‘लम्पी स्किन’बाट म्याग्दीमा १२० गाईगोरु मरे, १६६९ बिरामी परे, भैसीमा पनि लम्पी स्किन देखियो, बेनी नगरपालिकाले ४०० पशुलाई खोप लगायो

Gandaki Ghumau

बेनी
‘लम्पी स्किन’ रोगको महामारीबाट म्याग्दीमा हालसम्म १२० गाईगोरु मरेका छन् ।
जिल्लाभर एक हजार ६६९ गाईगोरु र भैसी लम्पी स्किनबाट बिरामी परेका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका नायव पशु सेवा प्राविधिक गणेश रिजालले म्याग्दीका छ वटै स्थानीय तहमा लम्पी स्किन फैलिएको बताए ।
‘यसअघि गाई, गोरु, बाच्छा र बाच्छीमा मात्र यो रोग देखिएको थियो,’ उनले भने ‘पछिल्लो पटक मंगला गाउँपालिकामा एक वटा भैसीमा पनि लम्पी स्कीन देखिएको छ ।’ तथ्याङ्क अनुसार बेनी नगरपालिकामा ८१, मंगला गाउँपालिकामा ५०, मालिकामा ४३, धवलागिरीमा १५४, रघुगंगामा ४६१ र अन्नपूर्णमा ८८० पशुमा लम्पी स्किन देखिएको छ ।
बेनीमा ९, मालिकामा ४, धवलागिरीमा ४, रघुगंगामा २९ र अन्नपूर्णमा ७४ पशु मरेका छन् । १३ वटा बाच्छाबाच्छी, ३६ वटा गाई, ७१ वटा गोरु मरेका केन्द्रले जनाएको छ । म्याग्दीमा लम्पी स्किन देखिएका मध्य ७.१९ प्रतिशत पशु मरेका छन् । वि.स. २०७९ चैत १३ गते रघुगंगा गाउँपालिकामा जिल्लामा पहिलो पटक लम्पी स्किन देखिएको थियो ।
पछिल्लो पटक अन्नपूर्ण गाउँपालिकामा यो रोग तिब्र रुपमा फैलिएको छ । गोरु बिरामी परेका र मरेका कारण मुख्य खाद्यबाली धान रोपाई प्रभावित भएको अन्नपूर्ण गाउँपालिका–६ घारका कृषक टेकबहादुर खड्काले बताए । ‘गाईहरु बिरामी भएपछि घारमा सञ्चालित चिज उद्योग पनि बन्द भएको छ,’ उनले भने ‘खेती लगाउने बेलामा जोत्ने गोरु नपाएर समस्या भएको छ ।’
ज्वरो आउने र शरिरका फोका देखा पर्ने, पछि झोक्राउँदै जाने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेका छन् । यो रोग हावाका माध्यमबाट सर्ने बताइएको छ । साथै झिँगाबाट समेत यो रोगको संक्रमण बढ्ने बताइएको छ । यो रोगको उपयुक्त औषधी नभएपनि खोप पहिचान भएको छ । यो रोगका कारण गाई गोरुमा समस्या आउँदा दुध उत्पादनमा असर पर्ने जनाइएको छ ।
लम्की स्किन फैलिन नदिन बेनी नगरपालिकाले निशूल्क खोप लगाउने अभियान सञ्चालन गरेको छ । नगरपालिकका ४०० पशुमा हालसम्म लम्पी स्किन विरुद्धको खोप लगाइसकेको पशु सेवा शाखाका प्राबिधिक प्रदिप गौतमले बताए ।
नगरपालिकाले आन्तरिक स्रोतबाट खोप खरिद गरेर निशूल्क लगाउने व्यवस्था मिलाएको जनाएको छ । प्रदेश सरकारबाट प्राप्त भएको लम्पी स्किनबाट बिरामी भएका पशुलाई खुवाउने एन्टिबायोटिक औषधी स्थानीय तहहरुलाई उपलब्ध गराएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख रामकृष्ण सुवेदीले बताए ।

Gunasthariya Shiksya

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...