पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जा माछापालनमा

khali

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जा हिजोआज कार्यालय बाहेकको समयमा कालावाङको माछा पोखरीमा भेटिनुहुन्छ ।
गाउँपालिका, वडा र टोल स्तरका नागरिकलाई सेवा प्रवाहका साथै विकास निर्माणका काममा सहजिकरणबाट बचेको वडा अध्यक्ष शेरपुञ्जाको समय माछापोखरीमा बित्ने गरेको हो । “खोलाको तिरको बारीमा पोखरी बनाएको छु,” उहाँले भन्नुभयो “वडा, पालिका, सामाजिक र राजनीतिक कामबाट बचेको समय माछाको स्याहार सुसारमा लगाउछु ।”
घोप्टेखोलाको किनारमा रहेको करिब पाँच रोपनी जग्गामा १० वटा पोखरी बनाउनुभएको छ । खोलाको पानीलाई बारीको पोखरीमा हाल्न बाँध र कटानबाट जोगाउन तटबन्ध गर्नुभएको छ । पुख्यौली जग्गामा केही वर्षयता खेती हुन छाडेर बाँझिएको थियो ।
शेरपुञ्जाले असला जातको माछा पाल्नु भएको हो । करिब एक लाख पचास हजार माछाका भूरा पोखरीमा छोड्नुभएको छ । खोलाको भूरा छोपेर पोखरीमा हाल्नु भएको हो । “घोप्टेखोलाको असला माछाको व्यवसायिक पालन गरेको हो,” उहाँले भन्नुभयो “अहिले एक्लै छु अब एक जना कामदार राख्ने तयारी गरेको छु ।”
माछापालनका लागि शेरपुञ्जाले गौमती हेम कृषि, पशुपंक्षी तथा माछा फार्म स्थापना गर्नुभएको छ । फार्मको जग्गा सम्माउन र पोखरी बनाउनका लागि रु. १० लाख भन्दा बढी लगानी भएको शेरपुञ्जाले बताउनुभयो ।
खोलाबाट शुरुको पोखरीमा हालेको पानी भरिएर एक पछि अर्को गर्दै अन्तिममा रहेको पोखरीमा पुग्ने व्यवस्था मिलाउनुभएको छ । पोखरीका माछा बाहिर जान नमिल्ने गरेर संरचना बनाउनुभएको छ ।
असला माछा म्याग्दीमा प्रसिद्ध मानिन्छ । मध्यम आकारका हुन असला माछाका लागि बगिरहेको चिसो पानी आवश्यक पर्छ । म्याग्दी र सहयाक नदीहरुमा असला माछा प्राकृतिक रुपमा पाइन्छ । म्याग्दीमा आउने पर्यटक, पाहुना र यहाँबाट कोशेली लैजान असला माछाको परिकारको माग बढेको छ ।
असला माछा प्रतिकिलो रु. एक हजार पाँच सयका दरले बिक्री हुने गरेको छ । व्यवसायिक माछा पालेरे बजारको माग पुरा गराई खोलामा करेन्ट लगाउने, विषादी हालेर माछा मार्ने क्रम घटाउने उद्देश्य रहेको वडा अध्यक्ष शेरपुञ्जाले बताउनुभयो । “व्यवसाययिक रुपमा असला पालेपछि यसको जातको संरक्षण पनि हुने अपेक्षा गरेको छु,” उहाँले भन्नुभयो “माछाको साथै पाहापालन गर्ने तयारी गरेको छु ।”

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...