म्याग्दीमा आलु उत्पादन बढ्यो

Gandaki Kotihome

बेनी, । म्याग्दीमा आलुको उत्पादन यस वर्ष बढेको छ । आलु म्याग्दीबाट निकासी हुने प्रमुख कृषि उपज हो ।

गत वर्षको तुलनामा ६.३६ प्रतिशतले आलु उत्पादन बढेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । केन्द्रका बाली संरक्षण अधिकृत सञ्जिव बास्तोलाले यस वर्ष जिल्लाभर एक हजार ६५० हेक्टर क्षेत्रफलमा आलु खेती भएकोमा २५ हजार ४१० मेट्रिक्टन उत्पादन भएको जानकारी दिनुभयो ।

“अघिल्लो वर्ष एक हजार १४५ हेक्टर क्षेत्रफलमा आलु खेती भएकोमा २३ हजार ७९३ मेट्रिक्टन उत्पादन भएको थियो,” उहाँले भन्नुभयो “क्षेत्रफल विस्तारसँगै आलुको उत्पादन बढेको हो ।”

Shreekrishna hardwear in news

स्थानीय तहहरुले आलु खेतीको पकेट क्षेत्र, कृषि ज्ञान केन्द्रले बल्क र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले आलु जोन कार्यक्रम मार्फत आलु खेती विस्तार गरेका छन् । कृषि ज्ञान केन्द्र मार्फत ५०० रोपनी क्षेत्रफलमा आलु खेतीको कार्यक्रम सञ्चालन भएको थियो ।

खेती गर्ने, भित्र्याउने समयमा अनुकुल मौसम र रोगकिराको समस्या नभएकाले पनि आलुको उत्पादन गत वर्षको तुलनामा बढेको अन्नपूर्ण गाउँपालिका–८ राम्चेका कृषक फासबहादुर गर्वुजाले बताउनुभयो ।

Notice about ban dadalo

“अघिल्लो वर्ष ऐजुरु रोगले आलुको बोट र दानामा असर गरेकाले उत्पादन आधाले घटेको थियो,” उहाँले भन्नुभयो “नयाँ विउ लगाउको हुँदा यसपाली आलु राम्रो फलेको छ ।” उहाँले एउटै दाना एक किलोबराबर तौल भएको आलु उत्पादन भएको जानकारी दिनुभयो । म्याग्दीको तल्लो क्षेत्रमा हिउँदे र उच्च पहाडी लेकाली क्षेत्रमा बर्खे आलु खेती हुन्छ ।

अन्नपूर्ण गाउँपालिको शिख, घार, राम्चे, हिस्तान, रघुगंगाको पाखापानी, ठाडाखानी, चिमखोला, कुइनेमंगले, कुइने मंगलाको हिँदी, झाँक्रीपानी, किमचौर, टोड्के, मालिकाको बिम, दिच्याम, धवलागिरीको गुर्जा, मरेनी, बेनीको भकिम्ली, डडुवा, आलु उत्पादन हुने ठाउँ हुन ।
नागी राम्चेबाट वार्षिक रु. दुई करोड मूल्य बराबरको आलु निकासी हुने गरेको छ । उच्च पहाडी क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु पोखरा, काठमाडौ लगायत बजार क्षेत्रमा निकासी हुने गरेको थियो । जिल्लावाट वार्षिक रु. ६ करोड भन्दा बढी मूल्यको आलु निकासी हुने कृषि ज्ञान केन्द्रको तथ्यांक छ ।

उत्पादीत मध्य ७० प्रतिशत अथवा एक हजार मेट्रिक्टन भन्दा बढी आलु निकासी हुने गरेको हो । प्रतिकेजी रु. ५० देखि १०० सम्ममा आलु बेच्ने गरेका छन् । ब्यापारीले अग्रिम पेस्कि दिएर बारीमा नखन्दै आलु खरिद गर्छन् ।

म्याग्दीमा हाल स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ । कृषि तथा पशुपंक्षी बिकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिकाको ६,७ र ८ र अन्नपूर्ण गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडामा गत आर्थिक वर्षदेखि ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन) कार्यक्रम सञ्चालन गरेको छ ।

कृषि ज्ञान केन्द्र मार्फत यसअघि रघुगंगा गाउँपालिका–८ कुइनेमंगले र मंगलाको ३, ४ र ५ नम्बर वडामा आलुको व्यवसायिक उत्पादन केन्द्र सञ्चालन भएको थियो । मालिका गाउँपालिकाको ६ दिच्याम र ७ बिमलाई आलु बल्क कार्यक्रममा समावेश गरिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...