० केभी क्षमताको प्रशारण लाइनको टावर पहिरोको उच्च जोखिममा परेको छ ।
कालीगण्डकी कोरिडोर अन्तर्गतको दाना–खुर्कोट प्रसारण लाइन आयोजना अन्तरगत फगामको गम्फु भन्ने ठाउँमा रहेको टावर पहिरोका कारण ढल्ने अवस्थामा छ । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले गुइठे भिरको पहिरोसँगै टावर ढल्ने अवस्थामा रहेको जानकारी दिनुभयो ।
“बेनी–जोमसोम–कोरला सडकदेखि टावर रहेको जमिनसम्म पहिरो पुगिसकेको छ,” उहाले भन्नुभयो “तत्काल पहिरो नियन्त्रण नगर्ने हो भने उच्च गतिको विद्युत प्रवाह भैरहेको टावर ढल्ने अवस्थामा छ ।”
जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल विद्युत प्राधिकरणलाई टावरको अवस्थाको विषयमा जानकारी गराएपनि प्राधिकरणले गम्भिर रुपमा नलिएको जनप्रतिनिधिहरुले गुनासो गरेका छन् ।
प्रसारण लाइनको टावरदेखि तल गुइठेको भिरमा ठुलो पहिरो खसेका कारण टावर उच्च जोखिममा परेको हो । स्थानीयले त्रिपाल हालेर टावर मुनीको जमिनलाई ढाकेका छन् । टावरको वरपर पनि पहिरो खसेको छ ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले विद्युत प्राधिकरणलाई पहिरोले जोखिममा परेको टावरको अवस्था जानकारी गराइसकेको बताउनुभयो । पहिरो रोकथाम गरि क्षति हुन नदिनका लागि काम गर्न प्राविधिक सहितको टोली बोलाएको प्रजिअ पौडेलले बताउनुभयो ।
पहिरोका कारण प्रसारण लाइनको टावर ढलेमा हुने सम्भावित दुर्घटनाका कारण स्थानीय त्रसित भएका हुन् । बेनी–जोमसोम सडकदेखि करिब सात सय मिटर माथि टावर छ । टावर वरपरको पाखोबाट निरन्तर खसिरहेको पहिरोका कारण गुइठेमा बेनी–जोमसोम अवरुद्ध हुने गरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताउनुभयो ।
“गुइठे, जलथले, दुवारी, खामभित्ताको करिब दुई किलोमिटर सडकमा ५० भन्दा बढी पहिरो खसेको छ,” उहाँले भन्नुभयो “कालीगण्डकीको कटान र शाखा सडकबाट सिर्जना भएको पहिरोले बेनी–जोमसोम सडकमा यातायात सञ्चालन गर्न समस्या भएको छ ।”
पहिरो पन्छाउन चार वटा डोजर परिचालन गरेपनि भदौ २ गतेयता जलथले–दुवारी खण्डमा नियमित यातायात सञ्चालन हुन सकेको छैन् । पहिरो पन्छाएको केही समयमै पुनः पहिरो खस्ने र सडक भासिने गर्दा मर्मतको काम प्रभावित भएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो । यातायात अवरुद्ध हुँदा मुस्ताङका स्थानीयबासी, पर्यटक, तिर्थयात्री समस्यामा परेका छन् । मुस्ताङमा ढुवानी र निकासी ठप्प भएको छ ।