बेनी, । म्याग्दीमा खेलाडीहरूले अभ्यास गर्ने पूर्वाधार अभाव भएको गुनासो गरेका छन् । जिल्लामा नयाँ खेलाडी उत्पादन गराउने प्रशिक्षण केन्द्र सञ्चालन गर्ने पूर्वाधारको अभावले फुटबल, क्रिकेट, भलिबल लगायतको खेलले गति लिन सकेको छैन ।
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माको उपस्थितमा जिल्ला खेलकुद विकास समिति म्याग्दीले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्लामा गठन भएका फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स, कबड्डी, उसु लगायत सङ्घबाट सहभागी पदाधिकारीले खेलाडीलाई प्रशिक्षण गराउने खेलकुद पूर्वाधारको अभाव भएको उल्लेख गर्नुभएको थियो ।
जिल्लामा गुणस्तर खेलमैदानको अभाव हुँदा खेल प्रशिक्षण केन्द्र सञ्चालन गर्न समस्या भएको जिल्ला भलिबल सङ्घकी कोषाध्यक्ष विष्णु रोकामगरले बताउनुभयो । जिल्ला फुटबल संघका सचिव कुमार बानियाँले जिल्ला फुटबललाई व्यवस्थित रुपमा अघि बढाउने पूर्वाधारले पूर्णता नपाउँदा नियमअनुसारले फुटबल प्रतियोगिता सञ्चालन गर्नमा समस्या भएको बताउनुभयो ।
“अभ्यास र प्रतियोगिता सञ्चालन गर्ने गुणस्तर खेलमैदान अभावले एन्फामा आबद्ध हुन पनि सकिएको छैन । यसतर्फ गण्डकी प्रदेश खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समितिले ध्यान दिनुपर्छ”,– बानियाँले भन्नुभयो ।
त्यस्तै जिल्ला क्रिकेट संघका छवि आचार्यले क्रिकेट खेल्ने मैदानको अभाव भएको गुनासो गरे । “सदरमुकाम बेनीमा रहेको खुल्लामञ्च सानो छ। त्यही पनि पूर्वाधारले पूर्णता पाएको छैन, फुटबल र भलिबल खेलका अभ्यास मात्र हुन्छ, जिल्लामा क्रिकेट खेलाडीका लागि खेलमैदान अभाव छ। यसतर्फ प्रदेश र जिल्ला खेलकुद विकास समिति र स्थानीय तहले पनि ध्यान दिनुपर्छ”,– आचार्यले भन्नुभयो ।
जिल्लामा गठित अन्य संघका पदाधिकारीले पोखरामा हुने विभिन्न प्रतियोगिताको जानकारी समयमा नहुने हुँदा जिल्लालाई खेलाडी छनोट र प्रशिक्षण गराउनमा समय नपुगेको गुनासो गर्दै आगामी दिनमा हुने प्रतियोगिताको सूचना समयमा दिने वातावरण तयार गर्न प्रदेशका सदस्य सचिव शर्मा समक्ष आग्रह गर्नुभएको थियो । पोखरामा हुने राष्ट्रिय र प्रदेश स्तरका खेलहरूमा आयोजकले नियमको पूर्ण पालना नगरी सञ्चालन गरेको गुनासो म्याग्दीबाट खेलाडी लगेर गएका खेल प्रशिक्षकले परिषद् समक्ष गर्नुभएको थियो ।
अन्तरक्रियामा प्रदेशका सदस्य सचिव श्रीधर शर्माले जिल्लामा खेलकुद क्षेत्रको अवस्था, समस्या र प्रदेशले सुधार गर्नुपर्ने विषयमा जानकारी लिन खेल क्षेत्रका संघ सङ्गठनसँग स्थलगत अन्तरक्रिया गरेको बताउनुभयो । उहाँले खेलकुदका कार्यालय समयमै खुलाउने, जिल्लामा गठन भएका खेलकुद सङ्घहरू जिल्ला खेलकुद विकास समितिमा आबद्ध हुने, जुन उद्देश्यले निर्माण भएका पूर्वाधार हुन त्यही उद्देश्यमा खेल पूर्वाधारलाई प्रयोग गर्न निर्देशन गर्नुभयो । “खेल क्षेत्रका पूर्वाधारलाई व्यवस्थित बनाउनमा पहल गर्ने, हरेक विधाका खेलमा प्रशिक्षक नियुक्ति गर्ने, पोखरामा हुने प्रतियोगितामा सबैलाई समान व्यवहार र प्रतियोगिताको बारे समयमै सूचना प्रसारण हुने वातावरण परिषद्ले तयार गर्ने छ”,– उहाँले भन्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा उपस्थित भएको कार्यक्रममा बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले संघ र प्रदेशका भर पर्दा खुलामञ्चको पूर्वाधार निर्माण अलपत्र परेको बताउँदै यसतर्फ खेलकुद परिषद्ले ध्यान दिन आग्रह गर्नुभयो । उहाँले नगर खेलकुद ऐन बनाउनका लागि गण्डकी प्रदेश खेलकुद परिषद्ले सहयोग गर्न आग्रह गर्नुभयो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जिल्लाभित्रमा खेलकुद क्षेत्रमा समस्या प्रदेशलाई जानकारी गराउने उद्देश्यले अन्तरक्रिया गरिएको बताउनुभयो । जिल्लामा सम्भावना भएका खेलाडीको खेल स्तर सुधार्ने पूर्वाधार निर्माणमा बजेट अभावले काम गर्न नसकिएको अध्यक्ष केसीले भन्नुभयो ।