बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको बुलमा रहेको बागेश्वरी आधारभूत विद्यालयको कक्षा कोठा भवन पहिरोको जोखिममा परेको छ ।
पहिरोले भवन जोखिममा परेपछि कक्षा ५ सम्म अध्यापन हुने विद्यालयको पठनपाठन प्रभावित भएको छ । विद्यालयका प्रअ नवराज उपाध्यायले छ कोठे भवन पहिरोको जोखिममा परेको बताउनुभयो ।
“भवनको पर्खाल र भुई चर्किएर बस्न नमिल्ने अवस्था छ,” उहाँले भन्नुभयो “सबैभन्दा जोखिम भएको कक्षा ४ का विद्यार्थीलाई कक्षा ५ सँगै राखेर पढाएका छौ । अरु भवन पनि भत्कने अवस्थामा छन् ।”
जिर्ण भवनमा बसेर पढ्न विद्यार्थीहरु त्रसित भएका छन् । सो विद्यालयमा ४५ जना विद्यार्थी छन् । दुई कोठे शौचालयको भवनको पर्खाल चिरा परेर प्रयोग गर्न नमिल्ने भएको छ । विद्यालय भवनको तल गत हिउँदमा सडक निर्माण भएको थियो । सडकबाट पहिरो बग्न थालेको छ ।
धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, शिक्षा शाखाका प्रमुख ख्यामराज सुवेदी र प्राविधिकहरुको टोली मंगलबार पहिरोको जोखिममा रहेको विद्यालयको अनुगमन गर्न जानुभएको छ । तत्काल थप क्षति हुन र पठनपाठन प्रभावित हुन नदिन व्यवस्था मिलाउने र दिर्घकालिन समाधानका लागि पहल गर्ने गाउँपाकिलाका उपाध्यक्ष पुनले बताउनुभयो ।