बेनी, । अन्नपूर्ण हिमालबाट मंगलबार एक जना भारतीय पर्वतारोहीको जिवितै उद्धार गरिएको छ ।
काठमाडौको पायोनियर एडभेन्चर मार्फत आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका गरेर फर्कने क्रममा २७ वर्षीय बलीजत कौर मंगलबार बिहानदेखि सम्पर्क विहिन भएकी थिइन् । अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ नारच्याङको भूगोलमा अवस्थित छ ।
पायोनियर एडभेन्चरका अनुसार सात हजार ६०० मिटरको उचाईबाट कौरलाई मंगलबार दिउँसो कैलाश एयरको हेलिकप्टर मार्फत उद्दार गरिएको हो । ‘कैलाशका क्याप्टेन क्लाउडी मार्टिनको उच्च उचाईमा साहसी र दक्ष उडानले उद्दार सफल भएको हो,’ पायोनियर एडभेन्चरले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको छ ‘उद्दारका लागि पायोनियरका निर्देशक मिङ्मा दोर्जीले कौरको खोजीमा क्याप्टेन क्लाउडीलाई साथ दिनुभएको थियो ।’
ससारको दशौ अग्लो र आरोहणका लागि जोखिमपूर्ण मानिने अन्नपूर्णको शिखर मुनी, समिट क्याम्प माथिको डाडामा रहेकी कौरसँग सञ्चार सम्पर्क विच्छेद भएको थियो । जीपिएस उपकरण मार्फत उनलाई सम्पर्क गरेर उद्दार गरिएको पायोनियरका निर्देशक दोर्जीले बताउनुभयो ।
उद्दारपछि हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर र म्याग्दीको दाना हुदै कौरलाई काठमाडौको सिभिक अस्पताल लगिएको छ । उनको स्वास्थ्य अवस्था सुधार र खतरामुक्त भएको अस्पतालले जनाएको छ । उद्दारमा खटिएका म्याग्दी दानाका व्यवसायी इन्द्रसिंह शेरचनले कौरले नयाँ जिवन पाएको भन्दै खुसी व्यक्त गरेकी बताउनुभयो ।
धौलागिरि र अन्नपूर्ण हिमालमा दुर्घटना हुँदा उद्दारमा खटिने शेरचन बलजितको सकुशल उद्दार दुर्लभ भएको बताउनुहुन्छ । कौर सहित पासाङ शेर्पा र कामी शेर्पाले सोमबार अन्नपूर्णको शिखर चुमेका थिए । आधार शिविरमा फर्कने क्रममा वेपत्ता भएकी कौरसँग आरोहण टोलीका अन्य सदस्यहरुको सम्र्पक टुटेको थियो ।
यसैबीच अन्नपूर्ण हिमालको सात हजार ५०० मिटरको उचाईमा स्कटल्याडका आरोही नोयल हान्ना मृत भेटिएका छन् । हान्नाको शव हेलिकप्टर मार्फत त्रिवि शिक्षण अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक किरन लामाले बताउनुभयो ।
भारतीय आरोही बलजित कौर
सोमबारदेखि वेपत्ता भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु भेटिएका छैनन् । हान्ना र मालु सेभेन समिट टे«क मार्फत आरोहणमा गएका थिए । आरोहण सफल नभएपछि मालु आधार शिविर फर्कने क्रममा सोमबार दिउँसोदेखि सात हजार ५०० मिटरको उचाईबाट समातेको डोरी फुत्कीएपछि खसेर वेपत्ता भएका थिए ।
उद्धारमा निजी कम्पनीका चार वटा हेलिकप्टर परिचालन गरिएको थियो । सिम्रिक, कैलाश, एयर अल्टीच्युट र एभरेष्ट एयरका हेलीकप्टर उद्धार र खोजीमा परिचालन भएका हुन्् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वर्षको वसन्त ऋतुको आरोहण शुरु भएको थियो ।
यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच वटा समुहका ४५ जनाले अनुमति लिएका छन् । अन्नपूर्ण संसारको दशौ अग्लो हिमाल हो । वि.स. १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गर्नुभएको थियो । मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो ।