वैशाखमा बेमौसमी हिमपात

khali

घोडेपानी, । म्याग्दीको पर्यटकीय स्थल घोडेपानी, पुनहिल, खोपारा र मोहरेडाडामा सोमबार हिमपात भएको छ ।
समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटरमा अवस्थित घोडेपानीसँगै अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय स्थलहरु खोपारा, पुनहिल र मोहरेडाडा हिउँले ढाकिएको छ । अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तब्य मानिएको घोडेपानी–पुनहिल म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ मा पर्छ ।
सोमबार अपराहन्नदेखि हिउँ पर्न थालेको घोडेपानीका होटल व्यवसायी सपना गुरुङले बताउनुभयो । समुन्द्रि सतहदेखि तीन हजार छ सय मिटर उचाइएको खोपारा अन्नपूर्णको ५ र तीन हजार ३०० मिटर उचाइको मोहरेडाडा ८ नम्बर वडाको भूगोलमा पर्छ ।
“दिउँसो १२ बजेतिरबाट पानी पर्न थालेको थियो,” गुरुङले भन्नुभयो “साँझदेखि जमिनमा हिउँ जम्न थालेको छ । गाउँ र वरपरका पहाड सेताम्मे भएका छन् ।” धवलागिरी गाउँपालिकाको वडा नम्बर १ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालका अनुसार गुर्जा वरपरका डाडाहरु पनि हिउँले सेताम्मे भएका छन् ।
बेमौसमी हिमपातले चिसो बढाएपनि भ्रमणमा आएका पर्यटकहरुले रमाईलो मानेका छन् । हिउँ खेल्न पर्यटकहरु आउने र चहलपहल बढ्ने घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुनले बताउनुभयो । वसन्त ऋतुमा वेमौसमी हिमपात भएको हो । यसपाली पुस र माघमा हिमपात भएन् । हिउँद सकिएपछि फागुनको पहिलो सातादेखि हिउँ पर्न थालेको थियो ।
हिउँदको खडेरी र बसन्त ऋतुको सुरुवातसँगैको बर्षातका कारण घोडेपानी क्षेत्रमा यसपाली गुराँस कम फुलेको स्थानीयबासी समेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका पुर्व अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।
‘फागुन, चैत र वैशाख महिनामा भएको बेमौसमी हिमपातले गुराँस चाँडै निख्रियो,’ उहाँले भन्नुभयो ‘गुराँस नफुल्नु, फुलेका पनि चाँडै निख्रिनु र बेमौसममा हिमपात हुन तापक्रम वृद्धी र जलवायु परिवर्तनको असरका रुपमा लिएका छौ ।’

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...