काली खोलामा फोहोर फाल्नेलाई जरिवाना

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । म्याग्दीको बेनी नगरपालिका –७ स्थित कालीगण्डकी नदी तथा सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई जरिवाना तिराउन थालिएको छ ।

बेनी नगरपालिकाको वडा नम्बर ७ ले वडा भेलाबाट भएको निर्णय अनुसार खोलामा फोहोर फाल्नेलाई जरिवाना तिराउने नियम बनाएको हो । जिल्ला सदरमुकाम रहेको बेनी बजारको वडा नम्बर ७ भएर बग्ने म्याग्दी र कालीगण्डकी नदीको दोभान पनि छ ।

धार्मिक एवम् पर्यटकीय महत्वको कालीगण्डकी र म्याग्दी नदीको जैविक विबिधता संरक्षण एवम् प्रदुषण न्युनीकरण गर्न फोहोर फाल्नेलाई जरिवाना तिराउने नियम बनाएको बेनपा–७ का वडा अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनुभयो ।

Shreekrishna

“नगरपालिकाले घरघरमा गाडी पठाएर कुहिने र नकुहिने फोहोर विभाजन गरेर संकलन गर्ने व्यवस्था मिलाएपनि अटेरी गरेर खोलामा फोहोर फाल्ने समस्या रहेकाले त्यसलाई हटाउन वडा भेलाबाट जरिवाना तिराउने नियम बनाएका हौ,” उहाँले भन्नुभयो “फोहोर फाल्ने व्यक्ति, सम्बन्धीत घरधनीलाई जरिवाना र सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेका छौ ।”

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

फोहोर फाल्ने भाडावालालाई पहिलो र दोस्रो पटक रु. एक हजार र दुई हजार, घरधनीलाई रु. दुई हजार र चार हजार जरिवाना तोकिएको छ । तेस्रो पटक पनि फोहोर फालेको भेटिएमा घरधनीलाई छ महिना वडाले दिने सुविधा रोक्का राख्ने नियम बनाएर बेनी बजारको सार्वजनिक स्थलमा टाँसिएको छ ।

सूचना दिने व्यक्तिलाई जरिवानाको ५० प्रतिशत रकम पुरस्कार दिने पनि व्यवस्था मिलाइएको छ । हिन्दु धर्मावलम्बीहरुले भगवान बिष्णुको रुपमा पुजा गर्ने शालग्राम शिला पाइने विश्वको एकमात्र कालीगण्डकी नदीमा सिधै फोहोर फालिदा प्रदुषणको चपेटामा परेको छ ।

कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजन तथा जलयात्रा गर्ने पर्यटकहरु फोहोर तथा प्रदुषणका कारण पिडित भएका छन् । बेनी नगरपालिकाको वडा नम्बर ७ को बर्खामा कालीगण्डकी र म्याग्दी नदीले बगाएर ल्याउने दाउरा संकलन गरि विपन्न परिवारको दाहसंस्कारमा निशूल्क उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

यसैगरी कपडा बैंक पनि सञ्चालन गरेको छ । प्रयोग गर्न योग्य तर लगाउन नचाहेको कपडा बजारबासीले बैंकमा लगेर जम्मा गर्छन् । विपन्न नागरिकले आवश्यक परेमा वडा कार्यालयमा सम्पर्क गरेर बैंकमा भएको कपडा लगेर प्रयोग गर्छन् । यस्तै धार्मिक र पौराणीक महत्वका चौतारी र पोखरी संरक्षण अभियान पनि सञ्चालन भएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...