प्रशासकीय भवन बनाउन मंगलाले माग्यो जग्गा खरिदको अनुमति

Gandaki Kotihome

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि जग्गा खरिद गर्न संघीय सरकारसँग अनुमति मागेको छ ।
गाउँपालिकाको केन्द्र बाबियाचौरमा समुदायबाट निशूल्क र सरकारी जग्गा उपलब्ध हुन नसकेपछि भवन बनाउन जमिन खरिद गर्ने प्रक्रीया अघि बढाएको हो । मंगलाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले जग्गा खरिदको अनुमतिका लागि यही जेठ १४ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र बुझाइएको जानकारी दिनुभयो ।
“वि.स. २०७६ देखि विभिन्न चरणमा निशूल्क जग्गा प्राप्तिका लागि सूचना जारी भएको थियो,” उहाँले भन्नुभयो “निशूल्क नपाएपछि जग्गा खरिद गर्न संघीय सरकारसँग सबै प्रक्रीया पुरा गरेर अनुमति मागेका हौ ।”
गाउँपालिकाको स्वामित्वमा रहेको मंगला इन्द्रेणी पार्क नजिकैको जग्गा गाउँपालिकालाई बिक्री तीन वटा प्रस्ताव परेको छ । एक वटा कित्ताको जग्गा प्रशारण लाइनमुनी परेको छ । गाउँपालिकाले छनौट गरेका मध्य दुई जना जग्गाधनीले मञ्जुरीनामा दिएका छन् ।
गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि छ रोपनी जग्गा आवश्यक पर्ने मापदण्ड छ । संघीय सरकारले अनुमति दिएपछि पालिका र जिल्ला स्तरमा प्रक्रीया पुरा गरेर जग्गा खरिद गर्ने प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।
चालु आर्थिक वर्षका लागि रु. दुई करोड बिनियोजन भएको प्रशासकीय भवनको जग्गा खरिद गर्ने योजना कार्यान्वयन गर्न ढिलाई भएपछि पछिल्लो गाउँसभाले रु. एक करोड रकमान्तर गरेको थियो । अनुमति पाएपछि विस्तृत परियोजना प्रतिवेदन तयार पारेर संरचना निर्माण गरिनेछ् ।
गाउँपालिकाको कार्यालय हाल बाबियाचौर स्थित भाडाको घरबाट सञ्चालन हुदै आएको छ । यसैगरी मंगला गाउँपालिकाले चालु आर्थिक वर्षको सबै योजना जेठ २६ गतेसम्म फरफारक गर्न निर्देशन दिएको छ ।
गाउँसभाको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि वडा, टोल स्तरमा योजना छनौट, सुझाव संकलनका साथै कार्यपालिकाको विषयगत समितिहरु आ आफ्नो कामलाई तिब्रता दिएका छन् । प्रशासकीय अधिकृत पौडेलले विभिन्न ३९ वटा दिवस मनाउन सम्बन्धित शाखा र समितिलाई जिम्मेवारी तोकिएको बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...