रघुगंगाका ६६ विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति

Gandaki Ghumau

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई करिब रु. दश लाख छात्रवृत्ति वितरण गरेको छ ।

चालू आर्थिक वर्षमा गाउँपालिकाबाट स्नातक तह अध्ययनका लागि ६६ जना विद्यार्थीहरुलाई रु. नौ लाख ९९ हजार ७४४ छात्रवृत्ति वितरण गरेको हो । गाउँपालिकाका शिक्षा शाखा अधिकृत कृष्णप्रसाद सुवेदीले ६९ जनाले आवेदन पेश गरेकोमा छात्रवृत्ति निर्धारण समितिको बैठकले मापदण्डमा परेका ६६ जनालाई छनोट गरेको जानकारी दिनुभयो ।

“गाउँपालिकाका युवा युवतिहरुको उच्च शिक्षामा पहुँच बढाउन, दक्ष र योग्य जनशक्ति उत्पादन गर्न छात्रवृत्ति दिने कार्यक्रम ल्याएका हौ,” उहाँले भन्नुभयो “रघुगंगा गाउँपालिका स्थायी ठेगाना भएर गाउँपालिका भित्रकै विद्यालयबाट एसईई उतिर्ण गरेका विद्यार्थीहरुले छात्रवृत्ती सुविधा पाएका छन् ।”

Shreekrishna
Gunasthariya Shiksya

बेनीको म्याग्दी बहुमुखी क्याम्पसका ४४ जना, पोखराको पृथ्वीनारायण क्याम्पसका सात जना, पोखराको जनप्रिय बहुमुखी क्याम्पसका पाँच, कन्या क्याम्पसका दुई, प्राकृतिक व्यवस्थापन कलेज, महेन्द्ररत्न क्याम्पस, पुल्चोक इन्जिनियरीङ क्याम्पस, एनआर कलेज, मनिमुकुन्द क्याम्पस, एपेक्स कलेज, नमुना मछिन्द्र क्याम्पस, महाराजगन्ज मेडिकल कलेजका १÷१ जनाले छात्रवृत्ति पाएका हुन् ।

आवेदन पेश गरेका तीन जना गाउँपालिका भित्रकै सरकारी जागिरे भएका कारण छात्रवृत्तिका लागि छनौटमा नपरेका हुन् । २४ जनाले पूर्ण र ४२ जनाले आंशिक छात्रवृत्ति पाएका हुन् । प्रति विद्यार्थी क्याम्पसको वार्षिक शूल्क रु.आठ हजार ६०० देखि रु. २५ हजार ३७५ सम्म छात्रवृत्ति पाएका छन् ।

२०८० जेठ २४ देखि असार ६ गतेसम्म आवेदन माग गरिएको थियो । गाउँपालिकाको छात्रवृत्ति सम्बन्धी कार्यबिधि २०७७ अनुसार एक जनाले अधिकतम वार्षिक रु. ४० हजार सम्म छात्रवृत्ति पाउने व्यवस्था छ ।

क्याम्पसको शूल्क र कार्यबिधीमा उल्लेखित रकम जुन कम छ सोही अनुसार उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । वि.स. २०७७ मा बनेको कार्यबिधीलाई रघुगंगाले गत वर्षदेखि कार्यान्वयनमा ल्याएको थियो । गत वर्ष २७ जना विद्यार्थीहरुलाईरु. छ लाख १९ हजार ६०५ छात्रवृत्ति उपलब्ध गराएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...