ताकमकोतमा हनुमानको मुर्ति र राम मन्दिर उद्घाटन

Gandaki Pardesh notice

म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ऐतिहाँसिक ताकमकोतमा हनुमानको मुर्र्ति र राम मन्दिर निर्माण भएको छ ।

धार्मिक पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको ताकमकोतको आकर्षण बढाउन हनुमानको मुर्ति राखिएको र मन्दिर निर्माण भएको हो । धवलागिरी गाउँपालिका–७ ताकमका वडा अध्यक्ष अशोक खत्रीले १८ फिट अग्लो हनुमानको मुर्ति राखिएको जानकारी दिनुभयो । मुर्ति नजिकै पुरातत्व विभागका ठेकेदारले अधुरो छाडेको राम मन्दिर निर्माणलाई पूर्णता दिई राम सिता र लक्ष्मणको मुर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।

“ताकमकोतमा भक्तजन र पर्यटकलाई आकर्षित गर्न हनुमानको मुर्ति स्थापना, राम सिताको मन्दिर निर्माणलाई पूर्णता, मुर्ति खरिद गर्दा रु. ३५ लाख खर्च भएको छ,” उहाँले भन्नुभयो “धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा रु. तीन लाख पचास हजार बिनियोजन गरेको यो योजनाका लागि स्वदेश तथा विदेशमा रहेका दाताहरुले सहयोग गर्नुभएको छ ।”

Shreekrishna hardwear in news

ललितकला केन्द्रका प्रमुख नरेन्द्रराज भण्डारीको नेतृत्वमा हनुमानको मुर्ति बनाइएको मुर्तिलाई टाढादेखि देखिने गरि डाडामा राखिएको छ । हिमाल र हनुमानको मुर्तिलाई पृष्ठभूमिमा राखेर तस्विर खिच्ने ठाउँ बनाइएको छ ।

हनुमानको मुर्तिको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण र गुर्जा हिमाल देखिन्छ । यसैगरी कोतमन्दिर परिसरमा ताकमका विकास केसी र आकाश केसीको पहलमा खत्री परिवारहरुले पृती उद्धारका लागि प्रवेशद्धार निर्माण गर्नुभएको छ ।

अमेरिकामा रहनुभएका ताकमका रघुनाथ सुवेदीको अगुवाइमा मुर्ति स्थापनाका लागि आर्थिक सहयोग संकलन गरिएको छ । दाताबाट रु. २४ लाख ४० हजार सहयोग जुटेको छ । सहयोग दाताहरुको नाम शिलालेख बनाएर राखिने वडा अध्यक्ष खत्रीले बताउनुभयो ।

हनुमानको मुर्ति नजिकै पुरातत्व विभागले वि.स. २०७६ मा रु. ४२ लाखमा ठेक्का मार्फत निर्माण शुरु गरेको राम मन्दिर तीन वर्षदेखि अलपत्र परेको थियो । मन्दिर निर्माणलाई पनि पूर्णता दिएर धार्मिक बिधि अनुसार शनिबार राम, सिता र लक्ष्मणको मुर्तिको प्राण प्रतिष्ठा गरिएको छ । सोही अवसरमा फलीयागाउँकी कल्पना भण्डारीले अन्नपूर्ण जगन्नाथ मन्दिरको बाहिरि भागमा १०८ कलश स्थापना गर्नुभएको थियो ।

हनुमानको मुर्ति र प्रवेशद्धारको शनिबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो । सो कार्यक्रममा मन्त्री जुग्जालीले धवलागिरी चक्रीय पदमार्ग र हिमाल आरोहणलाई व्यवस्थित गर्दै अन्य सहायक गन्तब्यको पहिचान र विकासमा जोड दिनुभयो ।

धवलागिरी गाउँपालिकालाई समेटेर बेनी–ढोरपाटन सडक सञ्जालले जोड्ने र त्यसलाई मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग बनाउने योजना अघि बढेको बताउनुभयो । हालसम्म सडक नपुगेको म्याग्दीको एक मात्र गुर्जा गाउँमा सडक पु¥याउन यसै वर्षदेखि काम शुरु भएको र आगामी वर्ष थप बजेट बिनियोजन गरेर काम गरिने बताउनुभयो ।

Bhautik ministry notice about road

संघीय व्यवस्थाका कारण पिछडिएको वस्ती र भूगोलले विकासमा अवसर पाएको बताउदै देशलाई पुरानै अवस्थामा फर्काउने सोच त्याग्न सबैलाई आग्रह गर्नुभयो । देश विकासको बाधक बनेको भ्रष्ट्राचार नियन्त्रणमा राजनीतिक नेतृत्व, प्रशासक जिम्मेवार तथा नागरिक सचेत बन्नुपर्ने बताउनुभयो ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले ताकमकोत, धवलागिरी हिमाल, जलजला र ढोरपाटन शिकार आरक्षलाई समेटेर समग्र धवलागिरीको पर्यटन विकासका लागि प्रदेश र संघीय सरकारसँग काम गरिने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले ताकमकोतको विकासमा समुदायको अग्रसरता उदाहरणीय देखिएको बताउनुभयो । वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा मुर्ति स्थापनाका लागि सहयोग जुटाउन अगुवाई गर्नुभएका रघुनाथ सुवेदीका परिवार र धवलागिरी गाउँपालिकालाई सम्मान गरिएको थियो ।

यसैगरी पत्रकार सन्तोष गौतम र गोपाल आचार्यलाई सम्मान गरिएको थियो । मच्छिमका छन्त्याल र काफलडाडाका कलाकारहरुले पुख्यौली नृत्य तथा हिलापोखरीका नौमति बाजा समूहले बाजा बजाएका थिए ।

स्वदेश तथा विदेशमा रहेका ताकम र आसपासका गाउँका बासिन्दाहरुबाट तीन वर्षअघि रु. असी लाख चन्दा जुटाएर कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुननिर्माण भएको थियो । रु. १५ लाख खर्चेर जगन्नाथ र अन्नपूर्ण देवताको मुर्ति राखिएको छ ।

सोहै औ शताब्दीमा निर्माण भएको ताकमकोत वि.स १९९० र २०७२ को भुकम्पका कारण जिर्ण बनेको थियो । ताकमकोतको एकिकृत विकास गर्ने उद्देश्यले तयार पारिएको गूरुयोजना अनुसार पहिलो कोतघर, अन्नपूर्ण–जगन्नाथ मन्दिर, सत्तल र सार्वजनिक शौचालय निर्माण भएको पुर्व वडा अध्यक्ष कलानिधी सुवेदीले बताउनुभयो ।

ताकमकोतको पुर्बाधार निर्माणमा धवलागिरी गाउँपालिका र पर्यटन मन्त्रालयले पनि करिब रु. एक करोड पचास लाख लगानी गरेका छन् । म्याग्दीको प्रमुख शक्तिपिठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पुजाआजा र भाकल गरेमा मनोकाक्षा पुरा हुने विश्वास रहेको ताकमका रुपक सुवेदीले बताउनुभयो । जगन्नाथ, अन्नपूर्ण, दुर्गा लगायत देवी देवताको मुर्ती रहेका यहाँ नवदुर्गा, जेष्ठी पुर्णीमा, मंसिर पुर्णीमा, चैत्राष्टमी पर्वका अवसरमा बिशेष मेला लाग्ने गर्छ ।

वि.स १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहाँसिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाल लगायतका हातहतियार छन् ।

समुन्द्रि सतहदेखि दुई हजार ५०० मिटरको उचाईमा अवस्थित ताकमकोतबाट गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङखलाको साथै मनोरम पहाडी भुगोल, ग्रामिण बस्ती र सुर्योदयको दृष्य अवलोकन गर्न सकिने ताकमका तेजेन्द्र थापाले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...