अन्नपूर्ण गाउँपाकिलाको करवाकेली देखि मोहरेडाडा पदमार्ग निर्माण शुरु

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेका प्रमुख दुई पर्यटकीय स्थल जोड्ने पदमार्ग निर्माण शुरु भएको छ ।
अन्नपूर्ण गाउँपालिकाको काफलडाडामा रहेको करबाकेली देखि राम्चेको शिर आलडाडा हुदै समुन्द्रि सतहदेखि तीन हजार तीन सय मिटर उचाईमा रहेको मोहरेडाडा जोड्ने पदमार्ग निर्माण शुरु भएको हो ।
अन्नपूर्ण गाउँपालिका–८ का वडा अध्यक्ष खमबहादुर गर्बुजाले गण्डकी प्रदेश सरकारको ससर्त अनुदानमा उपभोक्ता समिति मार्फत पदमार्ग निर्माण गर्न लागिएको जानकारी दिनुभयो । “प्रदेश सरकारबाट प्राप्त रु. तीस लाख बजेटबाट पदमार्ग बनाउन लागिएको हो,” उहाँले भन्नुभयो “जंगल, खोल्सा, भिर र साघुरो ठाउँमा ढुङ्गाको सिढी चिनेर पैदलमार्गका साथै दुई वटा विश्रामस्थल बनाउने योजना छ ।”
करवाकेली देखि आलडाडासम्म र आलडाडादेखि मोहरेडाडासम्म दुई वटा खण्ड बनाएर पदमार्ग निर्माणमा स्थानीय मजदुर परिचालन गरिएको छ । पर्यटकहरुलाई आश्रयका लागि सम्धीखर्क र आलडाडामा दुई वटा प्रतिक्षालय भवन निर्माण गरिने करवाकेली मोहरेडाडा पर्यटन पदमार्ग उपभोक्ता समितिका अध्यक्ष गमबहादुर पुर्जाले बताउनुभयो ।
करवाकेली–आलडाडा खण्डको पदमार्ग बनाउने जिम्मा काफलडाडा टोलका उपभोक्ताले लिएका छन् । राम्चेका उपभोक्ताले आलडाडा देखि मोहरेडाडा खण्डको जिम्मा लिएका छन् । एक वटा समूहमा दैनिक १०÷१५ जनादेखि १५÷२० जनाका दरले मजदुर परिचालन गरिएको छ ।
आगामी जेठ मसान्त सम्म पदमार्ग निर्माण गरिसक्ने लक्ष्य छ । ढुङ्गा चिन्नुका साथै पुरानो बाटोको झाडी सफाई तथा माटो काटेर व्यवस्थित पदमार्ग बनाइने अन्नपूर्ण गाउँपालिकाका ईञ्जिनियर ईश्वर भण्डारीले बताउनुभयो ।
वस्ती देखि टाढा र भुईमा बिछ्याउने ढुङ्गा नपाइदा पदमार्ग निर्माणमा चुनौति बनेको छ । पदमार्ग निर्माण भएपछि पर्यटक र स्थानीयबासीलाई आवत जावतमा सहज हुनुका साथै बाटो बिराउने समस्या हट्ने अपेक्षा गरिएको छ ।
पर्यटकको आगमन बढेसँगै व्यवस्थित पदमार्ग बनाउन लागिएको वडा अध्यक्ष गर्बुजाले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने घोडेपानी, पुनहिल देखि मोहरेडाडा–करबाकेली हुदै बेनी–जोमसोम सडक अन्तरगत पर्ने रघुगंगा गाउँपालिकाको बैसरी पुग्न सकिन्छ ।
गुराँसको जंगल, पुन समुदायको करवाकेली थान, संग्रहालय, ग्रामिण वस्ती, जिवनशैली, वनजंगल, वनस्पति र वन्यजन्तु करवाकेली–मोहरेडाडा पदमार्गका आकर्षण हुन् । यो पदमार्गले करबाकेली र अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्गलाई जोड्छ ।
करबाकेली र पुनहिलबाट तीन घण्टा पैदल हिडेपछि पुगिने मोहरेडाडा पछिल्लो समय पर्यटकको आकर्षण बढेको छ । यहाँबाट सुर्याेदय, सुर्यास्त, सिस्ने, गुर्जा, धौलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे, मनास्लु हिमाल, म्याग्दी, पर्वत, बागलुङ, कास्की, स्याङ्जा र पाल्पाको भूगोल अवलोकन गर्न सकिन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...